काठमाडौं। दुई वर्ष अगाडी संचालनमा आएको अनलाइन सपिङ प्लाटफर्म ग्यापुको स्वामित्व परिवर्तन भएको छ। कम्पनीलाई बिजी होल्डिङले अक्वायर गरेको छ।
बिजीले स्वामित्व लिएसँगै कम्पनीका संस्थापक एवम् सीइओ ज्ञानेन्द्र खड्काले आफ्नो पदबाट राजीनामा दिएका छन्। तत्कालका लागि बिजीले ग्यापुकै अपरेसन प्रमुख सुजनी केसीलाई डेपुटी सीइओको जिम्मेवारी दिएको जनाएको छ।
यो कम्पनीले मुलुकभर अनलाइन मार्फत सामान डेलिभरी गर्दै आएको छ। ग्यापुले घरायसी सामाग्री, किराना, सौन्दर्य, फेसन एवम् स्वास्थ्यसम्बन्धी सामाग्री देशैभरि डेलिभर गरिरहेको छ।
ग्राहकले यो अनलाइन प्लाटफर्म मार्फत सामान खरिद गर्दा फोन पे, आइएमइ पे, कनेक्ट आइपिएस, इ–सेवा, प्रभु पे र जुनसुकै बैकंको मोबाइल बैकिङबाट ‘क्यु आर’ कोडमार्फत कारोबार दगर्न सक्छन्।
कम्पनीका अनुसार विश्वभरका कुनै पनि डेबिट र क्रेडिट कार्डबाट भुक्तानी गर्ने सुविधा समेत उपलब्ध छ। एक हजार बढी भेन्डर र चार लाख बढी प्रोडक्ट उपलब्ध रहेको कम्पनीको वेबसाइट र मोबाइल एपमार्फत तीन हजार पाँच सयभन्दा बढी भेन्डर्स र दुई लाख १५ हजारभन्दा बढी ग्राहक दर्ता भइ सेवा लिइरहेका छन्।


