आइएमई समूहको आइएमई अटोमोटिभ्सको व्यापार लयमा, एकै वर्ष साढे ६२ करोड बढीको कारोबार



बिजमाण्डू
२०७९ असोज २४ गते १८:१० | Oct 10, 2022


आइएमई समूहको आइएमई अटोमोटिभ्सको व्यापार लयमा, एकै वर्ष साढे ६२ करोड बढीको कारोबार



काठमाडौं। आइएमई समूहको अटोमोबाइल कम्पनी आइएमई अटोमोटिभ्स प्रालिको कारोबार बढेको छ। कोरोना महामारीका कारण २०२० मा घटेको कम्पनीको व्यापार २०२१ पछि भने पुरानै लयमा फर्किने क्रममा छ।

Tata
Global Ime

आइएमई अटोमोटिभ्स २०१४ नोभेम्बरबाट इस्कर्ट्स ब्राण्डको कन्स्ट्रक्सन इक्विपमेन्टको नेपालका लागि आधिकारित वितरक हो। कम्पनी अमेरिकी ब्राण्ड हार्ले डेभिडसन, युएम ब्राण्डको दुई पांग्रे सवारीसाधन र सेम ट्रयाक्टरको डिलरसमेत हो। कोरोना महामारीपछि भने कम्पनीले काठमाडौंमा रहेको हार्लेको शोरुम बन्द गरिसकेको छ। 

युएम मोटरसाइकलले २०१९ अप्रिलबाट र २०२० अगस्टबाट हार्ले डेभिडसनको उत्पादन भारतमा बन्द गरेसँगै आइएमई अटोमोटिभ्सले यी दुवै ब्राण्डको डिलरसिप अन्त्य गरेको थियो। कम्पनीले उत्पादन बन्द भएपनि आफूसँग स्टकमा रहेका यी दुवै ब्राण्डको सवारीसाधन बिक्री गरिरहेको बताइएको छ।

रेटिङ एजेन्सी इक्रा नेपालका अनुसार कम्पनीले २०२१/२२ मा ६२ करोड ६० लाख रुपैयाँको कारोबार (अपरिष्कृत) गरेको छ। २०२१ मा कम्पनीले ५३ करोड ५० लाख रुपैयाँ, २०२० मा ३४ करोड १० लाख रुपैयाँको व्यापार गरेको थियो। 

२०१९ मा कम्पनीले ७४ करोड ६० लाख रुपैयाँको कारोबार गरेको थियो। 

आइएमई अटोमोटिभ्समा चार प्रमोटरहरु छन्। उसा इन्भेष्टमेन्ट प्रालिसँग ४३.३ प्रतिशत, आइएमई ग्रुप प्रालिसँग ३२.५ प्रतिशत, आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालसँग १५.८ प्रतिशत र बाँकी ८.४ प्रतिशत भने सन्दिप अग्रवालको सेयर स्वामित्व छ। 

कम्पनीले ७६ करोड ८० लाख रुपैयाँको बैंकिङ कर्जाका लागि इक्रा नेपालबाट रेटिङ पाएको छ। १ करोड ८० लाख रुपैयाँको दीर्घकालीन कर्जाका लागि कम्पनीले एनपी एलबी माइनस र ७५ करोड रुपैयाँको अल्पकालीन कर्जाका लागि एनपी ए फोर रेटिङ पाएको छ।