
काठमाडौं। काबरा जी समूहको क्वालिटी तेल रिफाइनरी प्रालिको कारोबार ५२ प्रतिशतले बढेको छ। रेटिङ एजेन्सी केयर रेटिङ्स नेपालका अनुसार कम्पनीले सन् २०२१ मा २ अर्ब ८० करोड २० लाख रुपैयाँको व्यापार गरेको छ।
भटमासको तेलको बिक्री उल्लेख्य बढ्दा कम्पनीको कारोबारमा उछाल देखिएको छ। २०२० मा कम्पनीले १ अर्ब ८४ करोड ७० लाख रुपैयाँको व्यापार गरेको थियो।
२०२१/२२ मा पाम तेलको बिक्री बढ्दा बिक्री बढेर ६ अर्ब ४८ करोड ८० लाख पुगेको रेटिङ विवरणमा उल्लेख छ। मोरङको कटहरीमा प्लान्ट रहेको कम्पनीले वनस्पति घ्यूसहित भटमास, सूर्यमुखी, पामोलिन, पाम लगायतका खानेतेल प्रशोधन गरी बिक्री गर्दै आएको छ। उद्योगसँग दैनिक २५० टन जडित क्षमता छ।
भारतसँगको सीमा नजिकै उद्योग रहेकाले कच्चा पदार्थ आयातदेखि खानेतेल निकासीमा सहजता थपिएको कम्पनीले जनाएको छ। २०२१ मा कम्पनीले खानेतेल भारत निर्यात गरेर कुल आम्दानीको ८२ प्रतिशत आर्जन गरेको रेटिङ विवरणमा उल्लेख छ।
कम्पनीले अर्जेन्टिना, ब्राजिल, मलेसिया, इन्डोनेसियालगायतका देशहरुबाट कच्चा पदार्थ आयात गर्ने गरेको छ। कम्पनीको प्रबन्ध निर्देशक घनश्याम काबरा हुन्।
कम्पनीले २ अर्ब ७५ करोड रुपैयाँको अल्पकालीन कर्जाकाका लागि एनपी ए फोर प्लस रेटिङ पाएको छ।


