बुटवल-गोरुसिङ्गे-चनौटा सडक विस्तारसहित अन्य योजनाका लागि विश्व बैंकसँग ४० अर्ब ऋण सम्झौता



२०७९ असोज २६ गते १७:१८ | Oct 12, 2022


बुटवल-गोरुसिङ्गे-चनौटा सडक विस्तारसहित अन्य योजनाका लागि विश्व बैंकसँग ४० अर्ब ऋण सम्झौता


काठमाडौं। बुटवल-गोरुसिङ्गे-चनौटा सडक विस्तारसहित अन्य योजनाहरुका लागि विश्व बैंकसँग ४० अर्ब सम्झौता सम्झौता भएको छ।

Tata
Global Ime

यसअघि बैंकले पूर्व-पश्चिम राजमार्ग अन्तर्गत रहेको बुटवल-गोरुसिङ्गे-चनौटा सडक विस्तार लगायत अन्य योजनाका लागि ३०५ मिलियन (३० करोड ५० लाख डलर) आर्थिक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएको थियो।

त्यही प्रतिबद्धता अनुसार, सरकार र विश्व बैंकबिच यो सम्झौता भएको सडक विभागका उपमहानिर्देशक रामहरी पोखरेलले जानकारी दिए। उनका अनुसार, यस आयोजनामा सरकारको १५ प्रतिशत आन्तरिक लगानी पनि रहेको छ। यो लगानी सडकदेखि अन्य योजनाहरुमा खर्च गरिने उनले बताए।

पूर्व-पश्चिम राजमार्गमा उक्त आयोजना चालु बजेटमा समावेश गरिएको थियो। त्यसपछि सडक विभागले समिति गठन गरेर विश्व बैंकसँग वार्ता गरेर आयोजनाका लागि सहुलियतपूर्ण ऋणका रुपमा वित्तीय सहायताका लागि सम्झौता गरेको हो।

यस अगाडि भएको प्रारम्भिक सम्झौताअनुसार सस्तो ऋण स्वीकृति भए पनि विश्व बैंक बोर्डले निर्णय गरेपछि मात्र आयोजनाको काम अगाडि बढाउन मिल्ने अवस्था थियो।

विश्व बैंकले सहयोग प्रदान गर्ने निर्णय गरेसँगै आयोजनाको काम अगाडि बढाइएको पोखरेलले जानकारी दिए।

हाल सडक तथा अन्य योजनाहरुको लागि डिजाइनको काम अन्तिम चरणमा पुगेको पनि उनको भनाइ छ। यस आयोजनाको डिजाइनको काम बैंक आफैले गरेको उनले बताए।

बंगलादेश-भुटान-भारत-नेपाल सडकअन्तर्गत महेन्द्र राजमार्गमा पनि पर्ने यो सडक खण्ड यसभन्दा अघि पनि विश्व बैंककै ऋण सहुलियतमा निर्माण भएको थियो। हाल यही सडकलाई विश्व बैंकको सहयोगमा विस्तार गर्न लागिएको हो।

विश्व बैंकले एक्सेस कार्यक्रमअन्तर्गत यस परियोजनामा लगानी गर्ने गरी सम्झौता भएको हो। यस आयोजनामा पार्क लगायत शहरी विकासका विभिन्न पूर्वाधार पनि सडकसँग निर्माण गर्ने योजना तथा डिजाइन छ। सोही अनुरुप बैंकले डिजाइन तयार पारिरहेको उनले बताए।

यो सडक बुटवलदेखि गोरुसिङ्गेसम्म ५० किलोमिटर र गोरुसिङ्गेदेखि चनौटासम्म १९ किलोमिटर गरी कुल ६९ किलोमिटरको बनाउने योजना रहेको छ।

बहुवर्षीय योजनाअनुसार यो सडक आयोजनामा निर्माण हुनेछ। यसमा दुईवटा खण्ड रहेका छन्। जसमा एउटा बुटवलदेखि चनौटासम्मको सडक चारलेनमा विस्तार गर्ने र अर्को तिनाउमा सिग्नेचर ब्रिज निर्माण गर्ने रहेको छ। यसका लागि आगामी पुसमा ठेक्का आह्वान गर्ने योजना रहेको पोखरेल बताउँछन्।

तिनाउको 'सिग्नेचर पुल' नेपालमै नयाँ प्रविधिको हुने

यो परियोजनाको दोस्रो खण्डअन्तर्गत तिनाउमा बन्ने पुल नेपालमै अहिलेसम्मको नयाँ प्रविधिको हुने पोखरेलको भनाइ छ। यसकारण यो नेपालमा एउटा सिग्नेचर पुल हुने दाबी गरिएको छ।

हेर्दै आकर्षक र विकसित मुलुकमा भएका आइकोनिक पुल जस्तै देखिने गरी यो निर्माण गर्न लागिएको पोखरेल बताउँछन्। पुलको डिजाइन समेत तयार भइसकेको छ। नयाँ प्रविधि प्रयोग गरेर निर्माण गरिने यो पुल सामान्य पुलभन्दा निक्कै फरक र कलात्मक पनि हुने दाबी गरिएको छ।

पोखरेलका अनुसार, युरोपका धेरै सहरहरूमा यस प्रकृतिका पुलहरू निर्माण भएका छन्। आकर्षक हुने भएकाले यसले पर्यटकीय महत्त्व समेत राख्नेछ। झट्ट हेर्दा नेटवर्क आर्क ब्रिज जस्तै डिजाइनमा बनेको देखिने भए पनि यो फरक खालको हुनेछ। पुललाई आकर्षक देखाउन प्रयोग गरिएका डण्डीहरुमा समेत कलात्मक डिजाइन दिइने छ।

नेपालका लागि एउटा सिग्नेचर ब्रिज हुने गरी निर्माण गर्न लागिएको यस पुलको लागत एक अर्ब रुपैयाँभन्दा माथि हुने अनुमान गरिएको छ।

पुलमा आकर्षक लाइटहरू समेत जडान गरिनेछ जसले गर्दा यो राती समेत आकर्षक देखिनेछ। सामान्य पुलमा राखिनेभन्दा दोब्बर फराकिलो फुटपाथ यसमा हुने गरी डिजाइन गरिएको जनाइएको छ। बिहान-बेलुकी फ्रेस हुन घुमघाममा जान रुचाउनेका लागि पनि आकर्षिक गर्ने अभिप्रायले पुलमा मानिसहरू बस्ने स्थान समेत निर्माण गर्न लागिएको बताइएको छ।

पूर्व-पश्चिम राजमार्गअन्तर्गत हालको तिनाउ पुल जीर्ण हुँदै गएको र बुटवल क्षेत्रको सवारी चाप समेत अत्यधिक बढेका कारण नयाँ ‘सिग्नेचर ब्रिज’ निर्माणका लागि दुई वर्ष अघिबाट तयारी थालिएको थियो।

यो बुटवल-चनौटा सडक विस्तार भएपछि पुरानो पुलले सवारी साधनको चाप नथाम्ने भएका कारण पनि उक्त पुल निर्माण गर्न लागिएको पोखरेलले बताए।

साथै, पुलको किनारामै नेपाली वीरताको गाथा बोकेको जीतगढी किल्ला समेत रहेकाले पर्यटनको सम्भावनालाई ध्यानमा राखेर पनि यो पुल सिग्नेचर ब्रिज हुने गरी निर्माण गर्ने योजना बनाइएको पोखरेल बताउँछन्।