काठमाडौं। केही समययता धितोपत्र बजारमा महिला सहभागिता उल्लेख्यरूपमा बढेको छ। सीडीएससी एण्ड क्लियरिङका अनुसार डिम्याट खाता संख्या हाल ५४ लाख २५ हजार पुगेको छ भने 'मेरो शेयर' सुविधा उपयोग गर्नेहरु ४५ लाख १७ हजार छ। जसमा महिला लगानीकर्ताको सहभागिता करिब ४३ प्रतिशत छ।
सीडीएसका प्रवक्ता सुरेश न्यौपानेका अनुसार केही वर्षयता सेयर बजारमा महिला लगानीकर्ताहरुको सहभागिता निकै बढेको हो। '२०७२ साउन मसान्तसम्ममा हाम्रो धितोपत्र बजारमा कुल डिम्याट संख्या नै ४१ हजार थियो। जसमा १२ हजार डिम्याट खाता मात्र महिलाको नाममा थिए। अहिले ५४ लाख लगानीकर्ता छन्, जसमा करिब ४३ प्रतिशत महिला छन्,' उनले भने।
केही दशकअघि वित्तीय क्षेत्रमा महिला उपस्थिति निकै नगन्य हुने गर्दथ्यो। तर अहिलेको तथ्यांकले महिला व्यवसायमा कति सक्रिय छन् भन्ने देखाएको छ। महिलाहरु यतिबेला वित्तीय क्षेत्रमा पनि सक्रिय देखिएका छन्।
जसले बनाइन ४० हजार लगानी ६ करोड
लगानी गर्ने हुटहुटीले करिब डेढ दशक अघि सेयर बजारमा प्रवेश गरेकी एक सक्रिय लगानीकर्ता हुन् गंगा सुब्बा। सानै उमेरबाट उनी पैसा कतै न कतै लगानी गर्नुपर्छ, त्यसले फाइदा दिन्छ भन्ने सोच राख्थिन्। उनलाई एकदिन साथीहरुले सेयर बजारका बारेमा सुनाए। त्यसपछि उनको चासो बढ्दै गयो। बजारका बारेमा लेखिएका किताब, पत्रिका जे-जे भेट्छिन् सबै खोज्न र पढ्न थालिन।
आफूले बजारका बारेमा धेरथोर जान्ने भएपछि इन्ट्री गर्ने निधो भयो र कमाएको ४० हजार रुपैयाँ बजारमा लगानी गरिन। शिक्षण पेसामा आबद्ध गंगाले उक्त लगानी आफ्नै तलबबाट जम्मा गरेकी थिइन।
कारोबार बढेकै समय अर्थात २०६३ मा बजार प्रवेश गरेकी उनले हालसम्म करिब ४ वटा बुललाई नजिकबाट नियालिसकेकी छन्। गंगा बजारमा पस्दाको समय महिला लगानीकर्तालाई सेयर बजारमा भेट्न मुस्किल नै थियो। त्यसैले उनलाइ सेयर खरिदबिक्रीका लागि ब्रोकर कार्यालय पुग्दा अचम्म मान्दै पुरुष लगानीकर्ताले पल्याकपुलुक हेर्थे। तर एक्लै भए पनि ब्रोकर कार्यालय जान उनी कहिले हिचकिचाइनन्।
'जो हिड्न खोज्छ, उसले नै पाइला चाल्न जान्दछ।' भनाइलाई अत्मासात गर्दै बजारका बारेमा जति नै नराम्रा कुराहरु आए पनि उनी निरन्तर सक्रीय नै रहिन। 'मलाइ पैसा मात्र कमाउनु भन्दा पनि त्यो पैसालाई कहाँ लगानी गरेर मनग्ये रीटर्न लिन सकिन्छ भन्ने लाग्थ्यो, बजारका बारेमा बुझेपछि यहाँ लगानी गर्नु पर्छ भन्ने लाग्यो र गरें,' उनी भन्छिन्, 'बजार बढेको बेलामा प्रवेश गरें। उतारचढाव आउँछ तर बजारप्रति म कहिले नेगेटिभ भइन। कहिलेकाही गुमाउनु पनि पर्छ तर मैले धेरैजसो कमाएकी छु।'
उनलाई ती दिन सम्झना हुन्छन्, जब पुँजी बजारको क्षेत्रमा महिला सहभागिता निकै नगन्य थियो। उनले भनिन्, 'त्यो बेला म जब ब्रोकर अफिस जान्थे, मान्छेहरुले अनौठो मानेर हेर्थे।'
उनले पछिल्लो बुलमा ६ करोडको पोर्टफोलियो बनाएकी थिइन्। सो समय बजारमा प्रवेश गरेयता नै सर्वाधिक कमाएको पनि उनले बताइन्। अहिले पनि उनको पोर्टफोलियो करिब डेढ करोडको छ।
उनी भन्छिन्, 'मेरा लागि लगानीको राम्रो क्षेत्र नै यही हो। यो बजार छोड्न धेरै अप्ठ्यारो छ। यो महिलाहरुका लागि लगानीको अझ राम्रो क्षेत्र हो।'
आइपीओले त के हुन्छ पकेट खर्चबाहेक !
सेयर बजारका सक्रिय महिला लगानीकर्तामध्येकी एक हुन् कोपिला सापकोटा। आइपीओ किन्न धितोपत्र बजारमा हजारका नोटहरु लिएर प्रवेश गरेकी उनी अहिले करोडौं लगानीको कारोबार गर्छिन्।
२०६४ बाट उनी धितोपत्र कारोबारको प्राथमिक बजारमा आएकी हुन्। त्योबेला उनले टुरिजम डेभलपमेन्ट बैंकको आइपीओ किनेकी थिइन्। त्यसपछि उनी निरन्तर प्राथमिक बजारमा सक्रिय हुन थालिन।
२०६६ सालमा विवाह भयो। श्रीमान पनि प्राथमिक बजारका सक्रिय लगानीकर्ता भएकाले कुरा मिल्यो। आइपीओ भर्दा भर्दै उनीहरुलाई साथीहरुले दोस्रो बजारका बारेमा सुनाउँथे- 'सेकेन्डरी मार्केटमा जानुस्, आइपीओले त के हुन्छ र पकेट खर्च बाहेक !'
'दोस्रो बजारमा कारोबार गर्न अलि धेरै पैसा चाहिन्छ जस्तो लाग्ने। सामान्य लगानी गरिरहेकी थिएँ, २०७३ को बुलतिर दोस्रो बजारमा लगानी नै गर्ने भनेर ५० लाख जति गरियो,' उनले भनिन् 'मैले कमाएको सबै पैसा बजारमा नै लगानी गर्छु। म ट्रेडर भन्दा पनि इन्भेष्टर हुँ।'
दोस्रो बजारमा प्रवेश गरिसकेपछि कारोबार गर्न मन भए पनि घरायसी कामले नभ्याउँदा कम्पनी छनोट गर्दा कुन किन्ने, कस्तो कम्पनीको किन्ने भन्नेमा उनलाई अन्योल भइरहन्थ्यो। 'केटा मान्छेहरु समाचार पढ्ने,कता-कता गएर बजारका बारेमा बुझ्न पाउने। हामीलाई त घर सम्हाल्नु पर्यो, व्यवसाय पनि हेर्नु पर्यो। टाइम म्यानेज गर्नै गाह्रो। त्यसैले ब्रोकरहरुलाई सोधेर बुझेर कारोबार गर्थ्यौं।'
उनी ब्रोकर कार्यालय तथा बैंकमा जाँदा सेयर बजारमा महिलाहरुको उपस्थिति त्यति देखिदैनथ्यो। देखिएका महिला लगानीकर्ताहरु पनि पढेलेखेका र जागिरे मात्र हुन्थे। तर अहिले अनलाइनबाट कारोबार गर्न मिल्ने भएपछि सबैको पहुँचमा सेयर बजार पुगेको उनको अनुभव छ।
प्राथमिक बजारमै सामान्य लगानी गर्दै विभिन्न अनुभवहरुलाई सम्हाल्दै र लगानी थप्दै दोस्रो बजारमा कारोबार गरिरहेकी कोपिलाले पछिल्लो बुलमा आफ्नो ६ करोड १७ लाखको पार्टफोलियो बनाइन। हाल बजार घटिरहेकै समयमा पनी उनको पोर्टफोलियो करिब ३ करोडको छ।
उनलाइ सेयर बजारले आत्मानिर्भर बनाएको छ। परिवार चलाउन, घर जग्गामा लगानी गर्न लगायत विभिन्न काममा सहयोग पुगेको छ। उनले प्राय राम्रो प्रतिफल दिने, बुक भ्यालु पनि राम्रो भएका कम्पनीहरुमा लगानी गरेकी छन्। त्यसैले बजार घटे पनि डराउनुपर्ने अवस्था खासै नरहेको उनले सुनाइन्। सेयर कारोबार बाहेक उनी आफ्नै मनी एक्सचेन्ज र परिवारमा व्यस्त हुने गर्छिन्।
झुमाको १६ करोडको छलाङ
झुमा वैद्य हिमालयन बैंककी पूर्व कर्मचारी हुन् । करिब २५ वर्ष अघि बैंकमा कार्यरत रहँदा नै सेयर बजारमा प्रवेश गरेकी उनले पहिलोपटक स्ट्याण्डर्ड चार्टर्ड बैंकको सेयर किनेकी हुन् । 'मलाइ त्यो समय बजारका बारेमा केही थाहा थिएन, सँगै काम गर्ने केही साथीहरुले सेयरमा अलि अलि लगानी गर्नुपर्छ भनेर मैले बचतका रुपमा किनेको थिएँ, बेच्न होइन।'
उनले चासो राख्न सुरु गर्दा सेयर बजारमा आएका धेरै कम्पनी 'कोल्याप्स' भएका थिए। निकै लगानीकर्ताको लगानी फिर्ता नआउने गरी डुबेको थियो। जसकारण बजारमा लगानीकर्ता आउनै डराएका थिए। 'त्यो बेला धेरैले लगानी गुमाउनु पर्यो। त्यसैले कतिपय आइपीओ भर्न पछि हटिरहेका थिए,' उनले बिजमाण्डूसँग भनिन्।
त्यो समय सेयर बजारमा प्रवेश गर्न मात्र होइन कारोबार गर्न अहिलेजस्तो सहज थिएन। त्यसैले झुमाका साढे दुई दशकदेखिका अनुभवहरु पनि सरल छैनन्। उनीसँग ब्रोकरहरुले अपरिचित क्लाइन्टलाई गर्ने फरक व्यवहार र चलखेलका प्रशस्त सास्ती खेपेका अनुभव पनि छन्।
'त्यो समय सेयर कारोबार गर्न अहिलेजस्तो सजिलो थिएन। सेयरको मूल्य कति छ भनेर हेर्न मिल्दैनथ्यो। ब्रोकरले यतिमा किन्ने भनेर फोन गरेपछि हुन्छ हुँदैन भन्नुपर्ने अवस्था थियो। खरिदकर्ता धेरै छन् र राम्रो कम्पनी छ भने आफ्नो मान्छेलाई किनाइदिने, हामी आफन्त नपर्नेहरुलाई कमिसन धेरै खान महँगो सेयर भिडाइदिने,' उनी भन्छिन्, 'किन्दा मात्र होइन बेच्दा पनि मेरो सेल अर्डर पहिलो भए पनि उहाँको नजिकको मान्छेको पहिला सेल हुन्थ्यो। त्यसपछी कम मूल्यमा हाम्रो सेयर बिक्री गरिन्थ्यो। पहिले ब्रोकरहरु गर्ने यो ज्यादती समस्याका रूपमा थियो।'
उनलाई कोरोना माहामारी अघिसम्म सेयर ट्रेड गरेको अनुभव विरलै छ। तर महामारीको समयमा केही काम नभएपछि सामान्य ट्रेडिङ गर्न सुरु गरेकी हुन्। बजारमा प्रवेश गरेदेखि बैंक र माइक्रोफाइनान्स बाहेक अरु कम्पनीको सेयर किन्न उनलाई खासै चासो थिएन।
'कोरोनाकाल अघि मसँग बैंक र अलि अलि माइक्रोफाइनान्स बाहेक अरु केहीको सेयर हुँदैनथ्यो। हाइड्रोपावर र फाइनान्समा म हातै लाउँदैनथेँ,' झुमा भन्छिन्, 'तर अहिले करिब एक वर्ष अघिबाट मैले विभिन्न कारणले बैंकको पोर्टफोलियो ८० प्रतिशत घटाएर फाइनान्स, विकास बैंक, माइक्रोफाइनान्स र हाइड्रोमा राखेकी छु। अहिले मसँग हाइड्रोको सेयर नै २५ प्रतिशत छ।'
सेयर बजारबाट नाफा बुक गरेपछि प्राय लगानीकर्ताहरु घर तथा गाडी, जग्गाजमिन लगायतमा लगानी गर्छन्। तर झुमा बजार बढ्दा कमाएको नाफा बजार घटेपछि पुनः बजारमा नै लगानी गर्छिन्।
उनले लगानी क्याम्पस, क्रसर, फिक्स डिपोजिटमा पनि गरेकी छन्। १०० कित्ता बैंकको सेयरबाट बजारमा होमिएकी झुमाले पछिल्लो बुलमा आफ्नो साढे १६ करोडको पोर्टफोलियो बनाएकी थिइन्। हाल बजार घटेकै समयमा पनि उनीसँग करीब १० करोड रुपैयाँ बराबरको सेयर छ ।
पार्ट टाइम सेयर कारोबारले बनाएको करोडपति
सिन्धुली घर भइ ललितपुर बस्दै आएकी पुष्पाकुमारी घिमिरे २०७१ सालबाट सेयर बजारमा सक्रिय रूपमा कारोबार गर्ने लगानीकर्ता हुन्।
उनले २०७१ मा आफ्नो सानो व्यवसाय र एनजीओमा काम गर्दा कमाएको पैसा साथीभाइको सल्लाहअनुसार बजारमा लगानी गरिन्। ६ लाख रुपैयाँबाट सेयर बजारमा प्रवेश गरेकी उनले हालसम्म दुईवटा बुललाई नजिकबाट नियालेकी छन्। यी दुवै बुलमा राम्रो नाफा बुक गर्ने लगानीकर्तामध्ये उनी पनी एक हुन्।
'मैले ३२०० को बुल र त्यस अघिको बुलमा राम्रै नाफा बुक गरेर र कुनै ठाउँमा लगानी गरेँ,' उनले भनिन्, 'म सेयर बजारमा सानो सानो लगीबाट प्रवेश गरेको हुनाले मलाइ बजार जति नै घट्दा पनि रिग्रेट हुँदैन। मैले यही बजारबाट विभिन्न क्षेत्रहरुमा हात हालेँ, जसले गर्दा म सफल पनि भएँ।'
सेयरमा उनी मार्केटको ट्रेन्ड अनुसार लगानी र बिक्री पनी गर्छिन्। वित्तीय विवरण, लाभांश वितरण गरेको इतिहास लगायत विभिन्न पक्ष हेरिसकेपछि मात्र उनले लगानीका लागि बैंक तथा ट्रेडिङका लागि इन्स्योरेन्स कम्पनीका सेयरहरु किन्ने गरेकी छन्।
सेयर बजारमा सक्रिय भइरहँदा छुट्टै अफिस खोलेर बस्नुपरेको छैन। त्यसैले पुष्पा शिक्षण पेसामा आबद्ध छिन्। साथै उनले करिब दुई महिना अघिबाट आफ्नै होटल व्यवसाय पनि सुरु गरेकी छन् ।
सेयर बजार महिलाहरुलाई आर्थिकरूपमा आत्मनिर्भर बनाउने क्षेत्र भएको उनको भनाइ छ। 'महिला नै आर्थिकरूपमा सबल भए भने उनीहरु सबै क्षेत्रमा बलियो हुन सक्छन्। कसैका अघि हात थाप्नु पर्दैन, जम्मा गरेको सानो-सानो रकम पछि कुनै ठाउँमा लगानी गर्न सकिन्छ। त्यसैले महिलाहरुका लागि सेयर बजार राम्रो ठाउँ हो, उनी भन्छिन्।
उनले पछिल्लो बुलमा करोडौ रुपैयाँ नाफा बुक गरेकी छन्। जुन पैसा अहिले विभिन्न ठाउँमा लगानी गरिरहेको उनको भनाइ छ।
विद्यालय छाडेर सेयर बजारमा
सेयर बजारबाट नाम र दाम कमाउँदै आएका सक्रिय महिलाका सूचीमा पर्ने अर्को नाम हो नूर शर्मा। आफूसँग भएको केही रुपैयाँलाई सेयरका कित्ताहरुमा बदल्दै २०५८ बाट सेयर बजारमा आएकी उनी अहिले करोडौंको पोर्टफोलियोकी मालिक हुन्।
श्रीमानका साथीले सेयर कारोबारका बारेमा सुनाएपछि उनीहरु दुवैले बजारमा प्रवेश गर्ने निर्णय गरे। बराबर लगानीबाट बजारमा प्रवेश गरे। उनीहरुले कारोबार गर्दै जाँदा सेयर बजार नै लगानीका लागि उपयुक्त ठाउँ माने।
त्यति मात्र होइन बजारबाट राम्रो नाफा कमाउन थालेपछि उनले केही साथीहरु मिलेर सञ्चालन गरेको विद्यालय नै बन्द गरेका थिए।
'मेरो सुरुको लगानी ८ लाख रुपैयाँ हो। सेयर बजारमा आउनुभन्दा पहिले म एउटा स्कुल चलाएर बसेकी थिएँ। मलाइ स्कुलभन्दा यता सहज भयो। सहज मात्र होइन बुझेर लगानी गरियो भने राम्रो कमाउन पनि सकिने रहेछ,' उनले भनिन्, 'त्यसैले स्कुलभन्दा सेयरबजारतिर रहर बढ्दै गयो। विस्तारै स्कुल छाडेँ । त्यतिबेला अहिलेजस्तो थिएन, आइपीओ जतिको भर्यो त्यतिको पर्थ्यो।'
उनले अहिलेसम्म तीनवटा बुललाई नजिकबाट हेरिसकेकी छन्। पछिल्लो बुलमा राम्रो मुनाफा बुक गरेकी उनको हाल ४ करोडभन्दा बढीको पोर्टफोलियो छ।
दम्पतीले सेयर बजारबाट कमाएको पैसाल मध्यबानेश्वरमा ९ आना जग्गा लिएर पक्की घर बनाएका छन्। छोरालाई एमबीबीएस पढ्दैछन्। शर्मा भन्छिन् 'लगानीको कारोबार गर्न चाहने महिलाका लागि सेयर बजार निकै राम्रो ठाउँ हो।'


