शुद्धीकरण मुद्दामा इच्छाराज तामाङसहित तीन जनालाई थुनामा राख्न विशेष अदालतको आदेश



बिजमाण्डू
२०७९ असोज २८ गते १६:४० | Oct 14, 2022


शुद्धीकरण मुद्दामा इच्छाराज तामाङसहित तीन जनालाई थुनामा राख्न विशेष अदालतको आदेश


काठमाडौ। सिभिल सहकारीका अध्यक्ष एवं पूर्वसभासद इच्छाराज तामाङसहित तीन जनालाई सम्पत्ति शुद्धीकरण मुद्दामा थुनामा नै राखेर अनुसन्धान गर्न विशेष अदालतले आदेश दिएको छ। तामाङ भने अहिले पनि थुनामै छन्। 

Tata
Global Ime

अदालतले हाजिर भएका तीन जनालाई आज थुनामा राख्न थुनछेक आदेश दिएको हो। अदालतमा हाजिर भएका तामाङ, उनकी श्रीमती सिर्जना शाक्य तामाङ र केशवलाल श्रेष्ठलाई थुनामा राख्न आदेश दिएको छ।

ठगी र संगठित अपराध कसुरमा थुनामा रहेका सिभिल सहकारीका अध्यक्ष एवं पूर्व सभासद इच्छाराज तामाङसहित ६ जनाविरुद्ध ५ अर्ब ६७ करोड ५५ लाख २४ रुपैयाँ बराबरको सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता भएको थियो।

तामाङले मात्र ३ अर्ब ३१ करोड ८५ लाख रुपैयाँ गैरकानुनीरूपमा आर्जन गरेको विभागको अनुसन्धानले देखाएको छ।

विभागले विशेष अदालतमा तामाङविरुद्ध मुद्दा दर्ता गरेको हो। तामाङकी श्रीमती सिर्जना शाक्य तामाङ, छोरीहरु प्रतीक्षा र प्रतिष्ठा तामाङविरुद्ध पनि मुद्दा दायर भएको छ।

यस्तै केशवलाल श्रेष्ठ र मिनाकुमारी श्रेष्ठविरुद्ध पनि मुद्दा दायर भएको हो।

तामाङलाई गत पुसमा जिल्ला अदालत काठमाडौंले ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा पठाएको थियो। तामाङ लगायत ४२ जनाविरुद्ध अदालतमा मुद्दा दायर भएको थियो।

५ अर्ब ७७ करोड ८० लाख ९० हजार ९ सय २ रुपैयाँ बिगोसहित ठगी र संगठित अपराधको मुद्दा अदालतमा विचाराधीन छ।

तामाङले सिभिल सहकारीको निक्षेप सदस्यको हैसियतमा एक व्यक्तिले लिन पाउने कर्जाको अधिकतम सीमालाई लत्याएर मुख्यगरी आफ्ना चार रियल इस्टेट कम्पनी (सिभिल होम्स, सिभिल इस्टेट, सिभिल अपार्टमेन्ट र सिभिल बिजनेस कम्प्लेक्स) मार्फत घरजग्गामा हाल्न र बैंक ऋणको किस्ता तिर्न प्रयोग गर्न थालेका थिए।

त्यसरी आफ्नो कम्पनीमा सहकारीको निक्षेप चलाएकाले समस्या सुरु भयो। उनले सिभिल सहकारीका निक्षेपकर्ताको सात अर्ब रुपैयाँभन्दा बढी रकम नियमविपरीत कर्जाका रूपमा लिएर संगठित रूपमा ठगी गरेको आरोप लागेको छ।

विभिन्न बैंक र सिभिल सहकारी समेतको गरी कुल ८ अर्ब ६७ करोड रुपैयाँमाथि उनले दुरुपयोग गरेको अनुमान छ। रियल इस्टेट कारोबार हुँदै उनी एमालेबाट सांसद पनि भए। सहकारीहुँदै सिभिल बैंकको अध्यक्ष समेत बनेका तामाङलाई 'उच्च महत्त्वाकांक्षा'ले गलत बाटोमा लगेको उनका नजिकका जानकार बताउँछन्।