आर्थिक मन्दीको प्रक्षेपणले कच्चा पेट्रोलियमको मागमा ठूलो गिरावट, फेरि मूल्य घटेर आउने



बिजमाण्डू
२०७९ असोज ३० गते ०८:४८ | Oct 16, 2022


काठमाडौं। आर्थिक मन्दीको प्रक्षेपणले कच्चा तेलको मूल्यमा ठूलो गिरावट आएको छ। विश्वव्यापी मन्दीको डर र चीनमा कोभिडका कारण भएको लकडाउनले माग घट्दा कच्चा तेलको मूल्यमा गिरावट आएको हो। 

Tata
Global Ime

विश्वको सबैभन्दा ठूलो कच्चा तेल आयातकर्ता चीन हो। यसको मागमा आउने परिवर्तनले अन्तर्राष्ट्रिय बजार समेत असार गर्ने गर्दछ। 
हाल डब्लूटीआईको प्रति ब्यारल ८५ डलर र ब्रेन्ट क्रुड आयलको प्रति ब्यारल ९१ डलरमा झरेको छ। अमेरिकी डलर सूचकांक लगभग ०.८ प्रतिशतले बढेको छ।

बलियो डलरले अन्य मुद्राहरू प्रयोग गर्ने खरिदकर्ताहरूको लागि इन्धन महँगो बनाएर तेलको माग घटाउँछ। नेपालमा पनि डलरको भाउ हालसम्म कै उच्च भएको छ। यसले हाम्रो निर्यात घाटालाई आझै बढाउदै लगेको छ। केही समय अगाडि ओपेकले आपूर्तिमा प्रति दिन २० लाख ब्यारल कटौती गर्ने निर्णय गरेको थियो।

उक्त निर्णयलाई लिएर साउदी अरेबिया र अमेरिकाबीच विवाद भएको छ। यसैबीच कच्चा तेलको मूल्य प्रति ब्यारल ८९ डलरबाट ९८ डलरमा पुगेको थियो। तर विश्वव्यापी आर्थिक मन्दीको डर र कोभिडका कारण चीनमा भएको लकडाउनले तेलको माग घट्न थालेको छ। यसले गर्दा हाल अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा गिरावट देखिएको हो। 

शुक्रबार मात्र कच्चा तेलको मूल्य ३ प्रतिशतले तल झरेको छ। यो हप्ता ब्रेन्ट र डब्ल्यूटीआईको मुल्य घटबढसँगै ब्रेन्ट ६.४ प्रतिशत र डब्लूटीआई ७.६ प्रतिशतले मूल्यमा गिरावट आयो। अमेरिकी कोर मुद्रास्फीतिले ४० वर्ष एताकै सबैभन्दा ठूलो वार्षिक वृद्धि रेकर्ड गरेको छ, जसले विश्वव्यापी मन्दीको जोखिमसँग ब्याज दरहरू लामो समयसम्म उच्च रहन्छ भन्ने जनाउँछ। अमेरिकी ब्याजदरको अर्को निर्णय नोभेम्बर १-२ मा हुने छ।

अमेरिकाले आपूर्तिमा समस्या आउन नदिन तेल उत्पादनको लागि यो हप्ता ८ वटा रिग (कुवा) थप गरेको छ। जुन २०२० को भन्दा उत्पादन क्षमता उच्च हो। यो हप्ता अमेरिकाले तेल उत्पादनको लागि ६१० वटा रिग सञ्चालन गरेको थियो।

विश्वको सबैभन्दा ठूलो कच्चा तेल आयातकर्ता चीनले एक साता लामो बिदा पछि कोभिड-१९ विरुद्ध लडिरहेको छ। देशको संक्रमण संख्या विश्वव्यापी मापदण्ड अनुसार सानो छ। तर यसले शुन्य कोभिड नितिको अवधारणा लिएकाले आर्थिक गतिविधि र तेलको मागमा ठूलो गिरावट आइरहेको छ। बजारमा मानिसको चहलपहल तथा ब्यापारिक कारखानाहरु संचालन कम हुँदा तेलको माग स्वाभाविक रूपमा घट्छ। 

पछिल्लो समय इन्डियन आयल कर्पोरेसनले नेपाल आयल निगमलाई पठाएको नयाँ मूल्य घटेर आएको थियो। यसले निगमलाई डेढ वर्षपछि नाफामा लग्यो। निगमले हाल मासिक डेढ अर्ब नाफा गरिरहेको छ। तर, उपभोक्ताको लागि भने तेलको बिक्री मूल्य घटाएन।

निगमले यसपटक भारतबाट आउने नयाँ मूल्य अनुसार मात्र घटबढको निर्णय गरिने जनाएको थियो।