काठमाडौं। बरुण हाइड्रोपावरले ३ लाख ५५ हजार ६० कित्ता सेयर बिक्री गर्ने भएको छ। सो सेयर हाइड्रोपावरले सिलबन्दी बोलकबोलमार्फत बिक्री गर्ने जनाएको हो।
इच्छुक संस्था वा व्यक्ति जो कोहीले उक्त बोलकबोलमा भाग लिन सक्नेछन्। विद्यमान संस्थापक सेयरधनी पनि बोलकबोलमा सहभागी भएर बोलपत्र आवेदन बुझाउन सक्नेछन्।
सेयरको न्युनतम मूल्य हाइड्रोपावरले एक सय रुपैयाँ तोकेको छ। तोकिएको मूल्यभन्दा कम मूल्य राखेर आवेदन दिन पाइने छैन। यस्तै, न्युनतम एक सय कित्ताका लागि बोलकबोल पेस गर्नु पर्नेछ। अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ।
हाइड्रोपावरले कात्तिक १४ गतेदेखि सिलबन्दी बोलकबोलका लागि आवेदन खुला गरेको हो। बोलकबोलमा कात्तिक २१ गतेसम्म आवेदन पेस गर्नु पर्नेछ। बोलपत्र फाराम बैंकको बिक्री प्रबन्धक आरविवि मर्चेन्ट बैंकिङबाट प्राप्त गर्न सकिनेछ।
कम्पनीले नबिकेको हकप्रद सेयर बिक्री गर्न लागेको हो। कम्पनीले गत असोज ६ गतेदेखि असोज ३१ गतेसम्म १०० प्रतिशत हकप्रद बिक्री गरेको थियो। सो मध्ये आवेदन नपरेको ३ लाख ५५ हजार ६० कित्ता साधारण सेयर कम्पनीले सिलबन्दी बोलकबोलमार्फत बिक्री गर्दैछ।


