डेनमार्कको बजारमा स्थापित हुने प्रयासमा ‘मैचा’, कलेजको प्रोजेक्टले व्यावसायिक आकार लिँदै



२०७९ असोज ३० गते ११:५९ | Oct 16, 2022


डेनमार्कको बजारमा स्थापित हुने प्रयासमा ‘मैचा’, कलेजको प्रोजेक्टले व्यावसायिक आकार लिँदै


काठमाडौं। विदेशी उत्पादनसँग गुणस्तरमा टक्कर दिने नेपाली गार्मेन्ट ब्राण्डहरुलाई नजिकबाट नचिनेकाको गुनासो हुन्छ- नेपाली नाम मात्रैका ! नेपाली केही ब्राण्ड यस्ता छन् जसले देशमात्र नभई विदेशमा पनि राम्रो पहिचान बनाइरहेका छन्। त्यसैमध्येको एउटा हो- मैचा। 

Tata
Global Ime

यो यस्तो नेपाली ब्राण्ड हो जसका उत्पादनहरु डेनमार्कका लागि बन्छन् र उतैको बजारमा फैलिन प्रयासरत छ।

नेपालमा अधिकांश नेपालीहरूले प्राय चिनियाँ गार्मेन्ट नै लगाउँछन्। हुन त नेपालमा कपडा उत्पादन नहुने होइन। बजारमा धेरै नेपाली क्लोदिङ ब्राण्डहरु पनि छन्। तर नेपालमा बन्ने कपडाको गुणस्तर कमसल हुन्छ भन्ने अवधारणा पनि हावी छ। त्यस्ता धेरै ब्राण्डहरूले त यहाँ स्टिचिङ मात्रै गर्ने गरेका छन्। कपडादेखि सियोसम्म पनि आयात गरेका हुन्छ।

तर डेनमार्कलाई बजार बनाएर उतै खुलेको नेपाली क्लोदिङ ब्राण्ड मैचा भने फास्ट फेसनको दौडमा छैन। मैचाले स्वदेशी र मौलिक नेपाली कपडाहरु प्रयोग गर्दै दिगो, वातावरणमैत्री 'एभरी डे वेयर' बनाउँदै आएको छ जसका उपभोक्ता डेनिसहरु हुन्।

यस ब्राण्डले नेपालमा बनेका गार्मेन्टहरू गुणस्तरीय हुँदैन भन्ने आम अवधारणालाई चुनौती समेत दिएको छ। नेपालमा नै उत्पादन गरी लैजाँदा पनि अन्तर्राष्ट्रिय बजारका लागि उच्च गुणस्तरका उत्पादन दिन सकिन्छ भनेर प्रमाणित गर्दै छ।

मैचा ब्राण्ड मनिषा श्रेष्ठको दिमागको उपज हो। पर्वतमा जन्मिएकी मनिषा १८ वर्षको उमेरमा डेनमार्क उडेकी थिइन्। बुबाआमा उतै सेटल थिए। बाल्यकालदेखि नै मनिषालाई कला तथा फेसनले निकै आकर्षित गर्थ्यो। खाली समय उनी फोटोग्राफी र चित्र कोर्दै बिताउँथिन्।

मनिषा भन्छिन्, ‘सानैबाट मलाई फेसन क्षेत्रमा केही गर्छु भन्ने थियो। ठ्याक्कै यही नै गर्छु भन्ने ठोस केही योजना भने थिएन।’

उनले उतै माध्यमिक तहको शिक्षा हासिल गरिन्। स्नातकको पाचौं सेमेस्टरमा आन्टरप्रेनियरशिप एण्ड बिजनेस प्लान विषयमा उनलाई एउटा  योजना बनाएर बुझाउनुपर्ने भयो। यसले उनलाई आफ्नो सानैदेखिको रुचिको विषयमा काम गर्ने अवसर मिल्यो।

कलेज प्रोजेक्टकै रुपमा उनी 'मैचा' ब्राण्डसहित डेनमार्कको बजारमा उत्रिन्। देश बाहिर रहे पनि उनमा आफ्नो देश र सांस्कृतिक पृष्ठभूमि चिनाउने केही उदारणीय काम गर्ने ध्येय थियो। साथै महिलाको प्रतिनिधित्व तथा सशक्तिकरण गर्ने किसिमको केही काम गर्ने इच्छा पनि। यी सबै आकांक्षाहरूलाई एकै ठाँउमा ल्यायो उनको फेसन मोहले। यी सबै झल्काउने गरी उनले आफ्नो फेसन ब्राण्डको नाम 'मैचा' राखिन्, जसको अर्थ नेपाल भाषामा 'महिला' हुन्छ। सन् २०२० को सेप्टेम्बरमा उनले बिजनेस प्लान बनाएरै आफ्नो फेसन ब्राण्डको स्थापना गरिन्।

फास्ट फेसन उद्योगले ग्लोबल विश्वव्यापी कार्बन उत्सर्जनमा १० प्रतिशत तथा विश्वव्यापी फोहोरको २० प्रतिशत योगदान गर्दछ। यी नकारात्मक असरको बारेमा मनिषा निकै सचेत थिइन्। यसलाई मध्यनजर गर्दै उनले स्लो/दिगो फेसनमा पोसाक ब्राण्ड बनाउने निधो गरिन्।

उनले नेपालमा उत्पादित बायोडिग्रेडेबल हेम्प, कटनको कपडा तथा सारीको पुनः प्रयोग गरेर विभिन्न गार्मेन्ट तथा एक्सेसरिजहरू उत्पादन गर्दै आएकी छन्। हेम्पबाट बनेको सर्ट, सर्ट्स, सारीको ब्याग, पाउच, वालेटहरू, ब्याम्बो स्कार्फ मैचाका केही उत्पादन हुन्। साथै उनले 'नो-इफेक्ट' तथा प्राकृतिक 'डाई' पनि प्रयोग गर्छिन्।

मनिषाले सन् २०२१ को जनवरीमा कम्पनी दर्ता गरेकी हुन्। उनले पहिलो कलेक्सनको लागि डेनमार्क तथा नेपालमा रहेका परिवारजन तथा साथीभाईको सल्लाह र साथ लिइन्। उनको नेपालकै साथी ऐश्वर्याको आमा सिलाइबुनाइमा पोख्त थिइन्।

‘उहाँ एक कम्पनीमा काम गर्नु हुन्थ्यो। यस क्षेत्रको बारेमा उहाँलाई धेरै अनुभव छ। उहाँको अनुभवले मलाई धेरै मद्दत भयो। मैले यहाँबाट कपडाको प्रकार र डिजाइनहरू पठाएँ। त्यसै अनुसार उहाँले सिलाइदिनु भयो।’- मनिषा सुरुवाती दिनहरु सम्झन्छिन्।

मैचाको पहिलो कलेक्सनमा उनले नै सबै उत्पादनको काम सम्हालिन्। यसमा उनले तीन रंगमा महिलाहरूका लागि जम्मा २० वटा सर्ट र सर्ट्स बनाएकी थिइन्। मैचामा उनको सुरुवाती पुँजी भनेको जम्मा ४०,००० रुपैयाँ थियो, जुन उनले आफ्नो बचतबाट लगानी गरेकी थिइन्।

सुरुवाती दिनहरू खासै सुखद रहेन। सुरुमा त उनलाई चुनौतीका पहाड नै खसेजस्तो भयो।  मनिषा सुनाउँछिन्, ‘मलाई कपडाहरुको स्रोत र उपयुक्त सप्लायरहरु पत्ता लगाउनै एक वर्ष जस्तो लाग्यो। अनलाइनबाट काम गर्दा आफूले भनेको जस्तो कपडा नपाउँदा कति उत्पादन त खेर पनि गएको छ।’

डेनमार्कको मार्केटलाई लक्षित गरी सुरु भएको ब्राण्ड भएकाले युरोपियन साइज अनुसारको गार्मेन्ट बनाउनुपर्ने थियो। यस क्रममा पनि उनले धेरै समस्या झेलिन्। साथै नेपालमा सर्टिफिकेसनको नै समस्या पर्‍यो। उनका अनुसार पहिलो वर्ष त उनले उत्पादनबाट ठूलो नोक्सानी खेप्नु पर्‍यो।

यी सबै समस्याहरूलाई केही हदसम्म सुल्झाउन आफूलाई कलेजको आन्टरप्रेनियरशिप हबले मद्दत गरेको उनी सुनाउँछिन्, ‘यहाँबाट मैले निःशुल्क एकाउन्ट तथा कानुनी सेवा र स्टार्टअपका लागि सल्लाह पनि पाएँ। जसको सुझावलाई अनुसरण गर्दै धेरै त्यस्ता चुनौतीहरू पार पनि गरेँ। ’

मैचामा हाल तीनजना घरेलु महिलाहरूले सिलाइबुनाइको काम सम्हालिरहेका छन्। कपडाहरूको डिजाइन सबै मनिषाले डेनमार्कबा‍ट नै बनाएर नेपाल पठाउँछिन्। मैचाका उत्पादनहरू धेरै जसो 'ह्यान्ड मेड' हुने उनी दाबी गर्छिन्। तयार भएका सबै उत्पादनहरू उनले वर्षमा तीनपटक मात्र सिपिङ गर्ने गरेको उनको भनाइ छ।

दिगो फेसनमा केन्द्रित भएकaले मैचाका हरेक डिजाइनको जम्मा १५ देखि २० पिसमात्रै उत्पादन हुन्छ।  मैचाको उत्पादनलाई उनले इन्स्टाग्राम तथा लोकल मार्केटबाट प्रचार गर्दैछिन्। उनी महिनाको एक पटक यस्ता लोकल मार्केटहरूमा मैचाको उत्पादन लिएर पुग्ने गर्छिन्।

‘अनलाइनमा मात्र भन्दा पनि आफैं स्थानीय बजारहरुमा जाँदा बिक्री राम्रो हुन्छ। तीन दिनको क्रिसमस मार्केटमा मात्रै मैले डेनिस क्रोन ६००० जति कमाएको थिएँ,’ उनले भनिन्। यस्ता स्थानीय बजारहरुमा उनले नेपाली ३५ देखि ८६ हजार रुपैयाँसम्म आम्दानी गर्ने बताउँछिन्।

मैचाका उत्पादनहरु तुलनात्मक रुपमा महंगा छन्। यसका उत्पादनहरु ९ हजार रुपैयाँसम्म पर्छ। तर हाल उनी आफ्ना उत्पादनहरुको बिक्रीमा भन्दा पनि ब्राण्डलाई स्थापित गर्नका लागि अग्रसर रहेको बताउँछिन्।  उनी हाल ढाका कपडाको प्रयोग गरेर मिनिमल डिजाइनका ड्रेसहरू बनाउनमा ब्यस्त पनि छिन्।