काठमाडौं। भारतका दुई वायुसेवा कम्पनी मर्जरमा जाने भएका छन्। भारतको ध्वजावाहक एयर इण्डिया र भिस्तारा एयरलाइन्स मर्जरमा जाने भएका हुन्।
यसका लागि सेयरधनीमध्येको निर्णायक कम्पनी सिंगापुर एयरलाइन्सले सहमति जनाएको छ। दुई कम्पनी मर्जरमा गएसँगै भिस्ताराले उडान सञ्चालन र व्यवस्थापनमा थप टेवा पुग्ने जनाएको छ।
टाटा समूहले एयर इण्डियाको स्वामित्व लिएसँगै आफ्नो ५१ प्रतिशत स्वामित्व रहेको भिस्तारा एयरलाइन्सको मर्जरका लागि प्रक्रिया सुरु गरिएको एजेन्सीले जनाएको छ। भिस्तारामा सिंगापुर एयरलाइन्सको ४९ प्रतिशत स्वामित्व छ।
सन् २०१३ मा स्थापना भएको भिस्तारा एयरलाइन्स र एयर इण्डियाको मर्जरमार्फत आन्तरिक र अन्तर्राष्ट्रिय बजार हिस्सा थप विस्तार हुने जनाइएको छ। टाटा समूहले व्यवस्थापनमा आफ्नो प्रवेशसँगै एयर इण्डियाका लागि १० वर्षमा क्षमता दोब्बर कायम गर्ने लक्ष्य राखेको छ। अन्तर्राष्ट्रिय हवाई यातायात संगठनले एयर इण्डियालाई सन् २०२४ मा तेस्रो ठूलो अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हुने दाबी गरेको छ।
भारतीय नागरिक उड्डयन मन्त्री ज्योतिरादित्य सिन्धियाले गत नोभेम्बरमा एयर इण्डियालाई आन्तरिक उडान सेवा दिनेमध्ये विश्वकै उत्कृष्ट कम्पनी रहेको दाबी गरेका थिए।


