साल्ट ट्रेडिङ तिहारमा पनि चिनी नबेच्ने, ‘मौज्दात छैन, ल्याउन आयात स्वीकृति पाइएन’



२०७९ असोज ३० गते १४:५५ | Oct 16, 2022


साल्ट ट्रेडिङ तिहारमा पनि चिनी नबेच्ने, ‘मौज्दात छैन, ल्याउन आयात स्वीकृति पाइएन’


काठमाडौं। साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले तिहारमा पनि चिनी बिक्री नगर्ने भएको छ। चिनी आयातका लागि सरकारले स्वीकृति नदिएपछि साल्ट ट्रेडिङले बजारबाट खरिद गरेर बिक्री गर्ने योजना बनाएको थियो।  

Tata
Global Ime

साल्ट ट्रेडिङ स्थानीय बजारबाट खरिद गरेर खुद्रामा बेच्ने योजनाबाट पछि सरेको छ। 'लोकल बजारबाट खरिद गरेर बिक्री गर्दा कम्पनीलाई घाटा हुने देखियो। त्यसैले हामीले हाललाई चिनी नबेच्ने निर्णय गरेका छौं,' साल्ट ट्रेडिङका बजार प्रबन्धक प्रज्वल प्रधानले भने।

चाडबाडका लागि भन्दै बर्सेनि साल्ट ट्रेडिङ र खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई सरकारले कोटा तोकेर चिनी आयात अनुमति दिने गरेको थियो। त्यसरी आयात गर्दा कर छुटको सुविधा पाउने भएकाले साल्ट ट्रेडिङले वर्षौंदेखि नुनसँगै चिनीको कारोबार गर्दै आएको थियो। गतवर्ष निजी क्षेत्रले मुलुकको आवश्यकताभन्दा बढी चिनी भित्र्याएको थियो। 

निजी क्षेत्रकै छेलोखेलो भएको भन्दै सरकारले साल्ट ट्रेडिङ र खाद्यलाई आयात अनुमति दिएन। त्यसरी आयातका लागि गतवर्ष उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले स्वीकृति नदिँदा दसैंअघिसम्म साल्ट ट्रेडिङले मौज्दात चिनी बेचिरहेको थियो। मौज्दात सकिएपछि नयाँ कोटा ल्याउन पाएन।

तिहारमा चिनीको धेरै खपत हुने गरेको छ। दसैं अघिदेखि निजी क्षेत्रसँग चिनी खरिदका लागि तयारी गरिरहे पनि मूल्यमा सहमति नबनेकाले साल्ट ट्रेडिङले नबेच्ने निर्णय गरेको हो।

'लोकल बजारमा चिनी खरिद गर्दा महँगो छ। चिनी खरिद गर्दा प्रतिकेजी ९४ देखि ९५ रुपैयाँ पर्छ। मन्त्रालयले चिनी उपभोक्तालाई प्रतिकेजी ८० रुपैयाँमा बिक्री गर्ने निर्देशन दिएको छ। महँगो किनेर सस्तोमा बेच्न सकिँदैन,' बजार प्रबन्धक प्रधानले भने।

दसैंमा चिनी बिक्री गर्न स्वदेशी चिनी उद्योगका लागि साल्ट ट्रेडिङले खरिद टेण्डर आह्वान गरेको थियो। तर उद्योगहरुले साल्ट ट्रेडिङलाई चिनी बेच्न चासो दिएनन। टेण्डर परेन। त्यसैले साल्ट ट्रेडिङले चिनी बिक्री नगरेको उनले बताए।

निजी व्यवसायीले आयात गरेको भन्दा प्रतिकेजी २० रुपैयाँसम्म सस्तो मूल्यमा चिनी पाउने भएपछि बिगतमा साल्ट ट्रेडिङमा चाडबाडका बेला उपभोक्ताको भीड नै लाग्ने गरेको थियो। कर्पोरेसनका बिक्री कक्षहरुबाट दैनिक ११ सय केजीभन्दा बढी चिनी बिक्री हुथ्यो।

चाडपर्वको समयमा करिब ३० हजार मेट्रिक टन चिनीको आवश्यकता पर्छ। सामान्य समयमा भन्दा चाडपर्वमा चिनीको माग अझै बढ्छ। बजारमा मूल्य बढी पर्ने भएकाले उपभोक्ताले साल्ट ट्रेडिङको सस्तो पसलबाट चिनी खरिद गर्दै आएका थिए। 

हाल बजारमा चिनी प्रतिकेजी ९५ देखि १०५ रुपैयाँमा उपभोक्ताले खरिद गर्दै आएका छन्। गत असारसम्म साल्ट ट्रेडिङमा प्रतिकेजी ७९ रुपैयाँमा बिक्री हुँदै आएको थियो।

बर्सेनि मन्त्रालयले चाडपर्व लक्षित गरेर सस्तो मूल्यमा चिनी बिक्री गर्न साल्ट ट्रेडिङलाई निर्देशन दिन्छ। यसका लागि चालु आर्थिक वर्ष सुरु भएपछि साल्टले बजारको माग भारतबाट हेरेर चिनी आयात गर्थ्यो। उक्त चिनी आफ्ना बिक्री कक्षाबाट बेच्थ्यो। बजारको भन्दा सस्तो हुने भएकाले उपभोक्ताहरु चिनी खरिदका लागि आउने गरेका थिए। 

यो पटकको दसैंमा उपभोक्ताले साल्ट ट्रेडिङका सुपथ मूल्य पसलबाट चिनी किन्न पाएनन्। यसको फाइदा निजी क्षेत्रका व्यवसायीले आफूखुसी मूल्य तोकेर उठाएका छन्। 

सरकारले चिनी आयात नगरे पनि निजी व्यवसायीहरुले ठूलो परिमाणमा आयात गरेका छन्। भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको २ महिनामा नेपालमा करिब ५ लाख ८२ हजार केजी चिनी आयात भएको छ। गत वर्ष सोही अवधिमा २५ लाख केजी आयात भएको थियो।