दूध अभावले डेरी उद्योगले सकेनन् ह्वाइटनर उत्पादन गर्न, प्लान्टहरु अलपत्र पर्न थाले



२०७९ असोज ३० गते १५:३३ | Oct 16, 2022


दूध अभावले डेरी उद्योगले सकेनन् ह्वाइटनर उत्पादन गर्न, प्लान्टहरु अलपत्र पर्न थाले


विराटनगर। विराटनगरको सूर्योदय मिल्क एन्ड बेभरेज इन्डस्ट्री प्रालि (सूर्योदय डेरी) ले डेरी ह्वाइटनर (चियामा प्रयोग गरिने धुलो दूध) को उत्पादनका लागि सम्पूर्ण तयारी पूरा गरिसकेको छ। तर, आवश्यक कच्चा दूधका अभावले उत्पादन हुन सकिरहेको छैन।

Tata
Global Ime

तीन वर्षअघि दूध र दुधजन्य पदार्थको उत्पादन सुरु गरेर सञ्चालनमा आएको सूर्योदयले विगत डेढ वर्षदेखि पाउडर प्लान्टको तयारी गरिरहेको थियो। तर पूर्वाधार र मेसिन जडानका सबै काम सकिए पनि कच्चा दूध नै पर्याप्त संकलन हुन नसकेपछि डेरी ह्वाइटनरको उत्पादन अवरूद्ध भएको हो।

विराटनगरका डेरी प्राविधिक मनोज यादव, उनका भाइ अनुज तथा युवा व्यवसायी विनोद राठी र प्रेम राठीको ६ करोडको संयुक्त लगानीमा ३ वर्ष अघिदेखि सूर्योदय डेरीका उत्पादन प्रदेश १ को बजारमा छन्। डेरीमा यादव र राठीले थप १८ करोडको लगानी गर्दै पाउडर प्लान्टको स्थापना गरेका हुन्। तर पाउडर उद्योगलाई आवश्यक पर्ने कच्चा दूध नै संकलन हुन सकिरहेको छैन।

सञ्चालक मनोजका अनुसार दैनिक ३ हजार किलो धुलो दूध उत्पादन गर्ने सूर्योदय डेरीको क्षमता हो। यसका लागि ३० हजार लिटर कच्चा दूध आवश्यक पर्छ। तर सूर्योदयमा अहिले दैनिक ५ हजार लिटर दूध मात्र संकलन भइरहेको छ। 

‘दुग्ध सहकारीसित हामी लिटरको औसत ६५ रुपैयाँमा कच्चा दूध संकलन गरिरहेका छौं,' सञ्चालक मनोजले बिजमाण्डूसित भने, ‘हामी लिटरको ७५ दिन तयार छौं। बारम्बार यो घोषणा गरेका पनि छौं तर पनि दूध उत्पादनमा वृद्धि भइरहेको छैन। त्यसैले सबै तयारी सकिएर पनि डेरी ह्वाइटनरको उत्पादन गर्न नसकिएको हो।’

यादवले सूर्योदयमा संकलन हुने दैनिक ५ हजार लिटर दूध दैनिक दूध तथा दुग्धजन्य उत्पादनका लागि नै खपत हुने जानकारी दिए।

सूर्योदयले विभिन्न प्रकारका प्रशोधित दूधका साथ दही, घिउ, नौनी, पनीर, बटर, मोही लगायतको उत्पादन तथा बिक्रीवितरण गर्दै आएको छ।

‘हामीले गत असारको अन्तिम सातामा पाउडर प्लान्ट जडान गर्ने काम सक्यौं,’ मनोजले सुनाए, ‘त्यसपछि १० दिनमा २ दिन मात्र थोरै समयका लागि पाउडर प्लान्ट चलाइरहेका छौं। यसरी महिनामा केवल ६ दिन पाउडर प्लान्ट चलाएर हामी एसएमपी (स्कीम्ड मिल्क पाउडर) र डब्लुएमपी (होल मिल्क पाउडर) को उत्पादन गरिरहेका छौं। किनकि डेरी उद्योगमा दूध तथा दुग्धजन्य उत्पादनका लागि एसएमपी र डब्लुएमपी दुवैको अनिवार्य आवश्यकता पर्छ।’

सञ्चालक यादवले डेरी उद्योगमा दहीको उत्पादनका लागि एसएमपी जरुरी भएको बताए। दहीलाई थप स्वादिलो र ढिकेदार बनाउन एसएमपीको प्रयोग अनिवार्य हुन्छ। बिस्कुट र कन्फेक्सनरी उद्योगलाई पनि एसएमपी आवश्यक पर्छ। पूर्वमा यसको राम्रो कारोबार छ। 

एसएमपी, डब्लुएमपी र डेरी ह्वाइटनर गरी मुख्य मुख्य तीन प्रकारका धुलो दूधमध्ये ८० प्रतिशत बजार एसएमपीकै भएको यादवको भनाइ छ।
त्यस्तै डेरीमा दूधको संकलन कम भएका बेला डब्लुएमपी घोलेर दूध तथा दुग्धजन्य पदार्थ उत्पादन गरिन्छ।

उद्योगका सञ्चालक मनोजको भनाइ थियो, ‘यसरी कुनै पनि डेरी उद्योगका गोदाममा एसएमपी र डब्लुएमपीको मौज्दात अनिवार्य हुनैपर्छ। डेरी उद्योगले एसमएपी र डब्लुएमपी पर्याप्त भइसकेपछि मात्र डेरी ह्वाइटनरको उत्पादन सुरु गर्छन्। तर, यहाँ त हामी आफूलाई चाहिने एसएमपी र डब्लुएमपी नै उत्पादन गर्न सकिरहेका छैनौं। अनि कसरी डेरी ह्वाइटनरको उत्पादन गर्न सक्छौं ?’

उनले १० दिनसम्म अलिअलि उब्रिएको दूध जम्मा गरेर २ दिन पाउडर प्लान्ट चलाउने गरेको बताए।

उद्यमी यादवका अनुसार नेपालमा दूधको उत्पादन कोभिड कालयता अपेक्षाकृत वृद्धि हुनसकेको छैन। कोभिडका बेला दूध र दुग्धजन्य उत्पादनको कारोबार र बिक्रीवितरणमा ह्रास आउँदा कच्चा दूधको बिक्री पनि घट्यो। यसका कारण धेरै कृषकले गाईपालन गर्न छाडे। दूधको उत्पादन गर्ने किसानले अर्को विकल्प रोजे।

उनले भने, ‘त्यसो त दुधको उत्पादन यस वर्ष गत वर्षको भन्दा १५ प्रतिशतले वृद्धि भएको छ तर प्रदेश १ मा अमेरिका लगायतका मुलुकमा निर्यातका लागि उत्पादन गरिने डग्स च्यु (कुकुरले खाने छुर्पी)का लागि कच्चा दूधको बढी खपत हुन थालेको छ। दूधको उत्पादन जुन मात्रामा वृद्धि भएको छ, त्योभन्दा बढी खपत छुर्पीको उत्पादनका लागि हुन थालेको छ। यसले गर्दा पूर्वका डेरीले आफूलाई आवश्यक पर्ने कच्चा दूध पाइरहेका छैनन्।’

मनोजले सरकारले असोज महिनाका लागि कच्चा दूधको आयातमा छुट दिएको भए पनि ढुवानी खर्चका कारण महँगो पर्ने बताए।

उनले तीन तहकै सरकारले कच्चा दूधको उत्पादनमा वृद्धि गर्न ठूलो धनराशि खर्च गरेको देखिए पनि त्यसबाट उचित प्रतिफल आउन नसकेको गुनासो गरे।

सूर्योदयले ५ ग्राम र ४०० ग्रामका छुट्टाछुट्टै प्याकिङमा ‘परम’ ब्रान्डमा डेरी ह्वाइटनरको उत्पादन गर्ने लक्ष्य राखेको छ। जसमध्ये ५ ग्रामको प्याकेटको प्रयोग पर्यटकस्तरीय ठुला होटलमा गरिन्छ।

पूर्वमा ४ वर्षअघि प्रदेश सरकारका अनुदानमा सुनसरीको कामधेनु डेरीले दैनिक ५ टन क्षमताको धुलो दूधको कारखाना लगाउन सुरु गरेको थियो। तर हालसम्म त्यसले उत्पादन सुरु गरेको छैन।

त्यस्तै विराटनगरस्थित दुग्ध विकास संस्थानको दुग्ध वितरण आयोजनामा पनि ६ टनको पाउडर प्लान्ट छ। तर आवश्यक कच्चा दूधका अभावमा यो लामो समयदेखि बन्द छ। यता सूर्योदयले पाउडर प्लान्टको काम सकेर पनि डेरी ह्वाइटनरको उत्पादन गर्न सकिरहेको छैन।