
काठमाडौं। बीमा समितिलाई प्राधिकरणमा रुपान्तरण गर्ने बीमा ऐन राजपत्रमा प्रकाशित भएको छ। गत साता राष्ट्रपति बिद्यादेवी भण्डारीले ऐन प्रमाणीकरण गरेसँगै आइतबार राजपत्रमा प्रकाशित भएको छ।
राष्ट्रपतिले प्रमाणीकरण गरेको ३१ दिन अर्थात कात्तिक २२ गतेबाट ऐन लागु हुने प्रावधान छ। ऐन अनुसार अब बीमा समिति बीमा प्राधिकरण बन्नेछ।
प्राधिकरणले आवश्यकता अनुसार नेपाल भित्र वा बाहिर जुनसुकै ठाउँमा बीमा कम्पनीले आफ्नो कार्यालय खोल्न पाउने व्यवस्था गरेको छ। बीमाको पहुँच न्यून आय भएका वर्गका जनतासम्म पुर्याउनेदेखि लघुबीमा व्यवसायको प्रवर्द्धन गर्ने व्यवस्था नयाँ ऐनमा समेटिएको छ।
प्राधिकरणले सदस्य नियुक्त गर्दा कम्तिमा एक जना महिना हुनुपर्नेछ। प्राधिकरणले तोकेको अधिकृतस्तरको कर्मचारीले समितिको सचिवको रुपमा कार्य गर्नेछ। अध्यक्ष र सदस्यको पदावधि नियुक्त गरेको चार वर्षसम्म रहनेछ।
बीमा प्रणाली तथा बीमा व्यवासायलाई व्यवस्थित, नियमित, प्रतिस्पर्धी तथा विश्वासनीय बनाइ त्यसको विकास गर्न, गुणस्तरीय सेवा प्रदान गर्न बीमितको हक हित संरक्षण गर्न, बीमा सम्बन्धी प्रचलित कानूनलाई संशोधन र एकीकरण गरी समयानुकूल बनाउन यो ऐन बनाइएको सरकारले जनाएको छ।