
काठमाडौं। नेपाल राष्ट्र बैंकले सोमबार १८ अर्ब २० करोड रुपैयाँ बराबरको आन्तरिक ऋण नवीकरण गर्न आह्वान गरेको छ।
राष्ट्र बैंकले २८ देखि ३६४ दिने ट्रेजरी बिल नवीकरण गर्ने प्रक्रिया अगाडि बढाएको हो।
२८ दिने ट्रेजरी बिल २०० करोडको नवीकरण गर्दैछ भने ९१ दिने ५२० करोडको नवीकरण गर्दैछ। यसैगरी १८२ दिने ५०० करोडको र ३६४ दिने ६०० करोडको नवीकरण गर्न लागेको हो।
हुन त यो ऋण सरकारले भुक्तानी गरेर बैंकको पैसा फिर्ता गर्नुपर्ने थियो। तर सरकारको कोषमा पैसा नभएका कारण उसले नवीकरण गरेर आफ्नो खर्च चलाउन खोजेको छ।
तरलता संकटका बीच ट्रेजरी बिल नवीकरण गर्न लागिएको हो। अघिल्लो पटक नवीकरणमा राख्दै ट्रेजरीको ब्याज (बट्टा) दर दोहोरो अंकमा पुगेको थियो। अहिले तरलता अभाव अलिकति पनि कम भएको छैन। त्यसमाथि बैंकहरुले ऋणको ब्याज नै बढाएका छन्। त्यसैले ट्रेजरीको ब्याज घट्ने सम्भावना न्यून छ।