आइकाओको गुरुयोजना तालिम सत्र पहिलोपटक, पाँच दिनको पहिलो कार्यक्रम नेपालमा



बिजमाण्डू
२०७९ असोज ३१ गते ११:४० | Oct 17, 2022


आइकाओको गुरुयोजना तालिम सत्र पहिलोपटक, पाँच दिनको पहिलो कार्यक्रम नेपालमा


काठमाडौं। अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनले पहिलोपटक उड्डयन क्षेत्र अन्तर्गतको तालिम सत्र आयोजना गरेको छ। संगठनले नेपालमा सोमबारदेखि पाँच दिने कार्यक्रम सुरु गरेको हो। 

Tata
Global Ime

यो तालिममार्फत विश्व उड्डयन सञ्जाल विस्तारसँगै वायुसेवा कम्पनीहरुलाई आर्थिकरुपमा मजबुत हुन टेवा पुग्ने संगठनका महासचिव जुआन कार्लोस सलाजारले बताए। 'उड्डयन मात्र यस्तो उद्योग हो जसले व्यापार, पर्यटन विस्तारका लागि महत्वपूर्ण भूमिका खेल्दै आएको छ,' उनले भने।

महासचिव सलाजारले कोभिडपछि उड्डयन उद्योग विस्तारका लागि सहकार्य गर्नका लागि यो गुरुयोजना तालिम आयोजना गरिएको बताएका छन्। यो तालिममार्फत विभिन्न मुलुकको हवाई यातायात, उड्डयन सुरक्षा, सुविधा, क्षमता, वातावरण प्रदूषण नियन्त्रण लगायत केन्द्रित हुने उनले जानकारी दिए। 

संगठनको पहिलो गुरुयोजना तालिम सुरुमै नेपालमा आयोजना गरिएकोमा नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले आभार व्यक्त गर्दै आर्थिक विकासका लागि  महत्त्वपूर्ण भूमिका खेल्दै आएको हवाई यातायातको क्षेत्रलाई तालिम उपयोगी हुने उनले बताए।

यो तालिमले कोभिड पछिको उड्डयन उद्योग र योसँग जोडिएका विभिन्न आर्थिक क्षेत्रमा सकारात्मक प्रभाव पर्ने उनले जानकारी दिए। यो गुरुयोजना तालिममार्फत विभिन्न मुलुकले आफ्नो उड्डयन नीति अनुसारको विस्तार गर्न सक्ने उनले बताए।

'पाश्चात्य मुलुकका लागि उड्डयन क्षेत्र आरामदायी हो तर नेपालका लागि यो लाइफलाइन हो,' उनले भने।

यस अघि जुममार्फत आयोजना हुँदै आएको कार्यक्रम कोभिड नियन्त्रणमा आएसँगै भौतिक रुपमा संचालन गरिएको प्राधिकरणले जनाएको छ।

प्राधिकरणका अनुसार पाँच दिने यो तालिममा नेपाल, पाकिस्तान, भारत, बंगलादेश, श्रीलंका लगायत विभिन्न मुलुकका २६ जना प्रतिनिधिको सहभागिता छ। यो सत्र आयोजनाका लागि चीन सरकारले आर्थिक सहयोग गरेको प्राधिकरणले जनाएको छ।