प्रत्येक दिन बजार अनुगमन गर्न मातहतका कार्यालयलाई आन्तरिक राजस्व विभागको परिपत्र



बिजमाण्डू
२०७९ असोज ३१ गते १६:५९ | Oct 17, 2022


प्रत्येक दिन बजार अनुगमन गर्न मातहतका कार्यालयलाई आन्तरिक राजस्व विभागको परिपत्र


विराटनगर। आन्तरिक राजस्व विभागले देशभरिका मातहतका ८४ वटा कार्यालयलाई परिपत्र गर्दै प्रत्येक दिन बजार अनुगमन गर्न निर्देशन दिएको छ। विभागको राजस्व असुली लक्ष्यअनुसार हुन नसकेपछि विभागले मातहतका सबै कार्यालयलाई अनुगमनका लागि निर्देशन दिएको हो।

Tata
Global Ime

भन्सार विभागले मातहतका सबै कार्यालयलाई सीमा नाकाको गस्तीमा कडाई गर्न भनेको छ। विभागले त्यही शैलीमा बजार अनुगमनको कार्यलाई तीव्र बनाउने भएको छ।

विभागका सूचना अधिकारी राजुप्रसाद प्याकुरेलले १ ठूला करदाता कार्यालय, १ मध्यम करदाता कार्यालय, ४३ वटा आन्तरिक राजस्व कार्यालय र ३९ वटा करदाता सेवा कार्यालय गरी ८४ वटा कार्यालयलाई एकै दिन एकै साथ परिपत्र गरिएको जानकारी दिए।

सूचना अधिकारी प्याकुरेलका अनुसार राजस्व कार्यालयले यसअघि पनि निरन्तर अनुगमन गरिरहेको थियो। तर कोभिडकालमा आर्थिक वर्ष २०७७/७८ र २०७८/७९ मा अनुगमन अवरूद्ध भएको थियो। विभागले यसलाई फेरि निरन्तरता दिने भएको छ।

प्याकुरेलले सरकारले बजेट भाषणबाटै चालु आर्थिक वर्ष २०७९/८० लाई बजार अनुगमन वर्ष घोषणा गरेको उल्लेख गरे । उनले साउन र भदौमा विभागको असुली ९० प्रतिशत मात्र भएको उल्लेख गरे। असोजको असुली पनि सन्तोषजनक छैन। 

उनले हरेक दिन बजार अनुगमन गरेर त्यसको रिपोर्ट प्रत्येक महिनाको ५ गते भित्र पठाइसक्न पनि कार्यालयहरुलाई निर्देशन दिइएको स्पष्ट पारे।
मातहतका कार्यालयले कति वटा फर्म वा पसलमा अनुगमन गरियो, कति करदातालाई कारबाही गरियो, अनुगमनबाट राजस्व र जरिबाना गरी कति असुली भयो लगायतका विवरणको प्रतिवेदन प्रत्येक महिनाको ५ गते भित्र पठाउनु पर्नेछ।

परिपत्रमा कारोबारीले बिल–बिजक जारी नगरेको, कारोबार मूल्यमा बिजक जारी नगरी न्यूनबिजकीकरण गरेको, कारोबारको सही प्रतिवेदन नबुझाएको, अन्तःशुल्क लाग्ने वस्तुमा अन्तःशुल्कको स्टिकर प्रयोग नगरेको वा पुनः प्रयोग गरेको, नक्कली स्टिकर प्रयोग गरेको तथा अवैध मदिरा तथा सुर्तीजन्य वस्तुको समेत कारोबार गरी राजस्व चुहावट भइरहेको भन्ने जनगुनासो प्राप्त भएको उल्लेख गरिएको छ।

परिपत्रमा चालु आवको बजेट वक्तव्यमा सघन र प्रभावकारी अनुगमनमार्फत् राजस्वको चुहावट नियन्त्रण गर्न र करदातालाई सहजीकरण गरी कर सहभागिता वृद्धि गर्न आव २०७९/८० लाई बजार अनुगमन वर्षका रूपमा मनाइने स्मरण गराइएको छ।

आन्तरिक राजस्व कार्यालय विराटनगरका प्रमुख डा. डीबी क्षेत्रीले आफू कार्यालयमा सरुवा भएर असोज २५ गते आएको र सोही दिन विभागबाट अनुगमनको परिपत्र पनि आइपुगेको जानकारी दिए।

प्रमुख डा. क्षेत्रीले परिपत्र प्राप्त भएकै दिनदेखि कार्यालयले २ कर अधिकृत र १ सहायक गरी ३ जनाको अनुगमन टोली खटाइरहेको बताए।
क्षेत्रीले टोलीले विभागको निर्देशनअनुसार बिलवीजक जारी भए–नभएको र कुन अवस्थामा जारी गरिएको भन्ने बारेमा अनुगमन गरिरहेको चर्चा गरे।

साथै करदातालाई पनि करसम्बन्धी कानुनी प्रावधानका विषयमा टोलीले सम्झाइरहेको दाबी गरे।