तिहारमा झिलिमिली बत्तीको आयात कम, मूल्य भने महँगियो, १० प्रतिशतले वृद्धि भयो मूल्य



बिजमाण्डू
२०७९ कात्तिक १ गते १७:१८ | Oct 18, 2022


काठमाडौं। तिहारमा प्रयोग हुने झिलिमिली बत्तीको मूल्य गत वर्षको भन्दा १० प्रतिशतसम्मले वृद्धि भएको छ। नेपाल विद्युतीय व्यावसायी महासंघले गत वर्षको तुलनामा यो वर्ष तिहारमा प्रयोग हुने झिलिमिली बत्तिको मूल्य ८ देखि १० प्रतिशतले वृद्धि भएको बताएको हो।

Tata
Global Ime

महासंघले अमेरिकी डलरको मूल्यमा आएको वृद्धि तथा राष्ट्र बैंकको नीतिको कारण बत्तीको मूल्य बढेर आएको महासंघले बताएको छ।

महासंघका महासचिव कमल पोखरेलले बजारमा झिलिमिली बत्तीको माग बढे पनि विगतका वर्षको तुलनामा यो वर्ष बत्तीको आयातमासमेत केही कमी आउने बताए।

तातोपानी र रसुवागढी नाका सहजतापूर्वक सञ्चालन नहुँदा र प्रतिपत्र (एलसी) खोल्ने समयमा शतप्रतिशत रकम राख्नुपर्ने व्यवस्थाले आयात कम भएको उनले बताए। पोखरेलले गत वर्ष नेपालमा २५ देखि ३५ प्रतिशत अर्थात करिव ४० करोडको विद्युतीय बत्ती आयात भएको भन्दै यो वर्ष करिव ३० करोड रुपैयाँ बराबरको आयात हुने अनुमान रहेको बताए।

कोभिड महामारीअघिसम्म तिहारको समयमा नेपालमा करिब ६० देखि ७० करोड बराबरको झिलिमिली बत्ती आयात हुने गरेकोमा कोभिडपछि २५ करोड बराबरको मात्रै झिलिमिली बत्ती आयात हुन थालेको बताए। चीनका शहरहरुमा लकडाउन भएकाले अर्डर गरेका सामान समयमा नेपाल आइनपुगेको समेत बताए।

नेपालमा सामान्य अवस्थामा विद्युतीय सामग्री तथा बत्ती नेपालमा वार्षिक १ अर्बभन्दा धेरैको आयात हुने गरेको छ। जसमध्ये आयात हुने झिलिमिली बत्तीको ८० प्रतिशत खपत तिहारको समयमा हुने महासंघले बताएको छ ।