काठमाडौं। बुधबार लाभांश घोषणा गरेको सोल्टी होटल लिमिटेडको बुधबार उच्च कारोबार भएको छ।
दुइ आर्थिक वर्ष लाभांश वितरण नगरेको यस कम्पनीले गत वर्षको मुनाफाबाट लगानीकर्तालाई २६.३१ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेसंगै कारोबार बढेको हो।
आज यस कम्पनीको ३ करोड ७२ लाख बराबरको सेयर खरिद बिक्री भएको छ। यस्तै मूल्य पनि ४.९३ प्रतिशतले बढेको छ।
बैंकहरुले ब्याजदर बढाउनु, बजार अझै निकै घट्ने हल्ला चल्नु र लगानीकर्ता बजारमा भन्दा चुनावमा होमिनुले पनि बजारमा लगानीकर्ता घटेको जानकारहरु बताउँछन्।
आज नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट आएको छ। नेप्से १२.८१ अंकले घट्दा परिसूचक १८४५.५१ बिन्दुमा झरेको हो। यस्तै सेन्सेटिभ इन्डेक्स पनि २.६६ अंकले घटेको हो।
सेयर बजारमा प्रभावशाली मानिने वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, माइक्रोफाइनान्स, अन्य उपसमुह अन्तर्गतका अधिकांश कम्पनीको सेयर मूल्य घटेको छ। यस्तै होटल एण्ड टुरिजम् र म्यूचुअल फन्ड उपसमुह सामान्य बढेको छ।
बजारमा दोहोरो अंकको गिरावट आएपनि केही कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। अभियान लघुवित्त, सयपत्री हाइड्रोपावर र सिटिजन म्यूचुअल फन्ड २ को सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो। यो संगै यी कम्पनीका लगानीकर्ताले करिब १० प्रतिशत मुनाफा हात पारेका छन्।
आज दिनभरको कारोबार अवधिमा २१६ कम्पनीको २१ लाख ५१ हजार ७१४ कित्ता सेयर किनबेच हुँदा ६४ करोड ३६ लाख बराबरको मात्र कारोबार भएको छ ।


