काठमाडौं। ७८ मेगावाटको सान्जेन खोला जलविद्युत आयोजनाको विद्युत राष्ट्रिय प्रणालीमा जोड्न प्रसारणलाइन निर्माणको तयारी गरिएको छ।
आयोजनाको प्रवर्द्धक सालासुंगी पावर प्रालिले निर्माण गर्न लागेको हो। प्रसारणलाइन रसुवाको आमाछोदिङमो गाउँपालिका-५ तिलोचेस्थित सान्जेन खोला जलविद्युत आयोजनाको स्वीचयार्डबाट थम्बुचेतस्थित नेपाल विद्युत प्राधिकरणको चिलिमे हब सवस्टेसनसम्म निर्माण हुनेछ। सिंगल सर्किटको यो प्रसारणलाइन ७.५ किमी ७८ मेगावाट विद्युत प्रवाह गर्न सक्छ।
विद्युत विकास विभागले प्रस्तावित प्रसारणलाइन निर्माण तथा संचालन गर्दा कुनै प्रतिकुल असर पर्ने भएमा लिखित राय/सुझाव ३५ दिनभित्र पेश गर्न आग्रह गरिएको छ।
आयोजना निर्माणका लागि १३.५ हेक्टर जमिन आवश्यक पर्नेछ। ०.५५ हेक्टर टावर फाउण्डेसनको लागि स्थायी रुपमा र १२.९४ हेक्टर जग्गा विद्युतमार्गको अधिकार क्षेत्रका लागि अस्थायी रुपमा प्रयोग गरिनेछ।
२०८० असोजमा सम्पन्न गर्ने लक्ष्य छ।


