.jpg)
काठमाडौं। कोल्ड स्टोरेजका साथै मासु प्रशोधन प्लान्ट व्यापार गर्ने बुढाथोकी कोल्ड स्टोरेज प्रालिले एकैवर्ष ७६ करोड ७० लाख रुपैयाँको कारोबार (अपरिष्कृत) गरेको छ।
कम्पनीले २०२१ को तुलनामा २०२२ मा व्यापार ६१ प्रतिशतले वृद्धि गर्न सफल भएको छ। रेटिङ एजेन्सी इक्रा नेपालका अनुसार २०२१/२२ मा कम्पनीले ७६ करोड माथिको व्यापार गरेको छ। २०२१ मा कम्पनीले ४७ करोड ८० लाख रुपैयाँको कारोबार गरेको थियो।
कम्पनीले २०२० मा ५७ करोड ७० लाख, २०१९ मा ६२ करोड ९० लाख र २०१८ मा ६० करोड ३० लाख रुपैयाँको कारोबार गरेको थियो।
कम्पनीले कुखुराको मासु प्रशोधन प्लान्टका साथै जुन २०२२ बाट सुंगुरको मासु (पोर्क) का लागि प्रशोधन युनिट सञ्चालनमा ल्याएको छ।
कम्पनीले कुखुराको मासु बिक्रीबाट ९० प्रतिशतसँग आर्जन गर्दै आएको छ।
कोरोना महामारीका कारण यातायात र हस्पिटालिटी क्षेत्रमा ठूलो धक्का पुगेपछि कम्पनीको व्यापार पनि घटेको थियो। जसका कारण २०२० मा ८ प्रतिशत र २०२१ मा १७ प्रतिशतले कम्पनीको कारोबार घट्न पुगेको थियो। कोरोना सामान्य भएसँग कम्पनीको कारोबारमा उछाल देखिएको छ।
कम्पनीमा वसन्तप्रकाश बुढाथोकीको ५० प्रतिशत, मीना बुढाथोकीको २५ प्रतिशत र बाँकी २५ प्रतिशत तामिब बुढाथोकीको २५ प्रतिशत सेयर स्वामित्व छ।
कम्पनीले ८४ करोड रुपैयाँ बैंकिङ कर्जाका लागि इक्रा नेपालबाट रेटिङ पाएको छ। ४४ करोड ६४ लाख रुपैयाँको दीर्घकालीन कर्जाका लागि एनपी एलबी प्लस र ३९ करोड ३६ लाख रुपैयाँको अल्पकालीन कर्जाका लागि एनपी ए फोर रेटिङ पाएको छ।


