
काठमाडौं। उपभोग गरिरहनु भएको खानेकुरा कतिको स्वस्थकर र गुणस्तरीय छ भनेर तपाइँले कहिल्यै सोच्नुभएको छ? हाम्रो शरीरलाई दिनभर चाहिने ऊर्जा प्रदान गर्ने खाना कहाँबाट आएको हो? कसले-कसरी उब्जाएको हो? तपाईंले कहिले प्रश्न गर्नु भएको छ?
हामीलाई खाद्यवस्तुहरूको भाउबारे चासो हुन्छ तर गुणस्तरबारे खासै वास्ता हुँदैन। कसैले स्वस्थ खानेकुरा किफायती दाममा हामीले अर्डर गरेकै ठाउँमा पुर्याइदिन्छ भने के भन्नुहुन्छ? यस्तो गरिरहेका कम्पनीहरुमध्येको एउटा हो काठमाडौं अर्गानिक्स।
यसले पाँच वर्षदेखि उपत्यकाको बजारमा जुम्ला, डोल्पा जस्ता टाढा जिल्लादेखि काठमाडौंका किसानहरूले उत्पादन गरिरहेका खाद्यवस्तुलाई इ-कमर्सको प्लाटफर्म प्रयोग गरी बजार दिएको छ।
गएको दसैंमा मात्रै यस कम्पनीले ५० वटा खसी तथा च्यांग्रामा क्युआर कोड स्क्यान गरेर खसीको तौल, कहाँ हुर्केको, कुन किसानले हुर्काएको भन्ने सबै जसो जानकारीहरूका साथ बिक्री पनि गर्यो।
कुरा २०१३ तिर को हो। भुवन केसी र उनकी श्रीमती निशा तौजाले टोखा नगरपालिकामा अर्गानिक कृषि फार्म चलाएका थिए। २० रोपनीमा फैलिएको उक्त फर्ममा गोलभेडा, सागसब्जी जस्ता सबै किसिमका मौसमी तरकारीहरू अर्गानिक तरिकाले उत्पादन हुन्थ्यो। तर, अव्यवस्थित बजारले फार्मलाई गति लिन दिएन।
‘उत्पादन राम्रै हुन्थ्यो। हामीले गुणस्तरीय उत्पादन नै निकालिरहेका थियौं। तर बेच्नु परिरहेको थियो कालिमाटीको नै दरमा। हाम्रो बिक्रीबाट हुने आम्दानीभन्दा पनि उत्पादन लागत बढी हुन्थ्यो,’ भुवनले भने। यो समस्या कुनै नौलो समस्या थिएन। वर्षौँदेखि नेपाली किसानहरूको यो समस्या भोग्दै आएका छन्। तर समाधान गर्न भुवन र उनको पत्नी लागि परे।
किसानहरूले अर्गानिक उत्पादन त गरिरहेका छन्। तर उनीहरूलाई उचित मूल्यमा गुणस्तरीय उत्पादन खोज्ने ग्राहकहरू समक्ष पुग्ने प्लाटफर्मको कमी थियो। बजार र वितरण मूल चुनौती थियो। चार वर्ष कृषि फार्ममा खटेका भुवनले यो कुरा राम्ररी बुझेका थिए। त्यसैले भुवन र निशाले किसान/उत्पादकहरू र उपभोगतालाई जोड्ने पुलको रुपमा काम गर्ने निर्णय गरे। र, अर्गानिक खानेकुरा घर-घरमा पुर्याउने निधो गरे।
तर काम कसरी गर्ने ? विभिन्न ठाउँहरूमा पसल खोलेर व्यापार गर्दा निकै महँगो पर्न आउँथ्यो। सटर खोज्न, भाडाको झन्झट पनि हुने। त्यसैले उनीहरूले ई- कमर्स प्लाटफर्म रोजे।
सन् २०१७ ताका परीक्षणका रूपमा काठमाडौं अर्गानिक्सको फेसबुक पेज बनाएर काभ्रेको किवी र कर्णालीका केही खाद्यान्नबाट व्यवसायिक यात्रा सुरु गरे। कर्णालीका खानेकुरा अर्गानिक भए तापनि त्यहाँका उत्पादनले उचित बजार पाएको थिएन। कर्णाली भर्खरै बाटोसँग पनि जोडिएको थियो। त्यसैले पनि कर्णालीको उत्पादन रोजेको भुवन सुनाउँछन्।
सुरुवाती दिनहरू सजिलो थिएन। तर त्यो समयमा आफ्नो परिवारजन र साथीभाईहरूले निकै हौस्याएको भुवन बताउँछन्। अर्गानिक खानेकुराको महत्त्व बुझेका जमात पनि काठमाडौँमा निकै सीमित नै थिए।
आफ्नो ग्राहकहरूको समूह परिवार र चिनजानका परिधि बाहिर लान निशा र भुवनले विषादीयुक्त खाना र मुक्त खाना बीचको फरक बुझाउनतिर लागे।
भुवन भन्छन्, ‘अर्गानिक खानेकुराको फाइदा बुझाउन हामीले काठमाडौँका विभिन्न रेस्टुराँहरूमा प्रदर्शनी समेत गर्याैं। जुम्लाको कागुनोको खिर, कोदोको परिकार, चिनोको सलाद जस्ता खानेकुरा बनाएर चखायौं पनि।’
अप्ठ्याराहरू यति मात्रै कहाँ थियो र ! कर्णाली लगायतका देशका ग्रामीण भेगबाट उत्पादनहरू ढुवानी गर्न पर्ने हुँदा निकै महँगो पर्छ। साथै भण्डारणको पनि निकै समस्या थियो।
‘रसायनयुक्त उत्पादन बाटोमा महिना दिन रोकिँदा पनि बिग्रिदैन। ग्राहकको रोजाइमा पनि त्यही पर्छ। प्रिजर्भेटिभ नभएकाले हाम्रो सामानहरू भने केही दिनमा नै कुहिने, किरा, घुन लाग्ने हुन्छ। जसले गर्दा हामीले ठूलो संख्यामा खानेकुराहरू खेरा पनि गए,’ उनले सुनाए।
चुनौतीहरू पार गर्दै विस्तारै व्यवसायले गति लिँदै थियो। लगत्तै कोरोना महामारीले विश्व नै अस्तव्यस्त बनायो। अधिकांश व्यवसायहरूलाई ठूलो धक्का लग्यो। तर काठमाडौं अर्गानिकलाई भने कोरोना ठूलो व्यवसायिक अवसर भयो।
उनी सम्झन्छन्, ‘होम डेलिभरी त आवश्यकता नै भएको थियो। स्वस्थकर खानेकुराको बारेमा पनि सबै सजग भएका थिए। कोरोना महामारी पछि भने केही हदसम्म स्वास्थ्यप्रति सचेतको जमात बढायो। के खाए जिउलाई तागत मिल्छ, कहाँ पाइन्छ, कसरी खाने भनेर खोज्ने जमात बढे। हामीले दैनिक १५० डेलिभरी गर्थ्यौं।’
काठमाडौं अर्गानिकको ई-कमर्स प्लेटफर्ममा अहिले ५० जिल्लाका ५ हजार किसानले उब्जाएका ६०० अर्गानिक उत्पादन सूचीकृत छन्। जसमा ९० प्रतिशत स्वदेशी र १० प्रतिशत विदेशी उत्पादनहरू छन्। कर्णालीको सिटाकी मसरूम, सिन्धुलीको जुनारदेखि इलामको गाईको घ्यूसम्मका अर्गानिक उत्पादनहरूलाई कम्पनीले ग्राहकसम्म पुर्याइरहेको छ ।
भुवन भन्छन्, ‘सबैभन्दा बढी बिक्री हुने भनेको ग्रोसरी आइटमहरू नै हुन्। लोकल चामल, दाल, घ्यूहरू नै हुन्। पसलमा जस्तो आफैंले छानेर किन्न नपाउने हुँदा हामीले कुहिने खानेकुरामा २४ घण्टा र नकुहिनेमा सात दिनसम्मको रिटर्न पोलिसी राखेका छौं।’
पाँच लाखको लगानीमा सुरु भएको यो कम्पनीले गत वर्ष ३.४ करोड वार्षिक कारोबार गरेको भुवनले जानकारी दिए। गत वर्ष मात्रै कम्पनीले वेयरहाउस पनि स्थापना गरेको छ। ‘सुरू-सुरूका दिनमा ४-५ वटा अर्डर आउन पनि मुस्किल थियो। अहिले हाम्रो पाँच जना डेलिभरी स्टाफले इभी स्कुटरमा हाम्रो उत्पादन घर-घर पुर्याउँछन्। दिनमा ८० डेलिभरी गरिरहेका छौं,' उनले भने।
पाँच वर्षमा हजारौं ग्राहकलाई सेवा दिइसकेको कम्पनीले एक लाखभन्दा बढी डेलिभरी गरेको उनी सुनाउँछन्। अहिले कम्पनीमा ११ जना नियमित कर्मचारी आबद्ध छन्। ६० प्रतिशत ग्राहकहरू त दोहोरिएका नै हुन्छन्।
अर्गानिक फुडलाई सबै नागरिकको पहुँचमा पुर्याउन कम्पनीले काठमाडौंबाहिर पनि विभिन्न ठाउँहरूमा फ्रेन्जाइजी मोडेलमा लाने परिकल्पना गरिरहेको छ। साथै कोदो, फापर आदिको स्वस्थकर फ्रोजन मोमो रेडी टु इट र रेडी टु कुक खानेकुरा बजारमा ल्याउन पनि काम गरिरहेकाे छ। यसबाहेक कम्पनीले अर्गानिक जुस तथा तेल उत्पादन र सामग्री निर्यात गर्ने याेजना ल्याएकाे छ ।
बिक्रेता तथा ग्राहकहरूलाई कम्पनीको सेवा अझै सहज तरिकाले प्रदान गर्न छिट्टै एप पनि लन्च गर्ने तयारी गर्दै छ।
अहिले भने उपभोगता कम्पनीको वेबसाइट, फेसबुक पेज, इन्स्टाग्राम र फोनकल मार्फत अर्डर गर्न सक्छन्। बिक्रेताहरूले भने वेबमा फाराम भरेर गुणस्तर जाँचपछि यस कम्पनीसँग जोडिन सक्छन्।