मेगा बैंकले सञ्चालनमा ल्यायो भू-सेवा केन्द्र, घरजग्गाको रोक्का तथा फुकुवा गर्न सहजता थपिने



बिजमाण्डू
२०७९ कात्तिक ३ गते १७:५० | Oct 20, 2022


मेगा बैंकले सञ्चालनमा ल्यायो भू-सेवा केन्द्र, घरजग्गाको रोक्का तथा फुकुवा गर्न सहजता थपिने



काठमाडौं। मेगा बैंकले आफ्ना ग्राहकलाई सहज रुपमा घर, जग्गा, अपार्टमेन्टको रोक्का तथा फुकुवा कार्य सहज रुपमा उपलब्ध गराउने उद्देश्यले भू-सेवा केन्द्र संचालनमा ल्याएको छ। 

Tata
Global Ime

भूमि व्यवस्था मन्त्रालय अन्तर्गतको भूमि व्यवस्थापन तथा अभिलेख विभागसँगको समन्वयमा भू-सेवा केन्द्र संचालन निर्देशिका, २०७६ तथा भू–सेवा केन्द्र संचालन निर्देशिका (पहिलो संशोधन), २०७८ बमोजिम भू-सेवा केन्द्र सञ्चालनको अनुमति लिएर घर, जग्गाको रोक्का तथा फुकुवा अनलाइनबाट गर्ने काम सुरु गरिएको बैंकले जनाएको छ। 

विभागमा आयोजित एक कार्यकक्रममा भूमि व्यवस्था मन्त्रालयका सचिव रामप्रसाद थपलिया तथा मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहको उपस्थितिमा अनलाइन प्रणालीमार्फत धितो बन्धक रोक्का, रोक्का फुकुवा गर्ने सम्बन्धमा समझदारी पत्रमा हस्ताक्षर भएको छ। समझदारी पत्रमा मेगा बैंकका तर्फबाट का.मु प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ तथा विभागका तर्फबाट महानिर्देशक पिताम्बर घिमिरेले हस्ताक्षर गरेका छन्। 

भू–सेवा केन्द्र संचालनमा आएपछि घर, जग्गाको रोक्का तथा फुकुवाका लागि बैंकको प्रतिनिधि, जग्गाधनी तथा ऋणी सम्बन्धित मालपोत कार्यालयहरुमा उपस्थित नभई बैंककै भू–सेवा केन्द्रमा उपस्थित भएर आवश्यक कागजपत्रहरु अनलाइनमार्फत पेस गरे पुग्ने बैंकले जनाएको छ।

बैंकबाट रोक्का तथा फुकुवा कार्य गर्न सकिने हुँदा बैंक, सेवाग्राही तथा सम्बन्धित मालपोत कार्यालयहरुलाई समेत रोक्का तथा फुकुवा कार्यमा सहजीकरण हुने विश्वास बैंकको छ। यसबाट सेवाग्राही तथा बैंकको समय तथा लागतको समेत बचत भएर समयमा नै बैंकिङ सुविधा उपभोग गर्न सकिने बताइएको छ। मालपोत कार्यलयहरुमा समेत बैंकको रोक्का तथा फुकुवा कार्यका लागि सेवाग्राहीहरुको भीडमा कम हुने विश्वास बैंकको छ। 

मेगा बैंकका अध्यक्ष शाह तथा का.मु. प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बैंकबाट प्रवाह हुने बैंकिङ सेवा सुविधाहरुलाई डिजिटलाइज गर्ने सन्दर्भमा बैंक सदैव अग्रस्थानमा रहेको बताए। बैंक तथा वित्तीय संस्थाहरुमा भू–सेवा केन्द्र संचालनमा ल्याउने मेगा बैंक पहिलो बैंक भएकोले उनीहरुको भनाइ छ।