
काठमाडौं। महाराजगञ्जमा करिब ६ अर्ब लगानीमा अपार्टमेन्ट निर्माण गरिरहेको गुड कर्मा ग्रुप अफ कम्पनिजले ३ अर्ब रुपैयाँ बैंकिङ कर्जाका लागि रेटिङ गराएको छ।
रेटिङ एजेन्सी इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले कम्पनीलाई २ अर्ब रुपैयाँको दीर्घकालीन कर्जा र १ अर्ब रुपेयाँको अल्पकालीन कर्जाका लागि रेटिङ दिएको छ।
दीर्घकालीन कर्जाका लागि आइआरएन बी र अल्पकालीन कर्जाका लागि आइआरएन ए फोर रेटिङ दिएको छ। कम्पनीले गत साउनमा परियोजना घोषणा गर्दा ६ अर्ब लगानीमा १६२ युनिटसहितको अपार्टमेन्ट निर्माण गर्ने जनाएको थियो। तर, रेटिङ विवरणमा भने अनुमानित लागत ४ अर्ब ७९ करोड ९० लाख रुपैयाँ उल्लेख छ। अपार्टमेन्टमा निर्माण हुने युनिट पनि १२८ उल्लेख छ।
कर्मा रेसिडेन्सिज नाम दिइएको सो अपार्टमेन्टमा ६० प्रतिशत बैंकिङ कर्जा र बाँकी ४० प्रतिशत भने इक्विटी लगानी हुने बताइएको छ।
बुकिङ खुलेको एक महिनामै कम्पनीले ४ करोड ७० लाख रुपैयाँ टोकन मनी उठाइसकेको छ।
अपार्टमेन्ट २.५ र ३.५ बेडरुम युनिट बन्दै छन्। करिब १२ रोपनी क्षेत्रफलमा फैलिने अपार्टमेन्टमा भवनले भने ६ रोपनी मात्रै जग्गा ओगट्ने कम्पनीले जनाएको छ।
अबको १५ महिनामा संरचना निर्माणको सकेर बाँकी १८ महिनामा इन्टेरियरको काम सक्ने लक्ष्य कर्मा समूहको छ। अपार्टमेन्ट तीनवटा टावर/भवनको हुनेछ। प्रत्येक टावरमा दुई तला बेसमेन्टमा पार्किङ निर्माण गर्ने र बाँकी १२ तलामा अपार्टमेन्ट युनिटसहित एक तलामा अन्य सुविधागरी १५ तलाको हुने कम्पनीले जनाएको छ।
यो पनि पढ्नुहोस्
महाराजगञ्जमा ६ अर्ब लगानीमा १६२ युनिटसहितको अपार्टमेन्ट बन्दै, मूल्य ४ करोड रुपैयाँदेखि


