
काठमाडौं। भदौमा कनेक्ट आइपीएस, इन्टरनेट/मोबाइल बैंकिङ, वालेट र क्यूआरमा आधारित भुक्तानी बढेको छ। साउनको तुलनामा भदौमा यी मुख्य विद्युतीय कारोबारका माध्यमहरुबाट हुने भुक्तानी बढेको छ।
भदौमा ४ करोड ६१ लाख ४७ हजार २७१ वटा कारोबारबाट ४ खर्ब ८३ अर्ब ५४ करोड ४० लाख रुपैयाँ भुक्तानी भएको राष्ट्र बैंकले जनाएको छ। साउनमा ४ करोड ४१ लाख ९८ हजार ६७५ वटा कारोबारबाट ४ खर्ब ६७ अर्ब ७२ करोड ६० लाख रुपैयाँ भुक्तानी भएको थियो।
साउनको तुलनामा भदौमा कारोबार संख्या १९ लाख ४८ हजार ५६९ ले बढेको छ। भुक्तानी पनि भदौमा १५ अर्ब ८१ करोड ८० लाख रुपैयाँले बढेको देखिन्छ।
भदौमा कनेक्ट आइपीएसबाट ३८ लाख २१ हजार २७७ कारोबारबाट २ खर्ब ९२ अर्ब ५४ करोड ५० लाख रुपैयाँ भुक्तानी भएको छ। साउनमा ३४ लाख ४७ हजार ७५८ वटा कारोबारबाट २ खर्ब ६९ अर्ब १४ करोड रुपैयाँ भुक्तानी भएको थियो।
इन्टरनेट बैंकिङबाट हुने कारोबार र भुक्तानी दुवै घटेको छ। साउनमा २ लाख ९९ हजार ३६३ वटा कारोबार भएकोमा भदौमा घटेर २ लाख ६६ हजार ४३५ मात्रै भएको छ। साउनमा १३ अर्ब ७४ करोड ४० लाख रुपैयाँ इन्टरनेट बैंकिङबाट भुक्तानी भएपनि भदौमा घटेर १२ अर्ब १९ करोड ३० लाख रुपैयाँमा झरेको छ।
मोबाइल बैंकिङबाट हुने कारोबार र भुक्तानी भने बढेको छ। साउनमा २ करोड १८ हजार १५८ वटा कारोबार भएकोमा भदौमा बढेर २ करोड ६ लाख ४८ हजार २६८ पुगेको राष्ट्र बैंकले जनाएको छ। साउनमा मोबाइल बैंकिङ प्रयोग गरेर १ खर्ब ५२ करोड ५६ लाख १० हजार रुपैयाँ कारोबार भएकोमा भदौमा बढेर १ खर्ब ४६ करोड १४ लाख ३० हजार रुपैयाँ पुगेको देखिन्छ।
त्यसैगरी, वालेटबाट हुने कारोबार संख्या पनि बढेको छ। साउनमा १ करोड ५७ लाख ६१ हजार ३४० कारोबार भएकोमा भदौमा १ करोड ६२ लाख ५ हजार ४८७ पुगेको छ। साउनमा १७ अर्ब ४६ करोड ४० लाख रुपैयाँ भुक्तानी भएकोमा भदौमा बढेर १७ अर्ब ६३ करोड ५० लाख रुपैयाँ पुगेको छ।
क्यूआरमा आधारित भुक्तानी पनि बढेको छ। साउनमा ४६ लाख ७२ हजार ५६ कारोबार भएकोमा भदौमा बढेर ५२ लाख ५ हजार ८०४ पुगेको छ। क्यूआर प्रयोग गरी साउनमा १४ अर्ब ८१ करोड १० लाख रुपैयाँ भुक्तानी गरेकोमा भदौमा १५ अर्ब २ करोड ८० लाख रुपैयाँ पुगेको राष्ट्र बैंकले जनाएको छ।