सवारी निर्माता कम्पनीहरु इलेक्ट्रिक गाडीका मोडेल थरी-थरीका बनाउँदै, आक्रामक तवरले बढ्दै लगानी



बिजमाण्डू
२०७९ कात्तिक ४ गते १७:१० | Oct 21, 2022


सवारी निर्माता कम्पनीहरु इलेक्ट्रिक गाडीका मोडेल थरी-थरीका बनाउँदै, आक्रामक तवरले बढ्दै लगानी


काठमाडौं। संसारभर सवारी उत्पादक अग्रणी कम्पनीहरुको ध्यान विद्युतीय गाडीमा छ। कस्तो मोडल ल्याउने, के-के सुविधा थप्ने, अरुभन्दा सजिलै बजारमा कसरी पकड बनाउने होडबाजीले अटोमेकरहरु लगातार लगानी थपिरहेका छन्।

Tata
Global Ime

इभीको बजार विस्तारमा आक्रामक देखिएका सवारी निर्माताका कारण अबको एक दशकपछि संसारभर सडकमा विद्युतीय गाडीको संख्या उल्लेख्य हुने संकेत देखापरिसकेको छ। इलेक्ट्रिक गाडीका लागि सबैभन्दा महत्त्वपूर्ण हो ब्याट्री। टिकाउ ब्याट्री उत्पादनमा लगातार अनुसन्धानहरु भइरहेका छन्। (एजेन्सीहरुको सहयोगमा)

यसका लागि विश्व अटोमेकरहरुले २०३० सम्ममा इभीका लागि ब्याट्री उत्पादन गर्न दोब्बर १.२ ट्रिलियन खर्च गर्ने भएका छन्। एक रिपोर्टका अनुसार विश्वका शीर्ष अटोमेकरहरूले २०३० सम्म करिब १.२ ट्रिलियन खर्च गर्ने योजना बनाइरहेका छन्।

यसले विद्युतीय सवारीका लागि आवश्यक ब्याट्री उत्पादन र कच्चा पदार्थहरूसहित लाखौं इलेक्ट्रिक सवारीहरू विकास गर्ने योजना बनाएका हुन। ती कम्पनीहरूद्वारा सार्वजनिक गरिएका डाटा र अनुमानहरूको रोयटर्सले विश्लेषण गरेको छ।

इभीको लगानीमा एक वर्ष अघि प्रकाशित डाटाभन्दा हालको दुई गुणा बढी हो। यो लगानी भनेको झन्डै तीन ठुला गुगल र वेमोको मूल कम्पनी अल्फाबेटको बजार पूँजी जति छ।

अटोमेकरहरूले २०३० मा ५ करोड ४० लाख युनिट ब्याट्रीसहित इलेक्ट्रिक सवारीहरू निर्माण गर्ने अनुमान गरेका छन्। उक्त रिपोर्टका अनुसार कुल सवारी उत्पादनको ५० प्रतिशतभन्दा बढी प्रतिनिधित्व गर्दछ।

बेन्चमार्क मिनरल इन्टेलिजेन्स र उत्पादकहरूको तथ्यांक अनुसार इभीको अभूतपूर्व स्तरलाई समर्थन गर्न कार निर्माताहरू र तिनीहरूका ब्याट्री साझेदारहरूले २०३० सम्म ब्याट्री उत्पादन क्षमताको ५.८ टेरावाट-घण्टा स्थापना गर्ने योजना बनाइरहेका छन्।

यस्ता छन् ब्याट्रीका लागि योजनाहरु

हाल इभीको नेतृत्व गर्ने टेस्ला हो। जहाँ प्रमुख कार्यकारी एलोन मस्कले २०३० मा २ करोड इभीहरू निर्माण गर्ने योजनाको रूपरेखा प्रस्तुत गरेका छन्। जसमा अनुमानित ३ टेरावाट-घण्टा ब्याट्रीहरू चाहिन्छ। यसको मतलब टेस्लालाई मात्र अब २ करोड युनिट ब्याट्री आवश्यक पर्दछ।

जर्मनीको फक्सवागनले टेस्लालाई पछि पार्दै दशकको अन्त्यसम्म महत्वाकांक्षी योजनाहरू राखेको छ। जसले आफ्नो विश्वव्यापी इभी पोर्टफोलियो निर्माण गर्न युरोप र उत्तरी अमेरिकामा नयाँ ब्याट्री 'गीगाफ्याक्ट्रीहरू' थप्ने र प्रमुख कच्चा पदार्थको आपूर्ति निश्चित गर्न १ खर्ब डलरभन्दा बढी लगानी गर्दै छ।

जापानको टोयोटा मोटर कर्पोरेशनले सवारी साधनलाई विद्युतीकरण गर्न र थप ब्याट्री उत्पादन गर्न ७० अर्ब डलर लगानी गरिरहेको छ। कम्पनीले २०३० मा कम्तिमा ३५ लाख ब्याट्री इलेक्ट्रिक मोडेल बेच्ने अपेक्षा गरेको छ। यसले कम्तीमा ३० वटा विभिन्न इभी योजना बनाएको छ। सम्पूर्ण लेक्सस कारलाई ब्याट्रीमा परिवर्तन गर्ने अपेक्षा गरेको छ।

यसैगरी फोर्ड मोटर कोले नयाँ इभीमा आफ्नो लगानी बढाइरहेको छ। कम्पनीले हाल विद्यूतीय सवारी र ब्याट्रीका लागि ५० अर्ब लगानी गर्ने योजना बनाएको छ। कम्पनीले २०३० मा लगभग ३० लाख युनिट इभी उत्पादन गर्ने लक्ष्य राखेको छ।

मर्सिडीज-बेन्जले इभी विकास र उत्पादनको लागि कम्तिमा ४७ अर्ब डलर छुट्याएको छ। जसले लगभग दुई तिहाइ साझेदारहरूसँग यसको विश्वव्यापी ब्याट्री क्षमता २०० गिगावाट-घण्टा भन्दा बढिमा बढाउनका लागि खर्च हुनेछ।

यस्तै बीएमडब्ल्यु, स्टेल्यान्टिस र जेनरल मोटर्स प्रत्येकले इभी र ब्याट्रीहरूमा कम्तिमा ३५ अर्ब डलर खर्च गर्ने योजना बनाएका छन्।

नेपालमा कस्तो होला असर ?

विद्युतीय गाडीहरु नेपालमा बिक्री र प्रयोग क्रमिक बढिरहेको छ। संसारभर पेट्रोल-डिजल इन्जिन गाडीको उत्पादन घट्दा नेपाल त्यसबाट फरक रहन सक्दैन। त्यसैले भविष्यमा इभीको प्रयोग व्यापाक हुने अनुमान अहिलेकै बजारलाई हेरेर गर्न सकिन्छ। 

नेपालमा टाटा, एमजी, हुन्डाइ, किया, महिन्द्रा, बीवाइडीका गाडीहरु अहिले नै सडकमा बढ्ने क्रम सुरु भइसकेको छ। विस्तारै सार्वजनिक यातायातमा विद्युतीय बस प्रयोगको सम्भावना पनि फराकिलो छ। साझा यातायातले यसको बाटो खोलेको छ। तर उपत्यकाभित्र इभी प्रयोग जति सहज छ, बाहिर सजिलो भइसकेको छैन।

नेपालको अप्ठ्यारो बाटोमा चार्जरको सहजता हुन अझै केही समय लाग्न सक्छ। चार्जिङ प्वाइन्टका योजना सवारी बिक्रेतासँगै नेपाल विद्युत प्राधिकरणले पनि अघि सारेको छ। चार्जिङ सहज हुनेबित्तिकै इभीको प्रयोग व्यापक रुपमा हुन सक्छ। नेपाली सवारी प्रयोगकर्ताहरु इभीको पर्फर्मेन्सबाट अझै सन्तुष्ट निकै कम छन्। कारण लामो यात्रामा चार्जिङ असुविधा हुने भय मात्रै होइन मूल्य उच्च छ। 

चार्जिङ प्वाइन्ट विस्तारसँगै इभीको मूल्य सस्तिएर आएका खण्डमा सवारी प्रयोगकर्ताहरु डिजल-पेट्रोल इन्जिन छाडेर विद्युतीयमा फड्को मार्ने क्रम बढ्ने व्यवसायीहरु बताउँछन्।