
काठमाडौं। जथाभावी फोहोर फाल्नेहरुलाई जरिवाना गरेर काठमाडौं महानगरपालिकाले ३ महिनामा ४ लाख ५ सय रुपैयाँ संकलन गरेको छ।
महानगरको वातावरण तथा कृषि विभागले अनुगमनका क्रममा साउनमा १ लाख ५२ हजार ५ सय, भदौमा ९९ हजार ५ सय र असोजमा १ लाख ४८ हजार ५ सय रुपैयाँ संकलन गरेको नगर प्रहरीका नायव उपरीक्षक पूर्णचन्द्र भट्टले बताए।
उनका अनुसार फोहोरको मात्रा र प्रकृतिअनुसार कम्तीमा १ हजारदेखि बढीमा २५ हजार रुपैयाँसम्म जरिवाना तोक्ने गरिएको छ। 'जरिवाना तोकेपछि कतिपय व्यक्तिले गल्ती महसुस गरेर जरिवाना तिर्नुहुन्छ भने कति व्यक्तिहरु जरिवाना तिर्नु नपर्ने अडान लिनुहुन्छ,' भट्टले भने,‘जानेर पनि नजानेजस्तो गरेर फोहोर फाल्न आउने पनि भेटिन्छन्। कतिपयले फोहोर फाल्न अरुलाई प्रयोग गरेका छन्। कतिपय विद्यार्थीहरुले फोहोर व्यवस्थापनको आफूसँग विकल्प नभएपछि बाहिर आउनु परेको बताउने गरेका छन्।’
भट्टका अनुसार फोहोर फ्याक्नका कतिले हातमा बोकेर थोरै मात्रा लिएर आउने गरेका छन् भने कतिले सवारीसाधनको प्रयोग गरेरै आउने गरेका छन्। महानगरपालिकाले रातको समयमा सडक तथा नदी किनाराजस्ता सार्वजनिक स्थलमा फोहोर फाल्न आउनेहरुलाई पक्राउ गरी जरिवाना गर्ने सुरु गरेको हो। त्यसका लागि नगर प्रहरी र कर्मचारीको अनुगमन टोली हरेक दिन बेलुकाबाटै खटिने गरेको छ। दैनिक ५ जनाको टोली खटिन्छ।
महानगरले फोहोर फालेका कारण कारवाही गर्नु पर्ने अवस्था नआओस् भन्ने चाहेको बताउदै आएको छ। घरमा कुहिने र नकुहिने फोहोर छुट्याएर राख्ने र तोकिएका व्यक्ति तथा सवारी आएपछि मात्र बाहिर निकाल्न महानगरपालिकाले अनुरोध गर्दै आएको छ। यसरी गरिएको अनुरोधलाई नटेर्नेमाथि कारबाही गर्न टोली नै बनाएर अनुगमन थालेको हो।