राष्ट्र बैंकको नीतिले राजस्व प्रभावित हुन थाल्यो, चाडबाडमा समेत पोहोरजति उठेन राजस्व



२०७९ कात्तिक ९ गते १०:२५ | Oct 26, 2022


राष्ट्र बैंकको नीतिले राजस्व प्रभावित हुन थाल्यो, चाडबाडमा समेत पोहोरजति उठेन राजस्व


विराटनगर। नेपाल राष्ट्र बैंकले भारतबाट आउने व्यापारिक मालवस्तुमा एलसी (प्रतितपत्र) र नगद मार्जिनको अनिवार्य व्यवस्था गरेपछि आयात र राजस्व दुबैमा ह्रास आएको छ।

Tata
Global Ime

पूर्वको मुख्य नाका विराटनगर भन्सार कार्यालयले आयात घटेसँगै राजस्वसमेत प्रभावित भएको जनाएको हो।

हरेक वर्ष चाडबाडका लागि भदौ र असोज महिना उच्च आयातका समय मानिन्थे। तर गत आवका तुलनामा चालु आर्थिक वर्षका दुबै महिनामा आयात घटेको छ।

कार्यालयले उपलब्ध गराएको तथ्याङ्कअनुसार चालु आवको पहिलो त्रैमासिक अवधिमा लक्ष्यका तुलनामा ६६ प्रतिशत मात्र असुली हुन सकेको छ।
कार्यालयलाई पहिलो त्रैमासिक अवधिमा १३ अर्ब ४७ करोड ७२ लाख सङ्कलन गर्ने लक्ष्य दिइएको थियो। जसमा ८ अर्ब ८४ करोड ८४ लाख मात्र सङ्कलन भएको छ।

कार्यालयले भन्सार महसुलतर्फ ५ अर्ब ६८ करोड ५६ लाखका लक्ष्यमा ३ अर्ब ३० करोड ३२ लाख, मूअकरको ६ अर्ब ३४ करोड ५२ लाखका लक्ष्यमा ४ अर्ब ७२ करोड ३१ लख र अन्तःशुल्कको ८६ करोड ४२ लाखका लक्ष्यमा ५३ करोड २८ लाख मात्र असुल गरेको छ।

कार्यालयले गत आवको पहिलो त्रैमासिक अवधिमा ११ अर्ब ७२ करोड ४७ लाखका लक्ष्यमा ११ अर्ब १ करोड ११ लाख असुल गरेर लक्ष्यको नजिक प्रगति गरेको थियो।

कार्यालयका सूचना अधिकारी रामचन्द्र ढुङ्गानाका अनुसार यस नाकाबाट गत आवको साउनका तुलनामा चालु आवको साउन महिनामा ११ प्रतिशतले आयात घटेको छ।

गत आवको साउनमा १८ अर्ब ४० करोडको आयात हुँदा चालु आवको साउनमा १६ अर्ब ३५ करोडको मात्र भएको छ। त्यस्तै गत आवको भदौका तुलनामा चालु आवको भदौमा पनि ११ प्रतिशतले नै आयात घटेको छ। गत आवको भदौमा १९ अर्ब ८० करोडको आयात हुँदा चालु आवको भदौमा १७ अर्ब ५७ करोडको आयात भएको छ।

असोज महिनाको आयात झन् बढी २६ प्रतिशतले घटेको छ। गत आवको असोज महिनामा २० अर्बको आयात हुँदा चालु आवको असोजमा १४ अर्ब ८६ करोडको आयात भएको छ।

गत आवको पहिलो त्रैमासिक अवधिका तुलनामा चालु आवको सोही अवधिमा आयातका लागि आउने मालवाहक गाडीको सङ्ख्या पनि घटेको पाइएको छ।

गत आवको साउनमा यस नाकामा आयातका मालवस्तु बोकेर ७ हजार २ सय गाडी आएकोमा चालु आवको साउनमा ३० प्रतिशतले कम भई ५ हजार २ सय गाडी आएका छन्। त्यस्तै गत आवको भदौमा ७ हजार ३ सय मालवाहक गाडी आएकोमा चालु आवको भदौमा २० प्रतिशतले कम ५ हजार ८ सय मात्र आएको तथ्याङ्क छ।

असोज महिनामा पनि गत आवको असोजका तुलनामा २० प्रतिशत कमले नै मालवाहक गाडी आएको भन्सारको भनाइ छ। गत आवको असोज महिनामा यस नाकामा ७ हजार ३ सय मालवाहक गाडी आएकोमा चालु आवको असोज महिनामा ५ हजार ६ सय वटा मात्र आएका छन्।

विराटनगर भन्सार एजेन्ट सङ्घका अध्यक्ष देवकी शर्माले आयातमा राष्ट्र बैङ्कको एलसी र नगद मार्जिनको अनिवार्य व्यवस्थाले अनौपचारिक व्यापार वृद्धि हुँदा औपचारिक आयात र राजस्व दुबै घटेको दाबी गरे।

अध्यक्ष शर्माले भने, ‘प्रहरी–प्रशासन र भन्सार कार्यालयले विराटनगर–जोगबनीको मुख्य यात्रु शाखामा मात्र कडाइ गरेका छन्। यसले गदौ अन्यत्रका नाकाबाट अनधिकृत आयात मौलाएको छ। यसको असर राजस्व र अधिकृत आयात दुबैमा परेको हो।’

शर्माका अनुसार नेपालका व्यवसायी भारतका व्यवसायीसित ६ महिनासम्मको उधारोमा आयात गरिरहेका थिए। तर गत वर्षको माघमा राष्ट्र बैङ्कले लिएको नीतिका कारण उधारोमा गरिने आयात बन्द भएको छ। अब आयातमा एलसी र नगद मार्जिन अनिवार्य भएको छ। यसले गर्दा भारतसितको आयात–व्यापार घटेको हो। बैङ्किङ नीतिमा सुधार हुनेबित्तिकै आधिकारिक आयात र राजस्व दुबैमा वृद्धि हुन्छ।