काठमाडौं। सोल्टी होटलको व्यवस्थापन रहने इटहरीको 'सोल्टी वेस्टेण्ड इटहरी' मंसिरदेखि सञ्चालनमा आउने भएको छ। सोल्टीले आक्रामक रुपमा सेवा विस्तार गर्दै यो होटलको व्यवस्थापन लिएर संचालनमा ल्याउन लागेको हो।
हाल रेनोभेसनको काम अन्तिम चरणमा रहेको सोल्टी होटलका उपाध्यक्ष सुदर्शन चापागाईँले बताए।
'हाम्रो स्तर अनुसार रेनोभेसनका लागि धेरै समय लाग्यो। मंसिरबाट होटल सञ्चालनमा ल्याउने योजना छ। मिति टुंगो गर्न बाँकी छ,' उनले भने,'अहिले रेनोभेशनको काम अन्तिम चरणमा छ।'
भारतीय र आन्तरिक पर्यटकलाई केन्द्रित गर्दै सुनसरीको इटहरीमा रहेको गरिमा होटललाई आफ्नो व्यवस्थापनमा संचालनमा ल्याउन लागिएको उनले जानकरी दिए।
उनका अनुसार होटलमा क्यासिनो पनि चलाइने छ।
सात वर्ष अघि निर्माण सुरु गरिएको होटल भूकम्प, नाकाबन्दी, कोभिड लगायत विभिन्न कारणले संचालनमा आउन ढिला भएको थियो।
कुल एक बिघा क्षेत्रफलमा रहेको होटलको डिजाइन भारतीय इन्जिनियरिङ कन्सल्टेन्सीले गरेको हो। होटलमा कुल ९० वटा कोठा छ। एउटा प्रेसिडेन्सियल सुइट, आठवटा सुइट रुम, १२ वटा एक्जुक्युटिभ रुम, २२ वटा डिलक्स रुम र ४७ वटा स्ट्यान्डर्ड रुम समावेश गरिएको छ।
होटलमा दुईवटा ब्यांकेट, तीनवटा सेमिनार हल, स्पा, जिम, रेष्टुरेन्ट, लाउन्ज लगायत विभिन्न सुविधा रहेको जनाइएको छ।
बिजनेस लक्जरी र ट्रान्जिट होटलको रुपमा संचालनमा ल्याउन लागिएको होटलले आन्तरिक र बाह्य दुवै किसिमको पर्यटकको माग अनुसारको सेवा दिने जनाइएको छ।
होटलमा तीनवटा रेस्टुरेन्ट हुनेछन्, जसमध्ये ४० जना अटाउने एक रुफ टप रेस्टुरेन्ट छ। अर्को फाइन डाइनिङमा सयजना सजिलै बस्न सक्छन्। तेस्रो ४० जनाको क्षमताको क्याफे एन्ड बेकरी छ । त्यस्तै एक हजार क्षमताको एक र ७ सय क्षमताको एक गरी दुई वटा ब्यांक्वेट हल छन्।
होटलमा स्विमिङ पुल, हेल्थ क्लब, स्पा लगायतका सुविधा रहने जनाइएको छ।
सोल्टीले आफ्नो व्यवस्थापनमा यस अघि गत असोज ३० गते पटिहानी रिसोर्ट संचालनमा ल्याइसकेको छ।


