विराटनगर। नेपालमा सिमेन्ट र इटा लगायतका उद्योगका लागि अत्यावश्यक इन्धन मानिएको कोइलाको मूल्य मनसुनको समाप्तिसँगै आकासिन थालेको छ।
नेपालका सिमेन्ट उद्योगलाई कोलकाताबाट कोइला आपूर्ति गरिरहेका व्यवसायीले कोइलाको मूल्य आकासिन थालेको जानकारी दिएका हुन्।
महँगो कोइलाकै कारण मधेस प्रदेशका कतिपय इटा उद्योगहरू बन्द भएका छन्। त्यस्तै शिवम्, मारुती, घोराही, अर्घाखाँची लगायतका ठुला सिमेन्ट उद्योगहरूको नाफा पनि महँगो कोइलाले घटेको छ।
मारुती सिमेन्टका अनुज राठीले अघिल्लो आर्थिक वर्षका तुलनामा गत आर्थिक वर्षको मारुतीको ब्यालेन्स सिटमा कोइलाको मूल्यले ठूलो असर पारेको बताए।
‘अहिले धेरै उत्पादन गरेर धेरै नोक्सानीमा जानुभन्दा कम उत्पादन गरेर कम घाटामा बस्नसक्नु नै मुख्य जुक्ति भएको छ। उद्योग बचाउने उपाय यही छ,’ उनले भने।
कोलकाताका कोइला आपूर्तिकर्ता राघव चक्रवर्तीका अनुसार मनसुनका कारण १ महिनाअघिसम्म कोइलाको मूल्य स्थिर थियो। तर मनसुन सकिएसँगै युरोप र चीनमा जाडो बढ्न थालेको छ र ती देशमा कोइलाको माग अत्यधिक हुन थालेको छ। यसले गर्दा भारत र नेपालजस्ता देशका व्यवसायीले भनेका समयमा भनेजति कोइला पाउन छाडेका छन्।
व्यवसायी चक्रवर्तीले आफूले डिसेम्बर अन्तिमका लायि अस्ट्रेलियाको कोइला मगाइरहेको भए पनि पाउन नसकेको जानकारी दिए।
‘कोभिडकालमा पानीजहाजका कम्पनीले कार्टेलिङ गरेर ५ गुनाभन्दा बढी भाडा बढाए,’ बिजमाण्डूसित चक्रवर्तीले भने, ‘कोभिड कालपूर्व हामी इन्डोनेसियाको कोइला कोलकाता बन्दरगाहसम्म ल्याउँदा एक जहाजलाई ८ सय डलर तिर्थ्यौं। कोभिडकालमा ४ हजार ४५ सय डलर बनाइयो।
अहिले पनि ४ देखि ५ हजार डलर पर्छ। त्यस्तै कोइला खानिहरूले पनि कोभिड कालमा कार्टेलिङ गरेर मूल्यवृद्धि गरे। अहिले पहिलेको जस्तो स्वास्थ्यसङ्कट छैन। तर जहाजकम्पनी र खानि दुबैले भाउ घटाउन मानिरहेका छैनन्। एक पटक बानी लागेपछि छोड्न मुस्किल पर्दोरहेछ।’
उनले बढ्दो महँगी र आर्थिक मन्दीका कारण नेपालका सिमेन्ट उद्योगले पनि एक वर्षयता ठूलो मात्रामा उत्पादनमा कटौती गरेको बताए।
‘उत्पादनमा सबै उद्योगले ६० देखि ७० प्रतिशत कटौती गरेका छन्’, उनको भनाइ थियो, ‘पहिले ८ हजार टन कोइला माग्ने उद्योगले एक वर्षयता २ हजार टन माग्न थालेका छन्। किन यति थोरै भनेर सोद्धा बजारमा सिमेन्टको माग पनि छैन र बैङ्कले लगानी पनि गर्दैन भन्ने उत्तर आउँछ।’
चक्रवर्तीका अनुसार अमेरिका कोइलाको मुख्य पैठारीकर्तामध्ये एक हो। तर नेपाल र भारतजस्ता देशका लागि अब अमेरिकाको कोइला पाउन सकिन्न। अमेरिकाको कोइला उत्तर अमेरिका र युरोपमा गइरहेको छ। अमेरिकाको कोइला पाइहालियो भने पनि प्रति टन सिआईएफ कोलकाताको मूल्य ३२० डलरभन्दा माथि पर्छ।
अस्ट्रेलियाको कोइला ३ हप्ताअघिसम्म प्रति टन सीआईएफ कोलाकाताको १७० देखि १८५ डलरमा पाइँदै थियो। तर त्यहाँका व्यवसायी अहिले कम्तीमा २७० डलर भन्न थालेका छन्।
अस्ट्रेलियन व्यवसायीहरू न्यून गुणस्तरको कोइला जति पनि दिन तयार छन्। राम्रो मूल्य पाएका कारण उनीहरू युरोपमा राम्रो गुणस्तरको कोइला आपूर्ति गर्न पल्किएका छन्।
भारतीय कोइलाको मूल्य डेढ वर्षअघि सम्म प्रति टन सीआईएफ रक्सौलको भारु १० देखि १२ हजार थियो। अहिले भारु २० हजार पुगिसकेको छ। गत बर्खा महिनामा भारु साढे १५ देखि १७ हजारमा कारोबार भएको थियो। तर हिउँद सुरु भएलगत्तै २० हजार पुगिसकेको छ।
भारतमा मेघालयमा कोइलाको उत्खननमा प्रतिबन्ध छ। अहिलेका लागि भारतको राम्रो कोइला भनेको पश्चिम बंगालमा पर्ने रानीगञ्जको कोइला हो।
‘इन्डोनेसियाको कोइला हाम्रा लागि केही सहुलियत पर्छ तर त्यहाँका व्यवसायीले भारतमा कोइला आपूर्ति गर्न मानिरहेका छैनन्,’ व्यवसायी राघवको भनाइ थियो, ‘अहिले कोइलाका सबै कारोबारीको ध्यान युरोप र चीनतिरै छ। किनकि त्यहाँ जति भन्यो त्यति मूल्य पाइरहेका छन्।’
उनका अनुसार डेढ वर्षअघिसम्म इन्डोनेसियाको कोइला कोलकाता बन्दरगाहसम्म टनको १२० डलरमा आइरहेको थियो। एक महिनाअघिसम्म २०० डलरमा कारोबार भइरहेको थियो। अहिले २२५ डलर दिन्छु भन्दा पनि मानिरहेका छैनन्।
चक्रवर्तीले सुनाए, ‘यसरी अहिले हामीले धेरै मेहनतपछि पाउनसक्ने भनेको अस्ट्रेलियन कोइला नै हो। डेढ वर्षअघि हामी यसको मूल्य टनको १०० डलर तिरिरहेका थियौँ। अहिले २७० पुर्याएका छन्।’