वीरगंज। यो वर्ष पनि दसैं, तिहार र छठ जस्ता चाडबाडको समयमा वीरगंजको बजार सुनसान देखिएको छ। केही वर्षदेखि लगातार व्यापार घटिरहेको वीरगंजको रौनक यस वर्ष पनि फर्किएन।
एक महिनादेखि भारतीय सीमावर्ती बजार रक्सौलमा भीडभाड बढ्दा वीरगंजमा व्यापारीहरु ग्राहक कुर्दै बसेका भेटिए।
नेपाली बजारभन्दा सस्तोमा भारतीय सीमावर्ती बजारमा सामान पाइने भएकाले चाडपर्वका बेला पारि नै किनमेल गर्न जाने नेपालीको घुइँचो लाग्छ। रक्सौलका व्यवसायीका अनुसार रक्सौलबाट दैनिक १५ करोडभन्दा बढीका बिभिन्न सामान वीरगंज नाका भएर भित्रिन्छ। चाडबाडको समयमा यो अझ बढी हुने गरेको छ।
रक्सौलमा किनमेलन गर्न जाने ग्राहकमा पर्सा, बारा, रौतहट, मकवानपुर, चितवन, काठमाडौंबाट जानेहरु समेत हुन्छन्। चाडपर्वमा लत्ताकपडा, खद्यान्न, पटका, विद्युतीय सामाग्रीहरु, जुत्ता-चप्पललगायतका सामान किन्न नेपालीहरु भारतीय बजार जाने गरेका छन्। नेपाली बजारभन्दा ३० प्रतिशत सस्तोमा पाउने भएकोले उनीहरु रक्सौल बजार जाने गरेका बताउँछन्।
रक्सौलको अग्रवाल सन्सका सञ्चालक नेपालमा आयात भन्सार महसुलको कारण अधिकांश सामान महंगो भएकाले नेपालीहरु किनमेलका लागि भारतीय बजार आउने गरेको बताउँछन्।
अहिले नेपालमा विभिन्न सामानमा लगाइएको आयात प्रतिबन्धको कारण पनि वैधानिकभन्दा अवैधानिक रुटबाट करोडौंको सामान भारतबाट नेपाल गइरहेको उनको भनाइ छ।
वीरगंजका व्यवसायीले व्यापारको अवस्था यस्तै रहे छठपछि घरभाडा लगायतका खर्च धान्न नसकेर वीरगंजका दर्जनौं दोकान बन्द हुने अवस्था आउने बताएका छन्।
.jpg)
पहिलेदेखि नेपालमाभन्दा भारतमा सस्तो सामान पाइन्छ भन्ने मानसिकता उपभोक्तामा रहेकाले पनि रक्सौल रुचाइने वीरगंजका व्यवसायीको भनाइ छ। वीरगंज आदर्शनगरका फन एण्ड फनका सञ्चालक वृजेश अग्रवाल भने भारतमा भन्दा चिनी, कपडा र काजु बाहेक अन्य सबै सामान नेपालमा सस्तोमै पाइने दाबी गर्छन्।
उनले यसवर्ष पर्वमा ग्राहकको भीडभाड वीरगंजमा नभएको कारण आफूहरुले फुर्सदिलो भएर समय कटाएको बताउँछन्। भारतीय बजारमा नेपाली ग्राहकलाई बट्टाको नाममा ठग्ने प्रवृत्ति रहेको उनको भनाइ छ।
महावीर मन्दिरस्थित विशाल कलेक्सनका कपडा व्यवसायी मुन्ना सर्राफ पनि छठपछि व्यवसायको अवस्था अझ बढी नाजुक हुने बताउँछन्।
'पहिले चाडपर्वमा दैनिक ५० हजार रुपैयाँसम्मको बिक्री हुन्थ्यो। अहिले मुस्किलले १० हजारको सामान पनि बित्दैन,' उनले भने।
.jpg)
सुनचाँदीको कारोबार पनि पोहोर परार जस्तो नभएको व्यवसायीहरुले बताएका छन् ।
शंकर ज्वेलर्स रानीघाटका सञ्चालक बिक्की सर्राफले वीरगंजका सुनचाँदी व्यवसायीले मासिक आधा किलो मात्र सुन पाइरहेकाले त्यसले मागलाई धान्न नसकेको बताए ।
'व्यवसायीलाई सुन पाइरहेको छैन, सुनको कारोबार ठप्प छ, चाँदीको कारोबार बढी छ,' उनले भने।
इलेक्ट्रोनिक्स सामान बेच्ने आरके इम्पोरियमका संचालक हर्ष अग्रवालले पहिले चाडपर्वमा ५० वटा फ्रिज, टीभी, कुलर, वासिङ मेसिन लगायतका सामान बिक्री हुदाँ यसपाली दैनिक ४/५ वटा मात्रै बिक्री भएको बताए।
उनी भन्छन् 'बैंक र बजार दुवै ठाउँमा पैसा छैन। अझ बैंकको कडाइका कारण नेपाली बजार थप धराशायी बन्दै गएको छ।'


