काठमाडौं। ट्वीटरले भेरिफिकेसन अर्थात नीलो संकेत चिह्न पाउने प्रक्रिया परिवर्तन गर्ने भएको छ। केही दिन अघि मात्रै संसारका धनाढ्य व्यक्ति इलन मस्कको स्वामित्वमा आएको उक्त सोसल मिडिया प्लाटफर्मले अब शुल्क लिएर मात्रै भेरिफिकेसन गर्नेबारे छलफल चलिरहेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन्।
यसबारे निर्णय नभइसकेपनि मस्कले आइतबार एक युजरको ट्वीटरमा प्रतिक्रिया दिँदै भेरिफिकेसन प्रक्रिया अब पूर्णरुपमा परिवर्तन हुने ट्वीट गरेपछि यो विषय चर्चामा आएको हो।
यसबारे विस्तृतमा केही उल्लेख नगरी उनले अहिले पुरा भेरिफिकेसन प्रक्रिया नै परिवर्तन भइरहेको ट्वीट गरेका थिए।
प्याटफर्मरको एक रिपोर्ट अनुसार ट्वीटरले प्रयोगकर्ताको अकाउन्ट भेरिफाइ गर्न साथै भेरिफाइड भइसकेपछि पनि निश्चित शुल्क तिर्न पर्ने व्यवस्था गर्न लागेको छ ।
सो रिपोर्ट अनुसार यो प्रोजेक्ट अघि बढ्यो भने प्रयोगकर्ताहरूले आफ्नो नीलो संकेत चिह्न (ब्लु टिक मार्क) बनाइराख्न प्रति महिना ४.९९ अमेरिकी डलर तिर्नुपर्ने हुन्छ। यसबारे मस्कले अझै अन्तिम निर्णय भने लिइनसकेको सो रिपोर्टमा उल्लेख छ।
द भर्जले गरेको रिपोर्ट अनुसार ट्वीटर अकाउन्ट भेरिफाइ गर्न मासिक ४.९९ अमेरिकी डलरदेखि १९.९९ अमेरिकी डलर तिर्नुपर्ने हुन्छ। भेरिफाइड भएको ब्लु टिक मार्क लिइराख्ने या नलिने भनेर निर्णय गर्न प्रयोगकर्ताहरूलाई ९० दिनको समय सीमा दिइने छ।
उक्त प्लाटफर्मले आफ्नो पहिलो सब्स्क्रिप्सन सेवाको रुपमा ट्वीटर ब्लु गत वर्ष जुनमा लञ्च गरेको थियो।