व्यवस्थापकीय जिम्मेवारी खोसेपछि मस्कले ट्‍वीटरको निर्देशक बोर्ड पनि हटाए, बने ‘एकल निर्देशक’



बिजमाण्डू
२०७९ कात्तिक १५ गते ११:०६ | Nov 1, 2022


व्यवस्थापकीय जिम्मेवारी खोसेपछि मस्कले ट्‍वीटरको निर्देशक बोर्ड पनि हटाए, बने ‘एकल निर्देशक’


काठमाडौं। इलन मस्कले ट्‍वीटरको निर्देशक बोर्डलाई बर्खास्त गरेका छन्। यससँगै उनले ट्‍वीटरलाई पूर्ण रुपमा आफ्नो नियन्त्रणमा लिएका छन्।

Tata
Global Ime

सोमबार अमेरिकी सेक्युरिटीज एण्ड एक्सचेन्ज कमिसन (एसइसी) मा दायर गरिएको कागजातहरूका अनुसार गत हप्ता कम्पनीको ४४ अर्ब डलर टेकओभरलाई अन्तिम रूप दिएपछि मस्क ट्‍वीटरको ‘एकल निर्देशक’ बनेका हुन्। टेस्लाका सीइओ समेत रहेका मस्कले सोमबार ट्‍वीट गर्दै यो ‘अस्थायी’ हुने बताएका छन्।

स्पेसफ्लाइट कम्पनी स्पेसएक्स र न्यूरोटेक्नोलोजी स्टार्टअप न्यूरालिंकका मालिक समेत रहेका मस्कले बिहीबार कम्पनीमा प्रमुख कार्यकारी पराग अग्रवाल र प्रमुख वित्तीय अधिकारी नेड सेगललगायत शीर्ष नेतृत्वलाई बर्खास्त गरेर आफ्नो कार्यकाल सुरु गरेका थिए।

एसइसी फाइलिङका अनुसार मस्कले ट्‍वीटरको सबै बन्डहरू फिर्ता गर्न प्रस्ताव गरेका छन्। विश्वका सबैभन्दा धनी व्यक्ति मस्कले आफ्नो सम्पत्ति, लगानी कोष र बैंक ऋणको संयोजनबाट कम्पनीको खरिद पूरा गरेका थिए।

एउटा छुट्टै एसइसी फाइलिङमा साउदी राजकुमार अलवालीद बिन तलाल ट्‍वीटरको दोस्रो ठूलो सेयर होल्डर बनेको देखिएको छ।

प्रभावशाली सामाजिक सञ्जाललाई मस्कले अधिग्रहण गरेपछि अभिव्यक्ति स्वतन्त्रता र कमजोर समूहहरूलाई अनलाइन हानिबाट जोगाउने बिचको सन्तुलनको बारेमा गहन बहस सुरु भएको छ। स्व-घोषित ‘स्वतन्त्र-वाक् निरपेक्षतावादी’ मस्कले ट्‍वीटरको ‘मोडेरेसन पोलिसीहरु’को आलोचना गर्दै आएका थिए भने कम्पनीलाई वामपन्थी विचारहरूको पक्षपाती भएको आरोप लगाएका थिए।

मस्कले ट्‍वीटरको लागि आफ्नो योजनाहरू विस्तृत गर्न बाँकी नै रहेपनि उनले व्यापक रूपमा ‘मोडेरेसन पोलिसीहरु’ कम गर्ने र कम्पनीका कर्मचारी कटौती गर्ने अपेक्षा गरिएको छ।