रत्ननगर (चितवन)। अर्थशास्त्री डा. विश्व पौडेल चितवन क्षेत्र नम्बर १ को वडा-वडामा चुनावी भेला गरिरहेका छन्। कांग्रेसी कार्यकर्तासँगै घरदैलो गरिरहेका उनको प्रतिस्पर्धीका रूपमा पहिलो संसदीय चुनावको अनुभव हो।
टिकट पाउनु दुई दिन अघिमात्र राष्ट्रिय योजना आयोगको उपाध्यक्षबाट राजीनामा गरेका पौडेलको प्रतिस्पर्धी हुन् पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे।
एमाले उपाध्यक्षसमेत रहेका पाण्डे मन्त्री र सांसद हुँदा पनि पूर्वी चितवनको विकासमा ठोस योगदान दिन असफल भएको एजेण्डालाई लिएर पौडेल घरदैलो गरिरहेका छन्। उनलाई गठबन्धनको बलियो साथ पनि छ।
देश-विदेशमा काम गरेको अनुभव बोकेका पौडेलले जित हासिल गरे र कांग्रेसकै नेतृत्वमा सरकार बन्यो भने 'भावी अर्थमन्त्री' का रुपमा उनलाई चितवनमा 'प्रेडिक्ट' गर्न थालिएको छ। खासगरी प्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवासँगको सामिप्यताका आधारमा उनले जिते बलियो पोर्टफोलियो मिल्ने विश्वास यहाँ देखिन्छ।
पढेलेखेको मान्छे, त्यसमाथि योजना आयोगमा काम गरेको अनुभव र 'सेलिब्रेटी लेखक' उनलाई साथ दिने केही महत्त्वपूर्ण 'भेरियबल' हुन्। तर, राजनीति निर्मम हुन्छ। मतदाताको 'मुड'ले जतिसुकै बलियोलाई पनि कमजोर र अपेक्षै नगरिएका व्यक्तिलाई पनि बलियो बनाइदिन सक्छ। यिनै सन्दर्भमा विश्व पौडेल चुनावी 'म्याराथन'मा कहाँ छन् त?
यसको उत्तर खोज्न सबैभन्दा पहिले कांग्रेसभित्रको अन्तरसंघर्ष, गठबन्धनको तागत, उनको व्यक्तिगत मेहनत र युवा अर्थशास्त्री स्वर्णिम वाग्लेसँगको सम्बन्धका आयाम केलाउनुपर्ने हुन्छ।
स्थानीय कांग्रेस नेतृत्वले पौडेलसँगै वाग्लेको नाम पनि प्रतिनिधिसभा उम्मेदवारका रूपमा सिफारिस गरेको थियो। सिफारिसमा दुवै उम्दा व्यक्ति परेका भए पनि यी दुई बीचको प्रतिस्पर्धा रोचक देखिएको थियो। चितवनका कांग्रेस कार्यकर्ताबीच स्वर्णिमले टिकट पाएर जितेमा सोझै अर्थमन्त्री हुने क्षमता रहेको बुझाइ थियो। स्थानीयस्तरमा रहेर राजनीति गरिरहेकाहरुका लागि स्वर्णिम अगाडि बढ्दा आफू पछि पर्ने आकलन थियो। स्वर्णिमको राजनीतिक 'करिअर' लामो हुँदा टिकटमा पालो पाउने सम्भावना कम हुने तर्क बोकेर एकथरी कांग्रेसीहरु पौडेलको पक्षमा खुलेर उत्रिएका थिए, टिकटका लागि।
वाग्लेलाई रोक्ने त्यो समूहको 'त्रास' विश्वको उम्मेदवारीपछि पनि कायमै छ। वाग्लेजस्तै पौडेलले चुनाव जितेमा अर्थमन्त्री बन्ने सम्भावना छ। त्यसैले सुरुमा विश्वलाई बोक्नेहरु अहिले एकाएक तर्किन थालेका छन्।
तिनै कांग्रेसी नेता-कार्यकर्ता निष्क्रिय बसेको चाल पाएपछि एक पुराना कांग्रेसी कार्यकर्ताले 'यही अवस्था रहे चुनाव जटिल हुने' बताए। पौडेलको चुनावी घरदैलोमा भेटिएका उनले सबैलाई सहयोग गर्न अपिल गरिरहेको दृश्य आफैंमा रोचक थियो। विश्वको घरदैलो कार्यक्रममा कांग्रेस अझै एकजुट भएर अगाडि बढेको देखिँदैन। यद्यपि, बुधबार निर्वाचनमा युवा परिचालनसम्बन्धी विवादले प्रदेश 'ख' को सम्पर्क कार्यालयमा लगाइएको तालाबन्दी खुलेको छ।
पौडेल जहाँबाट चुनाव लडिरहेका छन् त्यहाँ तीन वटा नगरपालिका छ, जहाँ स्थानीय तहको निर्वाचनमा गठबन्धनले जितेको छ। गठबन्धनमा एकमत कायम भएमा पौडेलको जित निश्चित छ। तर, चितवन कांग्रेसका सन्दर्भमा एउटा 'अन्तर्घाती जिल्ला' पनि हो। कांग्रेस विभाजन हुँदा तयार भएको ७४ र ३६ को ह्याङओभर अझैसम्म उत्रिसकेको छैन।
'विगतमा यहाँ अरुका कारण होइन अन्तर्घातका कारण कांग्रेसका उम्मेद्वार हारेका थिए। कांग्रेसभित्र विगतको तुष अहिलेसम्म पनि हराउन सकेको छैन,' कांग्रेसका एक पुराना कार्यकर्ताले भने, 'त्यसमा पनि निर्वाचनको जोडघटाउ, भौगोलिक, जातीय अवस्थितिका विषयमा विश्व नयाँ हुन्। त्यसैले उनलाई समस्या परिरहेको छ।'
पार्टी सभापति शेरबहादुर देउवाप्रति चितवन सधैं विद्रोही बन्दै आएको छ। देउवा चितवन आउँदा कांग्रेस कार्यकर्ता नै विरोध प्रदर्शनमा उत्रिने गरेको विगत छ। यस्तो अवस्थामा देउवा निकट विश्वले सबै पक्ष मिलाउनु चुनौतीपूर्ण विषय देखिन्छ। विश्वमात्रै होइन उनको सचिवालयमा काम गर्नेहरु पनि धरातलीय वस्तुस्थिति बुझ्नेहरु नगन्य रहेको टिप्पणी पनि कांग्रेसजनमा सुनिन्छ। घरदैलो लगायतका कार्यक्रममा भएको व्यवस्थापनले टिप्पणीलाई बल पुर्याइरहेको देखिन्छ।
यतिखेर विश्वको सबैभन्दा सबल पक्ष भनेको उनमा देखिएको भद्रता हो। अर्थशास्त्री र भावी अर्थमन्त्रीका रुपमा हेरिएकाले मतदाताको आकर्षण उनीप्रति हुनु स्वाभाविक छ। युवा र अर्थतन्त्र बुझेको उम्मेदवारलाई जिताउनु पर्छ भन्ने युवा कार्यकर्ताको जोडबल पनि उनका पक्षमा देखिएको छ। यसखाले उत्साहलाई मतमा रुपान्तरण गर्न सके भने एमालेका पाण्डेभन्दा उनका लागि अवस्था सहज देखिन्छ।
सुरेन्द्र पाण्डे अर्थमन्त्री हुँदा र त्यसपछि पनि एमाले सरकारले धेरै योजना चितवन क्षेत्र नम्बर १ केन्द्रित गरेको छ। दुई पटक त्यही क्षेत्रबाट सांसद भइसकेका पाण्डेसँग मतदातालाई चिन्ने र रिझाउनसक्ने खुबी छ। स्थानीयसँगको घुलनशीलतामा भने पौडेलभन्दा पाण्डे निक्कै बलियो देखिएका छन्। पाण्डेले व्यक्तिगत रुपमा मतदातालाई पौडेलले भन्दा धेरै चिन्छन्। उनले नामले नचिन्नेलाई थरले चिन्छन्। पौडेलमा यसखाले खुबी छैन किनकि उनी लामो समय विदेश बसे। नेपाल फर्किएपछि पनि काठमाडौंलाई नै आधार क्षेत्र बनाएर काम गरे। राष्ट्रिय योजना आयोगको उपाध्यक्ष भएपछि मात्रै उनले चितवनका धेरै ठाउँको भ्रमण गरेका हुन्।
आफ्ना यिनै कमजोरीबारे पौडेल जानकार भने छन्। टोलैपिच्छे मतदाता चिन्न सम्भव नभएको स्वीकार पनि गर्छन् उनी। 'यो राष्ट्रिय निर्वाचन हो। साथै समूहको निर्वाचन पनि हो। यहाँ चुनाव चिह्न हेरेर भोट हालिन्छ। त्यसैले सबैलाई भेट्न सकिँदैन पनि,' चुनावी अभियानकै क्रममा उनले भने।
एमालेका उपाध्यक्ष आफैंमा बलियो पोर्टफोलियो हो, जुन पाण्डेको बलियो पक्ष मान्न सकिन्छ। एमालेबाट विभाजित माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले मतदानमा कस्तो भूमिका निर्वाह गर्छ भन्ने महत्त्वपूर्ण छ। सुरेन्द्रका दाजु राजेन्द्र पाण्डे वाग्मती प्रदेशका मुख्यमन्त्री हुन्। नेकपा एसका नेता राजेन्द्रका साथ भाइ सुरेन्द्रलाई कुनै न कुनै हिसाबले लाभ हुने आकलन गर्ने कांग्रेसीहरु पनि धेरै छन्। यदि राजेन्द्रको प्रभावमा नेकपा एसले गठबन्धन भन्दा फरक गएर मत दिएमा विश्वका लागि गठबन्धनबाटै चुनौती हुने देखिन्छ।
उनीबाहेक विश्वका सबैभन्दा पेचिलो बनेका छन् स्वर्णिम वाग्ले। कांग्रेसको घोषणापत्र लेखेका वाग्ले चितवन-१ बाटै चुनाव लड्ने आकांक्षी थिए। उनको आकांक्षामा ग्रहण लगाउने काम पौडेलले गरेको आरोपले चितवन-१ मा जरा गाडेर बसेको छ अहिले पनि ।
राष्ट्रिय योजना आयोगको पूर्व उपाध्यक्षसमेत रहेका वाग्लेको 'पपुलारिटी' यतिसम्म छ कि फरक पार्टीका कार्यकर्ताहरु पनि उनीप्रति आकर्षित देखिन्छन्। विश्वको घरदैलोमा रहेका कतिपय कार्यकर्ताले स्वर्णिम चुनावी मैदानमा उत्रिएको भए धेरै मेहनत नै गर्नुपर्ने अवस्था रहँदैनथ्यो समेत भन्छन्।
'स्वर्णिमजी आएको भए यहाँ चुनाव जित्न निक्कै सजिलो हुन्थ्यो। यसको मतलब विश्वजीले स्वर्णिमलाई रोकेको भन्ने आरोपले केही समस्या देखिन्छ,' चुनावी अभियानमा रहेका एक कार्यकर्ताले भने।
कांग्रेस महामन्त्री गगन थापाले चितवन-१ स्वर्णिमलाई नदिने भए काठमाडौं-४ छाड्न तयार भएको सार्वजनिक भयो। गगनको उक्त प्रयासलाई विश्वले नै असफल बनाएको चर्चा चुनावी दौरान चितवनका सबै निर्वाचन क्षेत्रमा सुनियो। यही आरोपबारे घरदैलो गरिरहेका पौडेललाई बिजमाण्डूले सोधेको थियो। आफू टिकट रोक्नसक्ने क्षमताको मान्छे नभएको प्रष्टीकरण उनले दिए।
उनले स्वर्णिम र आफ्नो सम्बन्ध २० वर्षभन्दा लामो रहेको सुनाए। चुनावको टिकटका लागि स्वस्थ प्रतिस्पर्धा मात्र भएको दाबी गरे।
त्यसो त स्थानीय कांग्रेसीहरु स्वर्णिमले विश्वसँग कुममा कुम जोडेर चितवन-१ का सभालाई सम्बोधन गरेमा माहोलमा परिवर्तन आउने विश्वास गर्छन्। स्वर्णिम वाग्लेलाई डाकेर सभा गर्न सम्भव छ? बिजमाण्डूको प्रश्नमा पौडेलले गएको मंगलबार दुई पटक फोन गर्दा पनि वाग्लेले नउठाएको सुनाए ।

'उहाँ नेपाली कांग्रेस जिताउन घोषणापत्र लेखेको मान्छे हो,' पौडेलले भने, 'त्यसो हुँदा मेरा लागि पनि चितवन आउनु हुन्छ। पक्कै समय तालिका नमिलेको हुनसक्छ।'
पौडेलको प्रतिक्रिया सकारात्मक भए पनि विश्व र स्वर्णिमबीचको कटुता 'कल रिसिभ नगर्नु' ले मात्र होइन स्वर्णिमले आफ्नो पुस्तक विमोचनमा पुरानो मित्र विश्वलाई नबोलाउनुले पनि प्रष्ट देखाउँछ।
विश्वले स्वर्णिमलाई चुनावी सभामा उतार्न सके भने उनका लागि निर्वाचन निक्कै सहज हुने स्थानीय कांग्रेसी बताउँछन्।


