
काठमाडौं। नेपाली युवा उद्यमी मञ्च काठमाडौं च्याप्टरले स्टार्टअप अवार्डको २०२२ संस्करणको लागि शीर्ष सात स्टार्टअपहरू चयन गरेको छ।
मञ्चले गत अगष्टमा अवार्डका लागि आवेदन आह्वान गरेको थियो। प्राप्त १ सय ५६ स्टार्टअपहरूको आवेदनबाट गत हप्ता मात्रै शीर्ष १५ वटा छनोटमा परेका थिए। विभिन्न चरणको एक्स्पर्ट सेसनहरू पछि शीर्ष सात स्टार्टअपहरूको छनोटमा परेका छन्।
टेक, गेमिङ, कृषि लगायतका विभिन्न क्षेत्रमा काम गरिरहेका स्टार्टअपहरू उक्त अवार्डका लागि छनोट सूचीमा परेका हुन्। बाइट केयर टेक्नोलोजी, च्याउ डट बायो, जेरो सर्कुलर, बगभी सफ्टवेयर, डार्क म्याटर प्रोडक्सन, डेलिस डेरिज र दियो एआइलगायत शीर्ष ७ मा परेका हुन्।
यी स्टार्टअपहरूले प्रमुख लगानीकर्ता र निर्णायकहरू र अन्य स्टार्टअप संस्थापकहरूको समूहको अगाडि पिच गर्ने मौका पाउने छन्।
नेपाली युवा उद्यमी मञ्च (एनवाइइएफ)ले यो कार्यक्रममार्फत् उत्कृष्ट स्टार्टअप आइडियालाई पुरस्कृत गर्नुका साथै नयाँ उद्यमीहरुलाई आवश्यक पर्ने एक्स्पोजर, मेन्टरसिप र लगानीको अवसर प्रदान गर्नेछ।
मञ्चले आफ्ना सदस्य, सरकारले तोकेको कार्यालयमा दर्ता भएको तथा पाँच वर्षभन्दा कम समयदेखि बजारमा रहेका स्टार्टअपहरू चयन गरेको हो। छनोट भएका स्टार्टअपहरूले लगानी भित्र्याउनका लागि मेन्टरसिप र तालिम प्राप्त गर्नेछन्। साथै आफ्नो सीपलाई निखार्न साथै नोभेम्बर ११ मा हुने एनवाइइएफ स्टार्टअप अवार्ड्स २०२२ मा प्रतिस्पर्धाका लागि तयारी गर्न एक्स्पर्ट सेसनहरूमा सहभागिताका अवसर पनि प्राप्त गर्नेछन्।
प्रतिस्पर्धामा पहिलो र दोस्रो तथा पिपुल्स च्वाइस अवार्ड प्रदान गरिने संस्थाले जनाएको छ। उत्कृष्ट स्टार्टअप कम्पनीले १ लाख ५० हजार, दोस्रोले ७५ हजार र पिपुल्स च्वाइसले ५० हजार नगद पाउनेछन्।