
काठमाडौं। चाडपर्व सकिएपछि बजारमा खाने तेलको मूल्य बढेको छ। चाडपर्व सुरु भएपछि घटेको तेलको मूल्य फेरि बढ्न थालेको छ।
केही दिनयता तेलको मूल्य बढ्न थालेको खुद्रा व्यापार संघले जनाएको छ। तेलको मूल्य कार्टुनमा २ सय रुपैयाँसम्म बढेको संघका महासचिव अमुलकाजी तुलाधरले बताएका छन्। तर व्यवसायीहरुले भने सूर्यमुखी र भटमास तेलको मूल्य कार्टुनमै ३ सय रुपैयाँसम्म बढेको दाबी गरेका छन्।
केही समय पहिले अन्तर्राष्ट्रिय बजारको मूल्यवृद्धिले खाने तेलको मूल्य बढेको थियो। बजारमा बढ्ने र घट्ने भइरहेपनि चाडपर्वको समयमा भने तेलको मूल्य घटेर उपभोक्ताले केही राहत पाएका थिए। तर चाडबाड सकिएको एक साता नबित्दै मूल्य फेरि उकालो लागेको छ ।
गत महिना लिटरमा २० रुपैयाँसम्म मूल्य घटेकोमा हाल लिटरमा १० देखि १५ रुपैयाँ बढिसकेको संघका महासचिव तुलाधरले बताए।
'चुनाव नजिकिएकाले तेल र खाद्यान्नको मूल्य बढ्न थालेको हुनसक्छ। चुनावको समयमा ठूला उद्योगी तथा व्यवसायीले पार्टीलाई चन्दा दिएर सहयोग गर्छन्। त्यसको मार वस्तुको मूल्यमा पर्छ र उपभोक्ताले महँगो तिर्नुपर्ने बाध्यता हुन्छ,'- उनले भने।
उनका अनुसार चुनाव र डलरको मूल्य बढ्नुबाहेक तेलको भाउ बढाउने अन्य त्यस्तो कारण केही पनि छैन। 'केही समयदेखि पेट्रोलियम पर्दाथको मूल्य स्थिर रहेको छ। डलरको मूल्य पनि बढ्दा यसको असर तेलमा पर्छ,' उनले भने।
तेलको मूल्य कार्टुनमा ३ सय रुपैयाँसम्म बढेको किराना व्यवसायी कृष्ण भट्टले बताए। गत महिनासम्म प्रतिकार्टुन २४ सय रुपैयाँ पर्ने सूर्यमुखी मूल्य बढेर २७ सय रुपैयाँ पर्न थालेको छ ।
भटमासको तेल प्रतिकार्टुन २५ सय रुपैयाँ छ। यस अघि उपभोक्ताले सुर्यमुखी तेल प्रतिलिटर २५० रुपैयाँमा र भटमासको तेल २ सय ३० रुपैयाँमा खरिद गर्दै आएका थिए।
पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य बढ्दा सूर्यमुखी तेल प्रतिकार्टुन ३४ सय रुपैयाँसम्म पुगेको थियो।
क्रमिक रुपमा मूल्य घट्दै प्रतिकार्टुन २३ सय रुपैयाँमा बिक्री भएको थियो ।
अहिले होलसेलबाट खरिद गर्दा नै मूल्य बढेर आएको व्यवसायी बताउँछन्। खरिद मूल्यनै महँगो भएपछि उपभोक्तालाई बिक्री गर्दा अझ बढी पर्छ।
अन्तर्राष्ट्रिय बजारमा सूर्यमुखी र भटमास कच्चा तेलको मूल्य उकालो लाग्न थालेको छ। गत महिना टनको १२६३ डलर रहेको सूर्यमुखीको कच्चा तेल अहिले बढेर १४४० अमेरिकी डलर पुगेको छ। भटमासको कच्चा तेल टनको १४५१ डलर छ। गत महिना टनको १३६० डलर थियो ।