सडक निर्माणको जिम्मा लिएर अलपत्र पार्ने ठेकेदारको स्काभेटर र ब्याक्हो लोडर नियन्त्रणमा



२०७९ कात्तिक २१ गते ०९:०६ | Nov 7, 2022


खोटाङ। सडक निर्माणको जिम्मा लिएर अलपत्र पार्ने ठेकेदार कम्पनीको स्काभेटर र ब्याक्हो लोडर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नियन्त्रणमा लिएको छ।

Tata
Global Ime

दिक्तेल-खोटाङ बजार सडक निर्माणको जिम्मा लिएर काम गर्दा गर्दै अलपत्र छाडेपछि निर्माणस्थलमा राखिएको ढुकुछु-बगाले बिएनटी निर्माण कम्पनीको ती सामग्री नगरपालिकाले नियन्त्रणमा लिएको हो। नगरपालिकाले नियन्त्रणमा लिएको ती सामग्री ताल्चा लगाइएको छ। नगरपालिकाका प्रवक्ता एवं वडा नम्बर ५ लफ्याङका वडाध्यक्ष दिनेश घिमिरे र वडा नम्बर १ का वडाध्यक्ष नवराज राईले आइतवार स्काभेटर र ब्याक लोडरमा ताला लगाएका हुन्।

दिक्तेलस्थित हस्पिटल चोकदेखि लफ्याङको दुबेचिवासम्मको प्याकेजमा ठेक्का लिएको निर्माण कम्पनीका ठेकेदार काम गर्दागर्दै छाडेर सम्पर्कविहीन भएका छन्। निर्माणाधीन सडक अलपत्र पारेर ठेकेदार भागेकाले वार्ता गर्न सहज होस् भन्ने उद्देश्यले निर्माण कम्पनीको स्काभेटर र ब्याक लोडर नियन्त्रण लिइएको जनाइएको छ।

आगामी पुस २० गतेभित्र निर्माण सक्ने गरी ५ करोड ६ लाख ५५ हजार ५ सय ९६ रुपैयाँ लागतमा २०७८ जेठ २० गते सम्झौता भएको थियो। तर, कामै नसकी फिल्ड छाडेर गएपछि सडक निर्माण अलपत्र परेकाले स्काभेटर र ब्याक लोडर नियन्त्रण लिइएको प्रवक्ता घिमिरेले बताए।

निर्माण कम्पनीसँग सम्बद्ध व्यक्तिको खोजी गर्न र आवश्यक कारबाहीको प्रक्रिया बढाउन नगरप्रमुख तीर्थराज भट्टराई असोज २८ गते सङ्घीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालयअन्तर्गत सडक डिभिजन कार्यालय हर्कपुरसमेत पुगेका थिए। त्यसपछि पनि गत कात्तिक ३ गते सम्बन्धित निर्माण कम्पनी र सडक डिभिजन कार्यालयलाई पत्रचार गरेको थियो।

दुबेचिवा-साप्सुखोला प्याकेजको काम भने खर्चरै सुरु भएको स्थानीय बासिन्दाले बताएका छन्। २ करोड ९६ लाख ३७ हजार ५ सय ८६ रुपैयाँ लागतमा आगामी माघ १५ गतेभित्र सक्ने गरी सगरमाथा सजिव आरएन जेवीले विसं २०७८ चैत २८ गते सम्झौता गरेको थियो।

तोकिएको म्याद सकिनुभन्दा दुई महिनाअघि नै सक्ने गरी काम भइरहेको निर्माणमा संलग्न कृष्ण घिमिरेले बताएका छन्। अलपत्र सडक छिटो सम्पन्न गराउन ताकेता गर्ने काम भइरहेको सडक डिभिजन कार्यालय हर्कपुरका प्रमुख इन्जिनियर अरुणदेवलाल कर्णले बताए।

यसबाहेक भुते जिरोप्वाइन्ट आयुर्वेद सडक स्तरोन्नति र हाटडाँडा-काफ्लेगाउँ-घुम्तीबर सडक स्तरोन्नति अलपत्र पार्ने लगलगे कन्स्ट्रक्सन चाबहिल, अल्छेढुंगा-नेर्पा-दोर्पा सडक स्तरोन्नति अलपत्र पार्ने उत्सव निर्माण सेवालाई काम गराउनुपर्ने भन्दै सघन सहरी तथा भवन निर्माण अयोजनालाई पत्राचार गरिएको नगरपालिकाले जनाएको छ। मध्यपहाडी लोकमार्गमा पर्ने छेपेखोला पुलको जिम्मा लिने सगरमाथा-सजिव-आरएन जेभी पंखुखोला पुलको साप-सिरुवा जेभी र भालुखोला, मेवाखोला पुलसँग सम्बद्ध केएम इन्जिनियर विल्डर्सलाई समेत ताकेता गर्न पत्राचार गरिएको जनाइएको छ।

प्रदेश १ सरकारको १२ करोड ७२ लाख ९२ हजार ४ सय ३७ रुपेयाँको लागतमा निर्माणाधीन हुर्लुङ-जालपा सडक पनि अलपत्रै छ। चार महिनामा सक्ने गरी २०७८ भदौ ३१ गते रौताहा-सुसन आदित्य जेभीसँग सम्झौता भएको थियो।

दिक्तेल अल्छेढुंगा -नेर्पा-दुम्ली सडक स्तरोन्नति पनि निर्माण पनि अपूरै छ। ७७ लाख १६ हजार ४ सय ४८ रुपैयाँको स्टीमेटमध्ये ४५ लाख १३ हजार ९ सय ६५ रुपैयाँको लागतमा गत असार १६ गते सक्ने गरी २०७८ फागुन २६ गते उत्सव निर्माण सेवा प्रालि पाँचथरले सम्झौता गरेको थियो।

म्याद सकिँदासमेत काम भने ४० प्रतिशत मात्र सकिएको छ। लगलगे कन्ट्रक्सनले नै ठेक्का लिएको दिक्तेल हाटडाँडा-काफ्लेगाउँ-सडक पनि अलपत्रै छ। ८५ लाख ९ हजार ९ सय ४० रुपैयाँको योजना स्टीमेटमध्ये ४६ लाख २२ हजार रुपैयाँको लागतमा गत असारमा सक्ने गरी लगलगे कन्ट्रक्सन चाबहिल काठमाडौंले विसं २०७८ माघ २० गते सम्झौता गरेको थियो।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको २१ करोड एक लाख ८८ हजार रुपैयाँको लागतमा निर्माण थालिएको दिक्तेल-खानीडाँडा-आहाले सडक पनि अपूरै छ। २०७६ चैत ७ गतेसम्म काम सक्ने गरी याक्थुङहाङ-साप-सिरुवा जेभी निर्माण कम्पनीले २०७५ असोज १ गते सम्झौता गरेको थियो।

नगर क्षेत्रभित्र सञ्चालित योजनामा ठेक्का लिएर काम नगर्ने निर्माण कम्पनीलाई कारबाहीका दायरामा ल्याउन खबरदारी गर्ने काम भइरहेको नगरप्रमुख भट्टराईले बताए। १५ वटा वडा रहेको नगरपालिकामा ठेकेदार कम्पनीमार्फत निर्माणको काम सम्पन्न गरेर सञ्चालनमा ल्याइएका अधिकांश योजना गुणस्तरहीन रहेको स्थानीयवासीले आरोप लगाएका छन्।