अटो व्यवसायमा चरम मन्दी, शोरुमा किन्न होइन हेर्नसमेत जाँदैनन् ग्राहक



२०७९ कात्तिक २१ गते १०:४५ | Nov 7, 2022


अटो व्यवसायमा चरम मन्दी, शोरुमा किन्न होइन हेर्नसमेत जाँदैनन् ग्राहक


काठमाडौं। आयात खुलेको छैन। अटोमोबाइल बजारमा असर परेको व्यवसायीले बताइरहँदा शोरुमहरु भने खुलेकै छन्। सफा, चिटिक्क र झकिझकाउ छन् शोरुमहरु। तर कारोबारको अवस्था के छ? आइतबार दिउँसो १ बजेतिर हामी (फोटोपत्रकार साथी र म) गाडी शोरुमहरुको अवस्था बुझ्न निस्कियौं।

Tata
Global Ime

जब हामी गाडीका शोरुमहरुको हब मानिने थापाथली क्षेत्रमा पुग्यौं, शोरुमहरु खुलै थिए, तर सुनसान जस्तै देखियो। राखेका गाडीहरुको संख्या त्यस्तो कम देखिएन। शोरुमहरु सबैजसोमा डिजल-पेट्रोल इन्जिन गाडी त थिए नै, विद्युतीय गाडीले पनि भरिएका देखिन्थे।

महिन्द्राको शोरुममा दुईवटा मात्र गाडी देखियो। हामी भित्र छिर्दा शोरुमका स्टाफहरु आफ्नै काममा व्यस्त देखिन्थे। कतिपय शोरुममा एक गार्ड, रिसेप्सन र एक जना सेल्सम्यान मात्र बसिरहेका थिए। ग्राहकको आवागमन नगण्य देखिन्थ्यो।

हामीले केही शोरुमका कर्मचारीसँग कुरा गर्‍यौं। उनीहरुले बताए – हिजोआज कतिपय सवारी बिक्रेता कम्पनीहरुले सातामा दुई दिन शनिबार र आइतबार बिदा दिने गरेका छन्। त्यसैले शोरुमहरुमा प्राय थोरै स्टाफको मात्र उपस्थिति देखिएको रहेछ।

फोर्डका गाडी बिक्री गर्ने शोरुममा आइतबार तीन जना मात्र स्टाफ थिए। जसमा एक जना सेल्स म्यान, गार्ड र अर्का रिसेप्सन कर्मचारी। कम्पनीले हिजोआज सातामा दुई दिन बिदा दिने गरेको उनीहरुले बताए। 'अहिले म पनि अल्टरनेटिभमा आएको हुँ। मेरो फेरि अर्को आइतबार बिदा हुन्छ,' एक सेल्स म्यानले भने। अहिले शोरुम खोल्नै पर्ने बाध्यता र खोल्नलाई एक जना स्टाफ आवश्यकता पर्ने भएर अफिस आएको उनले बताए।

अमेरिकी मोटर निर्माता कम्पनी फोर्डले भारतमा रहेका आफ्ना प्लान्ट बन्द गरेको छ। भारतमा कारखाना रहँदा नेपालमा आयात सहज थियो। भारत सरकारको सहुलियत योजनाको लाभ लिने योजनामा रहेको फोर्ड भारतमा अब इलेक्ट्रिक गाडी उत्पादन गर्ने सुरमा रहेका समाचारहरु आएका छन्। तर उक्त योजनामा काम सुरु भइसकेको छैन। थापाथली शोरुमका कर्मचारीका अनुसार हिजोआज फोर्डका गाडी नेपालमा थाइल्यान्डबाट आयात गरिएका छन्। यसको कमर्सियल गाडी रेन्जर पिकअपहरुको आयातमा प्रतिबन्ध छैन।

यस्तै महिन्द्राको शोरुममा पनि यस्तै अवस्था देखियो। हामी उक्त शोरुममा पुग्दा त्यहाँ ३ जना मात्र कर्मचारी देखिए। महिन्द्राका गाडीहरुको नेपालमा बिक्रेता अग्नि इन्कर्पोरेट हो। एक कर्मचारीका अनुसार बिगतमा यहाँ १४ जना स्टाफ तैनाथ रहन्थे। आजभोलि नयाँ गाडी आयात नै नभएकाले स्टाफ संख्या पनि प्रभावित भएको उनले सुनाए। 

'हाल हामीसँग कमर्सियल भेहिकलमा पिकअपका मोडलहरु मात्र बिक्रीका लागि उपलब्ध छन्। यो गाडीको पनि पछिल्लो समय बिक्री छैन,' उनले भने, 'पहिलेको जस्तो केही चहलपहल छैन। हामीले शोरुम कुरेर बस्नु भन्दा अरु काम छैन। एकाध ग्राहक फाट्टफुट्ट आउनु हुन्छ, त्यो पनि सोधपुछ गर्नुहुन्छ जानुहुन्छ।'

यस्तै टाटाको शोरुममा पनि ग्राहकको भीड देखिएन। हामी शोरुममा पुग्दा एक जना ग्राहक थिए, उनी टाटाका इभी गाडीका मोडलहरु हेर्दै थिए। नेपालमा टाटाका गाडीको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ हो। सिप्रदीले इभीमा टाटा नेक्सन उल्लेख्य संख्यामा बिक्री गरेको छ। गाडी बिक्रीसँगै चार्जिङ प्वाइन्ट विस्तारमा पनि कम्पनीले लगानी बढाएको छ। तर पछिल्लो समय सवारी बजारमा आएको मन्दी टाटाको शोरुमबाट पनि देखिन्थ्यो।

हामी केहीबेर बस्यौं, त्यो अवधिमा अरु ग्राहक थपिएको देखिएन। त्यहाँ पुराना कर्मचारी कम थिए। कम्पनीले हाल ट्रेनी स्टाफहरुलाई राखेको एक कर्मचारीले बताए। टाटाको थापाथली शोरुमबाट नै यो महिना मात्र ३ जनाले काम छाडेको उनले सुनाए। 'अहिले गाडी बिक्री गर्न पहिलेको जस्तो रौनक छैन,' उनले भने, 'दिनमा हाल ८ जना ग्राहकले भिजिट गरे पनि धेरै हो। पहिले-पहिले भने एकै दिन ३०/४० जनाले शोरुम भिजिट गर्ने गर्थे। हामीलाई गाडीहरुका बारेमा बताउन भ्याइनभ्याइ हुन्थ्यो।'

हिजोआज प्राय सबैजसो शोरुमहरुले दिनमा मुस्किलले ३-८ जना ग्राहकले भिजिट गर्ने गरेको उनले सुनाए। सुजुकी, रेनल्ट, निसान, चेरी, ग्रेटवाल मोटर्स, पुजे लगायतका पनि हालत नाजुक रहेको शोरुममा बसिरहेका स्टाफहरुले बताए। स्टकमा गाडीहरु उपलब्ध नभएको र भएका  गाडी पनि सोधपुछमा ग्राहक निकै कम आइरहेको अनुभव उनीहरुले सुनाए।

'ग्राहकहरुले शोरुम नै भिजिट गर्न छाडेका छन् भन्दा पनि हुन्छ,' ग्रेटवाल मोटर्सका एक कर्मचारीले भनिन्, 'बजारलाई मन्दी लाग्यो। शोरुम आउने घर जाने भन्दा बढी काम हामीले कम्पनीलाई देखाउन सकेका छैनौं।' उक्त शोरुममा हाल ७ जान स्टाफ छन्। कारोबार घटे पनि कम्पनीले अहिलेसम्म स्टाफ कटौती भने नगरेको उनले बताइन।

बिक्रेताका केही प्रतिनिधि मंसिर मसान्तसम्म जसरी पनि स्टाफहरुलाई व्यवस्थापन गर्ने र त्यसपछि पनि आयात प्रतिबन्ध नहटेमा कम्पनीहरु सञ्चालन खर्च कटौतीतर्फ लाग्ने बताउँछन्। तर गाडी बिक्रेताहरु शोरुमसहित सञ्चालन खर्च कटौती गर्ने मुडमा रहेको कर्मचारी तैनाथीको संख्याले नै संकेत गरिरहेका छन्। 

शोरुमलाई इभीको भर

थापाथलीमा रहेका गाडीका शोरुममध्ये टाटा, हुन्डाई र निसानमा तुलनात्मकरूपमा ग्राहक देखिए। यसको कारण थियो- इलेक्ट्रिक गाडी।विद्युतीय मोडललाई प्राथमिकतामा राख्न बिक्रेताहरुले व्यवसायिक शैलीमा केही परिमार्जन गर्नुको असर शोरुमहरुका ग्राहक उपस्थिति देखिए। 

'आफ्नो व्यवसायको प्याटर्नलाई केही फरक गरी काम गरिरहेकालाई साह्रै गाह्रो छैन। हुन्डाईको अहिले हुने सबै सेल्स इभीको नै छ,' हुन्डाइ मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलका एक बजार प्रतिनिधिले सुनाए। 'यसभन्दा अघि मासिक १०० वटा गाडी बिक्री गर्ने हुन्डाईले हाल ३०-४० वटा गाडी बिक्री गरिरहेको छ। तर त्यसमा पनि इभी कोना र आयोनिक-५ मात्र २५-३० वटाको हाराहारीमा बिक्री भइरहेको छ,' उनले भने।

हालसम्म कम्पनीले कोना इभी विभिन्न भेरियन्ट अनुसार ४०० भन्दा माथि बिक्री गरिसकेको छ भने एक वर्ष अघि सार्वजनिक भएको लक्जेरियस सेगमेन्टको आयोनिक- ५ मात्र ८० युनिट बिक्री भइसकेको उनले बताए। 'यसमा पनि आयोनिक-५ करको मारमा परेकाले किन्ने मानिसहरुको क्रेज यसमा देखिदैन,' उनले भने, 'पछिल्लो समय कोना इभी किन्न ग्राहकहरु धेरै इच्छुक देखिन्छन्।'

यस्तै टाटाको शोरुममा कम्पनीका कर्पोरेट ब्राण्ड एण्ड कम्युनिकेसन म्यानेजर रुपम श्रेष्ठले डिजल-पेट्रोल इन्जिन गाडीभन्दा कम्पनीको ध्यान इभीमा रहेको सुनाए।  'हामीसँग इन्धन गाडी धेरै छैन यसमा पनि भेरियन्ट अनुसारका गाडीहरु उपलब्ध छैनन्। हामीसँग हाल नेक्सन र टिगोर त्यो पनि लिमिटेड छ,' उनले भने, 'अहिले ग्राहकहरु धेरै आउने भनेको इभी डेलिभरी लिन मात्र आउने धेरै छन्।'

निसानको शोरुममा पुग्दा भने दुई जना ग्राहक सेल्स टिमसँग गाडीहरु हेर्दै थिए। मैले एक जना स्टाफलाई सोधेँ 'आजकाल गाडीको बिक्री कस्तो छ ? उनले भएका गाडी पनि बिक्री गर्न गाह्रो रहेको सुनाए। 'बैंकले लोन दिएन भन्छन् गाडी सोध्न आउनेहरु। लोन दिए पनि ग्राहक ब्याजका दर देखेर हतोत्साहित हुने गरेको हामीले बुझेका छौं,' उनले भने। 

स्टकमा भएका निसानका इभी र इन्धन गाडीहरु दसैंपछि १५ युनिट बिक्री गरेको उनले बताए। 'दिनमा ५ जना ग्राहक पनि भिजिट गर्न आए भने अहिले धेरै आएको जस्तो लाग्छ। भिजिट कम छ,' उनले भने, 'अब हामीसँग स्टकमा गाडी पनि छैन।'

'गाडी किन्न हाइ-प्रोफाइल ग्राहकले मात्र ऋण पाउँछन्'

शोरुममा जति पनि ग्राहकहरु आउँछन् उनीहरु ऋण र ब्याजको व्यवस्था नमिल्दा फर्किने गरेको बिक्रेताहरु बताउँछन्। बिक्रेता कम्पनीका कर्मचारीहरुका अनुसार हाइ-प्रोफाइल भएका ग्राहकहरुको ऋण बैंकले पास गर्ने गरेको छ।

तर सामान्य व्यक्ति गाडी खरिद गर्न जाँदा ऋणका लागि फिट भए पनि बैकले ऋण नदिने गरेको गुनासो सुन्न पाइने एक शोरुमका कर्मचारीको भनाइ छ। 'हाइ- प्रोफाइल ग्राहकलाई ऋण पाउन सहज छ तर सामान्य इनकम रेन्ज भएको मान्छेलाई भने गाडी किन्न बैंकले ऋण दिन आनाकानी गरेको हामी दिदनदिनै सुन्न पाइरहेका छौं,' ती स्टाफले भने।

बैंकले ऋणमा कडाइ गर्दा गाडीको कारोबारमा सोझै असर परेको उनको बुझाइ छ। 'ग्राहक अहिले भएको ब्याज तिर्न तयार हुँदा पनि बैंकले ऋण दिन मानेका छैनन्,' उनले भने।

बैंक र बीमा कम्पनीहरुका कर्मचारीको पदोन्नति हुँदा गाडी खरिद गर्न ऋण राम्रोसँग उपलब्ध हुने गरेको हुन्डाईका एक कर्मचारीले बताए। उनीहरु संस्थाकै कर्मचारी भएका कारणले उनीहरुको लागि गाडी खरिद गर्न ऋण प्रक्रिया सहज हुने गरेको उनी बताउँछन्।

उनका अनुसार पछिल्लो समय बिक्री भइरहेका गाडी धेरैजसो अटो लोनको साटो नगदमै किन्नेको संख्या धैरै रहेको उनको भनाइ छ। '५० लाख भन्दा तल्लो रेन्जको गाडीहरु खरिद गर्न आउने ग्राहक पछिल्लो समय बढेका छन्,' ती कर्मचारीले भने।

बैंकमा पैसा राखेर ब्याज खान बुकिङ पनि शून्य

गाडी कारोबारीका बजार प्रतिनिधि बढेको बैंक ब्याजले गाडी किन्न चाहनेलाई पनि योजना फेर्न प्रेरित गरेको ठान्छन्। धेरैजसो गाडी खरिदको इच्छा गरेकाहरु पहिल्यै मानसिकरूपमा तयार हुन्छन्, बुकिङ गर्छन् र गाडी डेलिभरीको मिति पर्खिन्छन्। बुकिङ गरे पनि गाडीहरु मोडेल अनुसार पसलबाट अरु सामान किने जसरी लैजान सहज छैन।  

केही समय पैसा बैंकमा राखेर ब्याज खानु उचित ठान्ने कतिपयले गाडीका मोडल हेरेर, दरभाउ मोलमोलाइ गरे पनि अन्तिममा योजना फेरेको सुनाएका पनि छन्। चेरीका गाडीको बिक्रेता कम्पनीका एक कर्मचारी हाल बुकिङको लागि ग्राहकलाई सोधपुछ गर्दा 'अहिले बुकिङ गरेर के गर्ने गाडी आउने कहिले हो?' भन्ने गरेको बताउँछन्।

उनी भन्छन्, 'गाडी बुकिङ गर्न अहिले एक लाख वा त्यो भन्दा धेरै पैसा लाग्छ। बुकिङ गरेको गाडी आउन कति महिना लाग्ने भन्नेमा नै बिक्रेताहरु निश्चित मिति तोक्न सकेका छैनन्। तर त्यही पैसा बैंकमा राख्यो भने १५ प्रतिशतसम्म ब्याज आउँछ।'

यसैले ग्राहक आफैंले गाडीहरु बुकिङ गर्न छाडेका छन्। गाडी बुकिङ गर्दा पैसा फ्रिज हुने डर ग्राहकहरुमा रहेको उनले बताए।