
काठमाडौं। लगातार घट्न थालेको वाणिज्य बैंकहरुको निक्षेप कात्तिक तेस्रो साता रिभाइभ भएको छ। सो साता मात्रै २१.४५ अर्ब रुपैयाँ निक्षेप प्रणालीमा फर्किएको हो।
कात्तिक सुरु भएपछि दुई सातामै वाणिज्य बैंकहरुबाट कुल २३.३७ अर्ब रुपैयाँ निक्षेप झिकिएको थियो। तिहारमा केही रकम प्रणालीबाट निस्किएको थियो। निस्किएको कुल पैसामध्ये करिब ९२ प्रतिशत रकम फिर्ता आएको हो।
कात्तिक १८ गतेसम्म बैंकहरुसँग कुल ४५ खर्ब ४५ अर्ब रुपैयाँ निक्षेप छ। अघिल्लो साता निक्षेप ४५ खर्ब २४ अर्ब रुपैयाँमा सीमित थियो।
स्वदेशी मुद्राको निक्षेप १८ अर्ब रुपैयाँले बढेको हो। विदेशी मुद्राको निक्षेप पनि ३ अर्ब रुपैयाँभन्दा धेरैले बढेको छ।
निक्षेप ह्वात्तै बढेपनि वाणिज्य बैंकहरुको कर्जा परिचालन भने सामान्य घटेको हो। कात्तिक तेस्रो साता सवा अर्ब रुपैयाँले कर्जा घटेको छ। अघिल्लो साता ४२ खर्ब २५ अर्ब रुपैयाँ कुल कर्जा दिएका थिए। अहिले वाणिज्य बैंकहरुको कर्जा परिचालन ४२ खर्ब २४ करोड रुपैयाँमा सीमित छ।