सुनचाँदी आयात कोटा बढाउन व्यवसायीको माग, महासंघ भन्छ ‘न्यून आपूर्तिले माग धानेन’



बिजमाण्डू
२०७९ कात्तिक २१ गते १६:४६ | Nov 7, 2022


काठमाडौं। बजार मागअनुसार सुनको आपूर्तिको कोटा बढाउन सुनचाँदी व्यवसायी महासंघले सरकारलाई आग्रह गरेको छ।

Tata
Global Ime

मुलुकको विदेशी मुद्रा सञ्चितिमा चाप परेको भन्दै सरकारले सुनचाँदीको आयात कोटा आधै घटाएको छ। बजारको आवश्यकता अनुसारको परिमाणमा कच्चा सुन आपूर्ति हुन नसक्दा व्यवसायीलाई मर्का परेको महासंघका अध्यक्ष माणिकरत्न शाक्यले बताए।

'नेपाल राष्ट्र बैंकले सुनको आयात कोटा घटाउँदा कारोबारमा असर परेको छ। बजारमा सुनको अभाव छ,' उनले भने। उनका अनुसार माग अनुसार कच्चा सुन पाउन नसकेपछि देशभरका सुनचाँदी व्यवसायीले महासंघलाई ध्यानाकर्षण गराउँदै आपूर्ति व्यवस्था प्रभावकारी बनाउन आवश्यक पहल गर्न आग्रह गरिरहेका छन्।

महासंघले पनि आपूर्ति बढाउन सम्बद्ध निकायसँग आवश्यक पहल गर्दै आएको उनले बताए। 

उनका अनुसार उपत्यका र बाहिरका सुनचाँदी व्यवसायी संघहरुले आपूर्ति बढाउन माग गर्दै ज्ञापनपत्र बुझाउन थालेका छन्। पछिल्लो समयमा विभिन्न बैंकहरुमार्फत दैनिक १० किलो सुन आपूर्ति हुँदै आएको छ। बजारको माग भने यो भन्दा निकै बढी भएको महासघंले जनाएको छ।