
काठमाडौं। बजारमा अन्य खाद्यानको मूल्य बढिरहेको बेला ब्रोइलर कुखुराको मासुमा भने सस्तिएको छ। चाडपर्व सकिएलगत्तै कुखुराको मासुको खपत र मूल्य घट्न थालेको राष्ट्रिय कुखुरा बिक्री व्यवसाय संघले जनाएको छ।
संघका अनुसार मासुको खपतमा कमी आएपछि मूल्य घट्न थालेको हो। संघले जिउँदो ब्रोइलर कुखुराको कोल्डस्टोर मूल्य प्रतिकिलो २ सय ४० रुपैयाँ कायम गरेको छ। तयारी मासुको उपभोक्ता मूल्य प्रतिकिलो ३ सय ३० रुपैयाँ तोकेको छ।
गत असोजमा चाडपर्वले गर्दा जिउँदो कुखुरा प्रतिकिलो २ सय ७० रुपैयाँ पुगेको थियो भने मासुको मूल्य प्रतिकिलो ३ सय ८० रुपैयाँ थियो।
अहिले मासुको मागमा कमी आएको संघका अध्यक्ष जंगबहादुर बिसीले बताए।
'यसअघि पनि सोही अवधिमा मासुको खपत घट्ने गरेको थियो। यति बेला पहिलेको भन्दा खपत ३० प्रतिशत घटेको छ,' उनले भने। चुनाव नजिकिएकाले मासुको खपत बढ्ने अनुमान गरिएको थियो। यसका लागि किसानहरुले ठुलो परिमाणमा चल्ला हालेका थिए। उपभोक्ताले जाडो समयमा हरिया तरकारी भन्दा मासुको प्रयोग गर्छन्।
अहिले मागभन्दा धेरै कुखुरा उत्पादन भएपनि मासुको खपत नबढ्दा मूल्य घटेको बताउँदै उनले यही अवस्था रहे अझै मूल्य घट्ने जानकारी दिए।
भारतीय कुखुरा ठुलो मात्रामा नेपाल भित्रिएकोले स्वदेशी उत्पादन खपत नभएको पोल्ट्री व्यवसायी देव गिरीले बताए। सस्तो मूल्यमा पाइने भएकोले भारतबाट तस्करी गरिएको कुखुराहरु ठुलो परिमाणमा आएको उनले बताए।
दैनिक ८ लाख किलो मासुको खपत
संघका अनुसार हाल देशभर कुखुराको मासुको खपत दैनिक ८ लाख किलो छ। उपत्यकामा मात्र कुखुराको मासुको खपत दैनिक ५ लाख किलो छ भने बाहिर ३ लाख किलो बिक्री हुँदै आएको संघले जनाएको छ।
कोभिडको समयमा भने कुखुराको मासुको खपत कम थियो। गत वर्ष दैनिक ५ किलो मात्रै मासुको खपत थियो। कोभिड अगाडिसम्म कुखुराको मासुको खपत ११ लाख किलोसम्म थियो।