हकप्रदको हल्लाले सेयर मूल्यमा कस्तो उतारचढाव आउँछ ? हेरौं केही कम्पनीको विश्लेषण



२०७९ कात्तिक २४ गते १४:४९ | Nov 10, 2022


हकप्रदको हल्लाले सेयर मूल्यमा कस्तो उतारचढाव आउँछ ? हेरौं केही कम्पनीको विश्लेषण


काठमाडौं। कुनै पनि कम्पनीको सेयर मूल्यलाई त्यस कम्पनीमा चलेको एउटा सानो हल्लाले निकै फरक पार्छ। एउटा हल्ला हो, हकप्रद सेयरको।

Tata
Global Ime

अहिले बजारमा कुनै पनि कम्पनीको हकप्रद सेयर जारी गर्ने हल्ला चल्यो भने त्यसको सेयर किन्न लगानीकर्ताको होडबाजी चल्छ। जसले केही दिनमा नै सो कम्पनीको सेयर मूल्यमा निकै उतारचढाव ल्याउने गरेको तथ्यांकले देखाएको छ।

गत माघ १० गते आइएमई जनरल इस्योरेन्स कम्पनीले हकप्रदका लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पायो। पाइपलाइनमा रहेको हकप्रदले बोर्डबाट चाडै स्वीकृति पाउने हल्लाले करिब एक महिना अघिबाटै सो कम्पनीको सेयर किन्न लगानीकर्ताको तछाडमछाड नै चल्यो। जसका कारण स्वीकृति पाउनु एक महिना अघिबाट पाएको दिनसम्म कम्पनीको सेयर मूल्य करिब ३६ प्रतिशतसम्म बढेको थियो।

एक महिनाअघि ८९२ रुपैयाँबाट बढ्न थालेको कम्पनीको सेयर मूल्य बोर्डबाट १० बराबर ४ अनुपातमा हकप्रद जारी गर्ने स्वीकृति पाएसँगै मूल्य १२१७ रुपैयाँ पुगेको हो।

यो कम्पनी मात्र होइन पछिल्लो समय धमाधम हकप्रद जारी गर्ने नेपाल फाइनान्स, ङादी ग्रुप पावर लिमिटेड, बरुण हाइड्रोपावर र राधी विद्युत कम्पनीको सेयर मूल्यमा पनि यस्तै खालका उतारचढाव देखिन्छ।

बरुण हाइड्रोपावर

गत असार १५ गते बरुण हाइड्रोपावर कम्पनीलाई १ बराबर १ अनुपातमा हकप्रद जारी गर्ने अनुमति पायो। सो कम्पनीको सेयर मूल्य ४९० रुपैयाँसम्म पुग्यो।

हकप्रदको हल्लाले करीब २ महिना अघिदेखि नै बढ्न थालेको थियो। तर सामान्य सामान्य उतारचढावका बावजुद पनि स्वीकृति पाउनु एक महिना अघिबाट स्वीकृति पाएको दिनसम्म कम्पनीको सेयर मूल्य करिब ५ प्रतिशतले बढेको छ।

गत असार १६ गते पछिल्लो ४ महिना यताकै सर्वाधिक उचाईमा अर्थात ५०० रुपैयाँ पुगेको कम्पनीको सेयर मूल्य कम्पनीले हकप्रदका लागि मूल्य समायोजन गरेसँगै २७१ रुपैयाँमा झर्‍यो। अहिले कम्पनीको सेयर कारोबार २१७ रुपैयाँ आसपासमा भइरहेको छ।

राधी विद्युत कम्पनी

राधी विद्युत कम्पनीको हकप्रद बोर्डकै पाइपलाइनमा भएको समयमा अर्थात गत असार ९ गतेबाट सेयर मूल्य बढ्न थाल्यो। लामो समयदेखि पाइपलाइनमा रहेको हकप्रदले बोर्डबाट चाँडै स्वीकृति पाउने हल्ला चल्न थालेपछि कम्पनीको सेयरमा खरिदकर्ता हावी भएसँगै मूल्य बढेको हो।

तर करिब एक महिना अर्थात साउन ९ गते कम्पनीले हकप्रदका लागि बोर्डको स्वीकृति पनि पायो। सो दिनसम्म आइपुग्दा कम्पनीको सेयर मूल्य करिब ३३ प्रतिशतले बढेर प्रति कित्ता ६२९ सम्म पुगेको छ। तर, उक्त मूल्य पाउनसाथ बिक्रेताको चाप बढ्दा मूल्य समायोजनको अघिल्लो दिनसम्म कम्पनीको सेयर मूल्य करिब १९ प्रतिशतले घटेको छ।

बोर्डले कम्पनीलाई १ बराबर १.४ अनुपातमा ९५ लाख ३५ हजार ७६० कित्ता हकप्रद जारीका लागि स्वीकृति दिएको हो। हाल कम्पनीको सेयर कारोबार २१८ रुपैयाँ आसपास भइरहेको छ।

अपर तामाकोसी

अपर तामाकोसी हाइड्रोपावर आयोजना देशकै ठूलो आयोजना हो। करिब चार वर्षअघि मात्र आइपीओ जारी गरेर दोस्रो बजारमा सूचीकृत भएको कम्पनीको सुरुवातमै राम्रो मूल्य पायो।

कम्पनीले सार्वजनिक गर्ने वित्तीय विवरणमा घाटा र ऋणको थुप्रो देखिन थालेपछि कम्पनीको सेयर मूल्य धेरै घटेको देखिन्छ। २०७८ साउन २६ गते हालसम्मकै उच्च मूल्य अर्थात प्रति कित्ता ९६२ रुपैयाँ पाएको थियो। तर, त्यसयता हालसम्म कम्पनीको सेयर मूल्य करिब ६३ प्रतिशतले घटिसकेको छ।

कम्पनीको वित्तीय विवरण आसलाग्दो नआउँदा र कुनै पनि प्रतिफल दिने सुईको नपाउँदा लगानीकर्ता सेयर किन्न र बेच्न नै हिचकिचाइरहेका थिए। तर, असार ३० गते कम्पनीको संचालक समितिले आउँदो साधारण सभामा हकप्रदको विशेष प्रस्ताव लैजाने निर्णय गर्‍यो।

सोही दिन कम्पनीको सेयरमा लगानीकर्ताको होडबाजी चल्दा मूल्य ७ प्रतिशतसम्म बढेको छ।

कम्पनीले साधारण सभाबाट १ बराबर १ अनुपातमा हकप्रद जारी गर्ने विशेष प्रस्ताव अघि सारे पनि विद्युत नियमन आयोग र धितोपत्र बोर्डबाट स्वीकृति पाएको छैन। गत असार ३० गतेयता कम्पनीको सेयर मूल्य हालसम्म करिब ३५ प्रतिशतले घटिसकेको छ।

हकप्रदको हल्लामा सेयर किन्नु कति ठिक ?

यस्तै सेयर बजार विश्लेषकहरुको बुझाईमा लगानीकर्ताहरुमा वास्तविकता नबुझी हतारिएर हकप्रदको हल्लामा तँछाड मछाड गरेर सेयर खरिद गर्ने प्रवृत्ति छ। 

'आम लगानीकर्ताले नबुझेर हकप्रद दिएर के नै हुन्छ? हकप्रद पाउनु भनेको एकको दुई बनाउनु भन्ने बुझ्छन्,' नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकाल भन्छन्,'कम्पनीले हकप्रद दिएपछि मूल्य समायोजन हुन्छ। जसका कारण त्यसै सेयर मूल्य घट्छ। सेयरको कित्ता बढ्छ। लाभांश घट्छ। त्यसको इक्विटीमा हिट गर्छ। त्यसले कम्पनी विस्तारै आफ्नो साइजमा आउँछ।'