सरकारले धानको समर्थन मूल्य तोकेपछि खाद्यको खरिद लक्ष्य निर्धारण, चालु वर्ष ३२ हजार टन किन्ने



बिजमाण्डू
२०७९ कात्तिक २५ गते १५:४३ | Nov 11, 2022


सरकारले धानको समर्थन मूल्य तोकेपछि खाद्यको खरिद लक्ष्य निर्धारण, चालु वर्ष ३२ हजार टन किन्ने



काठमाडौं। सरकारी कम्पनी खाद्य व्यवस्था तथा व्यापार कम्पनीले चालु आर्थिक वर्षका लागि धान खरिदको लक्ष्य निर्धारण गरेको छ। यसपटक ३२ हजार टन खरिद गर्ने भएको हो।

Tata
Global Ime

बर्सेनि धान खरिद लक्ष्य निर्धारण गर्ने तर अपेक्षित परिमाणमा किन्न नपाउने कम्पनीले मंसिरदेखि बजारमा नयाँ धान आउन सुरु हुने समय मानेर खरिद लक्ष्य निर्धारण गर्छ। यतिबेला बजारमा नयाँ धान आउन थालिसकेको छ।

कम्पनीका नायब महाप्रबन्धक श्रीमणिराज खनालले भने, 'यो वर्षका लागि कम्पनीले ५८ करोडभन्दा बढीको धान खरिद गर्ने निर्णय गरेको छ।'  

धान खरिदको परिमाण गतवर्ष भन्दा बढी निर्धारण गरिएको छ। अघिल्ला वर्ष पनि कम्पनीको लक्ष्य अनुसारको धान किन्न सकेको थिएन।गतवर्ष कम्पनीले ९५ करोड रुपैयाँको ३० हजार २ सय टन धान खरिद लक्ष्य राखेको थियो। त्यसमा करिब २० हजार टन धान खरिद गर्न सकेको कम्पनीले जनाएको छ।

अहिले देशका विभिन्न जिल्लामा किसानलाई धान काट्ने र भित्र्याउने चटारो छ। सरकारले यसै सातामात्र धानको न्युनतम समर्थन मूल्य पनि तोकेको छ। यसका आधारमा मंसिरदेखि कम्पनीका विभिन्न कार्यालयहरुबाट धान खरिद सुरु हुने नायब महाप्रबन्धक खनालले बताए। 

सरकारले आर्थिक वर्ष २०७९/ ८० को लागि धानको समर्धन मूल्य बढाएर तोकेको छ। जसमा मोटा धान प्रति क्वीन्टल २९६७ रुपैयाँ र मध्यम धान प्रति क्वीन्टल ३१२८ रुपैयाँ छ। गतवर्षको तुलनामा मोटा धानको मूल्य प्रति क्वीन्टल २१५ रुपैयाँ र मध्यम प्रति क्वीन्टल २२६ रुपैयाँ  बढेको हो।

गत वर्ष  मोटा  धानको समर्थन मूल्य प्रति क्वीन्टल २७ सय ५२ रुपैयाँ र मध्यम २९०२ रुपैयाँ तोकिएको थियो। सरकारले तोकेको समर्थन मूल्यमा कम्पनीले किसानबाट धान खरिद गर्छ। व्यवसायीहरुले बढी मूल्य दिएपछि गतवर्ष किसानहरुले कम्पनीलाई धान बेचेका थिएनन्। जसले गर्दा लक्ष्य अनुसारको धान खरिद भएको थिएन। लक्ष्य अनुसारको खरिद नभएपछि कम्पनीले थप चामल खरिद गरेको थियो।

कम्पनीले  हरेक वर्ष  विभिन्न जिल्लाहरुबाट रन्जित, सोना मन्सुली, बासमती, साँवा, गोरखनाथ, मोटा, मार्सी, मकवानपुर, कतर्नी लगायतका धान  खरिद गर्ने गरेको छ।