काठमाडौं। दोस्रो बजार कारोबारका लागि नेप्सेमा सेयर सूचीकृत भएको छोटो समयमै लगानीकर्ता माझ लोकप्रिय भएको कम्पनी हो माउन्टेन इनर्जी नेपाल।
नेटवर्थभन्दा ७ गुणा बढी सेयर मूल्य र ह्वात्तै बढेर ३१ रुपैयाँ पुगेको प्रति सेयर आम्दानीले लगानीकर्ता माउन्टेन इनर्जीप्रति आकर्षित छन्।
आइएमई ग्रपका अध्यक्ष चन्द्रप्रसाद ढकाल, भाटभटेनीका मीनबहादुर गुरुङ र नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष प्रदीपजंग पाण्डेको प्रत्यक्ष संलग्नता रहेको कम्पनीले गत आर्थिक वर्ष मात्र ६१ करोड रुपैयाँ खुद नाफा गर्यो। गोयल, अग्रवाल र खेतान समूह पनि कम्पनीको प्रवर्द्धकको रुपमा छ।
कम्पनीका संस्थापकहरु विद्युत, बैंक/वित्तीय क्षेत्र, स्वास्थ्य, शैक्षिक क्षेत्र एवं व्यापार/व्यवसायको साथै व्यवस्थापन क्षेत्रमा दख्खल राख्ने छन्। पछिल्लो पाँच आर्थिक वर्षको तथ्यांक अनुसार नाफामा उल्लेख्य दरको वृद्धि देखिन्छ।
अनुभवी प्रवर्द्धक र व्यवस्थापन टोलीसँगै जलविद्युत आयोजनाहरु सञ्चालनको लामो ट्रयाक रेकर्ड कम्पनीसँग छ। प्राधिकरणसँग विद्युत खरिदको पर्याप्त टाइम कभरेज र सम्पूर्ण आयोजनाको मूल्य अनुकुल पीपीएले कम्पनीको आम्दानी ग्यारेन्टी गरिसकेको अवस्था हो।
कम्पनीले ५ मेगावाट क्षमताको तादी जलविद्युत आयोजना र ४२ मेगावाटको मिस्ट्री खोला जलविद्युत आयोजना निर्माण गरेर उत्पादन सुरु गरिसकेको छ। जसमध्ये तादीको लाइसेन्स अवधि २१०३ मंसिर ५ सम्म छ। मिस्ट्री खोलाको २१०३ कात्तिक १९ गतेसम्म रहेको छ।
कम्पनी र विद्युत प्राधिकरणबीच भएको विद्युत खरिद बिक्री सम्झाैता अनुसार वर्षा याममा प्रति किलोवाट घण्टा ४.८० रुपैयाँ र सुक्खायाममा प्रति किलोवाट घण्टा ८.४० रुपैयाँ विद्युत खरिद दर तय भएको हो। जसबापत गत आवको अन्त्यसम्म कम्पनीले तादी जलविद्युत आयोजनाबाट १५ करोड ६६ लाख रुपैयाँ विद्युत बिक्री आम्दानी गरेको छ। यस्तै, मिस्ट्री खोला जलविद्युत एक अर्ब ७ करोड रुपैयाँ कमाएको छ।
कम्पनीले दुवै आयोजना गरेर कुल १ अर्ब २३ करोड रुपैयाँ कमाएको हो। जुन पछिल्लो चार वर्ष यता वार्षिक ४.७९ प्रतिशतका दरले बढेको छ। परियोजना सञ्चालनको प्रारम्भिक चरणमा छ। आगामी वर्षहरूमा उत्पादनको स्थिरता र कुशल व्यवस्थापन भने चुनौती रहेको देखिन्छ।
२०६९ को अन्त्यबाट तादी जलविद्युतले व्यावसायिक रुपमा आयोजना सञ्चालनमा आए पनि कम्पनीले पूर्ण क्षमतामा विद्युत उत्पादन गर्न सकेको छैन। संचालनको पहिलो वर्ष आयोजनाले क्षमताको आधा मात्र विद्युत उत्पादन गरेको थियो। जुन पछिल्लो समय भने बढ्दो छ।
पछिल्लो दुई वर्ष यता आयोजनाले क्षमताको लगभग ७५ प्रतिशत विद्युत उत्पादन गर्दै छ। जुन हालको संचालन पावर लोड फ्याक्टर र सम्झौता अनुसारको पावर लोड फ्याक्टर बीचको अन्तरलाई कम गर्न महत्त्वपूर्ण छ।
दुवै आयोजना रन-अफ-द-रिभर हुँदा कम्पनीको विद्युत उत्पादनमा अस्थिरता हुने गरेको छ। रन-अफ-द-रिभर विद्युत उत्पादनका लागि अस्थिर स्रोत मानिन्छ। यस्ता परियोजनामा पानी भण्डारण गरिंदैन र त्यसैले विद्युत उत्पादनको लागि नदीको पानीको प्रवाहमा निर्भर हुनुपर्ने हुन्छ।
नदीमा सिजनल फ्लो बढी हुँदा विद्युत पनि बढी उत्पादन हुन्छ भने सुक्खायामका मौसममा आयोजनाको विद्युत उत्पादन क्षमतामा ह्वात्तै ह्रास आउँछ। माउन्टेन इनर्जी अन्तर्गतको तादी जलविद्युत आयोजनाले तादी खोलालाई विद्युत उत्पादनको स्रोत बनाएको छ। यस्तै, मिस्ट्री खोला जलविद्युत आयोजनाले हिउँ पग्लिएर मिसिने हिमाली भूभागको मिस्ट्री खोलालाई स्रोत बनाएको हो।
यस्तै, पछिल्लो समय बैंकिंग प्रणालीमा देखिएको तरलता संकटले आयोजनाहरुको वित्तीय दायित्व भने ह्वात्तै बढ्ने देखिएको छ। तरलता संकट संगै बैंकहरुले ब्याजदर बढाइसकेका छन्। वित्तीय लागत बढे पनि कम्पनीको व्यवसाय भने यथावत रहने हुँदा नाफामा प्रत्यक्ष असर पर्ने प्रक्षेपण गर्न सकिन्छ।
कम्पनीले झन्डै सवा ४ अर्ब रुपैयाँ बराबरको दीर्घकालीन कर्जा लिएको छ। जसबापत झन्डै २५ करोड रुपैयाँ कम्पनीले गत आर्थिक वर्ष ब्याज भुक्तानी गर्यो। यस्तै, पाँच वर्षको तथ्यांक हेर्दा कम्पनीको वित्तीय लागत ३९ प्रतिशतभन्दा धेरैले बढ्ने क्रममा छ। जबकी सोही अवधिमा कुल २३ प्रतिशतका दरले कर्जा बढेको देखिन्छ।
यो बाबजुद कम्पनीको नाफा फराकिलो अंकले छलाङ मारेको छ। खर्चलाई सन्तुलनमा राख्न सक्ने कम्पनीको अर्को सफलता हो। चुक्ता पुँजीको अनुपातमा धेरै बढेको खुद नाफाले कम्पनीको प्रति सेयर आम्दानीलाई पनि उचालेको छ।
कम्पनीको प्रति सेयर नेटवर्थ पनि वार्षिक ८ प्रतिशतका दरले बढ्ने गरेको तथ्यांकले देखाउँछ।


