ग्लोबल आइएमई बैंक र बिओकेबीच आपसमा गाभ्न/गाभिनका लागि अन्तिम समझदारीपत्रमा हस्ताक्षर



बिजमाण्डू
२०७९ कात्तिक २८ गते १८:४६ | Nov 14, 2022


ग्लोबल आइएमई बैंक र बिओकेबीच आपसमा गाभ्न/गाभिनका लागि अन्तिम समझदारीपत्रमा हस्ताक्षर


काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू (बिओके) बीच एक आपसमा गाभ्न गाभिनका लागि सोमबार अन्तिम समझदारी पत्रमा हस्ताक्षर भएको छ।

Tata
Global Ime

समझदारीपत्रमा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा बिओकेका अध्यक्ष प्रकाश श्रेष्ठले हस्ताक्षर गरेका छन्। यसअघि दुवै बैंकबीच गाभ्ने/गाभिने (मर्जर) प्रयोजनका लागि मूल्यांकनकर्ताबाट प्राप्त चल/अचल सम्पत्ति, दायित्व तथा कारोबारको प्रतिवेदनका आधारमा निर्धारण गरिएको सेयर स्वाप अनुपात १ः१ दुवैका सञ्चालक समितिले अनुमोदन गरिसकेका छन्।

मर्जरपछि बैंकको कूल पुँजी ५७ अर्ब, चुक्ता पुँजी ३५.७७ अर्ब, कूल निक्षेप ४०० अर्ब, कूल कर्जा ३७९ अर्ब रुपैयाँभन्दा बढी पुग्नेछ।

मर्जरपछि बन्ने नयाँ बैंक कूल पुँजी, चुक्ता पुँजी तथा व्यवसायको आकारको हिसाबले नेपालको सबै भन्दा ठूलो बैंक बन्नेछ। नयाँ बैंकको नाम ग्लोबल आइएमई बिओके लिमिटेड हुने र सञ्चालक समितिमा ग्लोबल आइएमई बैकको तर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकालसहित ५ जना र बैंक अफ काठमाण्डूको तर्फबाट २ जना रहनेछन्।

त्यसैगरी बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य रहने छन्। ग्लोबल आइएमइसँग बिओकेसहित २१ संस्था गाभिएको इतिहास हुने छ। 

दुई बैंकहरुको मर्जर पश्चात् कूल ३८५ शाखा कार्यालय, ३६७ एटीएम, २७५ शाखारहित बैंकिङ सेवा, ६१ विस्तारित शाखा कार्यालयहरु, ३ वटा विदेशस्थित सम्पर्क कार्यालयहरु, ४० लाखभन्दा बढी ग्राहकसहित अन्य धेरै वित्तीय परिसूचकहरुमा ग्लोबल आइएमई बिओके लिमिटेड मुलुकको सबैभन्दा ठूलो बैंक हुनेछ।

हस्ताक्षर कार्यक्रममा बोल्दै बैंकका सञ्चालक समितिका अध्यक्षहरुले बैंकले वित्तीय क्षेत्रमा नयाँ अवसरहरु ल्याई ग्राहक, सेयरधनी, बैंकसँग प्रत्यक्ष वा अप्रत्यक्ष सरोकार राख्ने सबैको हितलाई ध्यानमा राखी कार्य सम्पादन गर्ने प्रतिबद्धता व्यक्त गरे।

ग्लोबल आइएमई बैंकका अध्यक्ष ढकालले मुलुकको आवश्यकताअनुसार बैंकिङ क्षेत्रको विकास हुने बताउदै, ठूला पूर्वाधारमा लगानी गर्न, मुलुकभर वित्तीय पहुँच पुर्‍याउन र बैंकिङ लागत घटाउन ठूला र सबल बैंकको आवश्यकता रहने र मर्जरपछि बन्ने बैंकले त्यसको सम्बोधन गर्ने बताए।