काठमाडौं। ग्लोबल आइएमइ बैंक र बैंक अफ काठमाण्डू (बिओके) ले मर्जरसहित लाभांश पारितका लागि वार्षिक साधारणसभा डाकेका छन्।
मर्जर लागि अन्तिम सम्झौता गरेपछि दुवै बैंकले मंसिर २३ गतेका लागि वार्षिक साधारणसभा डाकेका हुन्। साधारणसभाले मर्जर प्रस्ताव पारित गरेमा दुवै बैंक अन्तिम स्वीकृतिका लागि राष्ट्र बैंक जाने छन्। त्यहाँबाट स्वीकृति पाएपछि पुसभित्र एकीकृत कारोबार गरेर एउटै वित्तीय विवरण सार्वजनिक गर्नै योजना दुवैको हो।
दुवै बैंकले एक बराबर एकको सेयर आदानप्रदान अनुपातलाई अनुमोदन गर्ने छन्। मर्जरपछि नयाँ बैंकको नाम ग्लोबल आइएमइ बिओके बैंक हुने छ।
ग्लोबल आइएमइ बैंकले गतवर्षको नाफाबाट १०.६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ। यसबाहेक ३ प्रतिशत बोनस सेयर दिने छ। दुवै प्रस्ताव साधारणसभाले पारित गर्ने छ।
यता बिओकेले पनि गत बर्षको नाफाबाट १४.९५ प्रतिशत नगद लाभांश दिने एजेण्डा साधारणसभामा लैजाँदैछ। यसबाहेक ६ प्रतिशत बोनस सेयर पनि दिने छ।