
काठमाडौं। रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको जीवनबीमा कोष ७० प्रतिशतले वृद्धि भएको छ। चालु आर्थिक पहिलो त्रैमासमा कम्पनीको कोषको सञ्चिति पनि बढेको छ।
कोषमा ५ अर्ब १५ करोड रुपैयाँ सञ्चित छ। गत वर्ष कम्पनीको सो कोषमा ३ अर्ब रुपैयाँ थियो। २ अर्ब ८० करोड चुक्ता पुँजी भएको कम्पनीको जगेडामा १ अर्ब १८ करोड सञ्चित छ।
कम्पनीको जगेडा कोष गतवर्षको तुलनामा २९.७२ प्रतिशतले वृद्धि भएको छ। कम्पनीको बीमा शुल्क आर्जन भने घटेको छ। कम्पनीले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ८९ करोड ३१ लाख कुल बीमा शुल्क आर्जन गरेको छ।
गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ९७ करोड १० लाख बीमा शुल्क आर्जन गरेको थियो। गतवर्षको तुलनामा बीमा शुल्क ८.१७ प्रतिशतले घटेको हो।
चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म कम्पनीले १० करोड माथि खुद नाफा गरेको छ। जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा नाफा ३४ .७० प्रतिशतको वृद्धि भएको हो। गतवर्ष कम्पनीले ७ करोड ४५ लाख रुपैयाँ नाफा कमाएको थियो।
कम्पनीको दाबी भुक्तानी ३६ प्रतिशतले घटेको छ। गत वर्षको प्रथम त्रैमासमा २३ करोड ८१ लाख रुपैयाँ दाबी भुक्तानी गरेको कम्पनीले चालु आर्थिक वर्षको सोही अवधिमा १५ करोड २ हजार गरेको छ।
रिलायबल लाइफ इन्स्योरेन्समा दाबी रकम सबै भुक्तानी भइसकेको कम्पनीले जनाएको छ। बीमालेख धितो राखेर कर्जाबाट कम्पनीले ८ लाख रुपैयाँ आम्दानी गरेको छ। लगानी कर्जा तथा अन्यबाट १६ करोड रुपैयाँ संकलन गरेको छ।
कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी १४ रुपैयाँ ३४ पैसा र प्रति सेयर नेटवर्थ १४६ रुपैयाँ ३८ पैसा छ।