काठमाडौं। निजी क्षेत्रसँगको तीव्र प्रतिस्पर्धाका कारण शुल्क कटौती गर्न थालेपछि सरकारी स्वामित्त्वको नेपाल टेलिकमको नाफा खुम्चिएको छ। कम्पनीको आम्दानी र नाफा दुवै प्रभावित भएका छन्।
चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले २ अर्ब २२ करोड रुपैयाँ खुद नाफा गरेको छ। जुन पोहोरभन्दा १.५२ प्रतिशत कम हो। गत आवको सोही अवधिसम्म नाफा २ अर्ब २५ करोड रुपैयाँ माथि थियो।
कम्पनीको कोर बिजनेस घटेपनि अन्य स्रोतका आम्दानी भने बढेका छन्। कम्पनी दूरसञ्चार सेवा लगायत सेवा उपलब्ध गराए बापत कुल ९ अर्ब ७ करोड रुपैयाँ आम्दानी गरेको छ। आम्दानी पोहोर असोजसम्म ९ अर्ब ७७ करोड रुपैयाँ थियो।
प्रतिस्पर्धाबाहेक पूर्वाधार निर्माणको अवधि लम्बिदा र मर्मतसम्भारको खर्च बढ्दा नाफा घट्न गएको कम्पनीले जनाएको छ। कम्पनीको प्रमुख सरकारी आयोजनाहरुमा लगानी समेत रहेको हुँदा अन्य स्रोतको आय भने बढ्दो छ।
झन्डै ६७ प्रतिशतले बढ्दा यस्तो आम्दानी एक अर्ब ९६ करोड रुपैयाँ नाधेको छ। गत आवमा एक अर्ब १७ करोडमा सीमित थियो।
कर्मचारी सेवा सुविधाको खर्च ह्वात्तै बढेको छ। १२.२९ प्रतिशतको वृद्धि सो खर्चको शीर्षमा देखिन्छ। बाँकी सञ्चालन तथा मर्मतसम्भारको खर्च भने केही घटेको छ। यस्तै नियामकीय तथा नवीकरण शुल्क पनि केही कम भएको वित्तीय विवरणमा प्रकाशित छ।
समीक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी १८ अर्ब पुगेको छ। र जगेडा कोषको आकार ७.१४ प्रतिशत खुम्चिएर ७९ अर्ब २९ करोड रुपैयाँमा सीमित छ।


