हुम्लाको चामल नेपालगञ्जमा थन्कियो, हवाईमार्ग ढुवानीको टेन्डर परेन, सडकमार्गमा पनि समस्या



बिजमाण्डू
२०७९ मंसिर ३ गते १२:२४ | Nov 19, 2022


हुम्लाको चामल नेपालगञ्जमा थन्कियो, हवाईमार्ग ढुवानीको टेन्डर परेन, सडकमार्गमा पनि समस्या


खजुरा। नेपालगञ्जबाट कर्णालीको हिमाली जिल्ला हुम्ला पठाउने चामल नेपालगञ्जमै थन्किएको छ। हवाई मार्गबाट ढुवानीका लागि टेण्डर आह्‍वान गर्दा मापदण्डअनुसारको बोलपत्र नपरेको र स्थलमार्गबाट ढुवानी गर्न समस्या भएकाले हुम्ला जिल्लामा चामल ढुवानी हुन नसकेको हो।

Tata
Global Ime

सरकारले यस वर्ष नेपालगञ्जबाट हुम्लामा तीन हजार पाँच सय क्वीन्टल चामल पुर्‍याउने कोटा तोकेको छ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडबाट पुर्‍याउने भनिएको उक्त चामल भने ढुवानी हुन नसकी नेपालगञ्जमै थन्किएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगञ्जका प्रमुख रामशरण लामिछानेले बताए। उनका अनुसार सम्झौता गरेको फर्मले चामल ढुवानी गरेको छैन।

तीन हजार पाँच सय क्विन्टलमध्ये दुई हजार क्विन्टल चामल हवाई मार्गबाट पुर्‍याउने लक्ष्य छ। त्यसका लागि भदौ १ गते खोलिएको टेण्डरमा कुनै पनि हवाई सेवा प्रदायकले मापदण्डअनुसार बोलपत्र नहालेको प्रमुख लामिछानेले जानकारी दिए।

त्यसपछि पुनः टेण्डर आह्‍वान गर्दा प्रक्रियामै धेरै समय लागेको हो। दोस्रोपटक आह्‍वान गरिएको टेण्डरमा तारा एयरले ढुवानी गर्न पाउने ठेक्का परे पनि सम्झौता गर्न आएको छैन।

सम्झौताका लागि यही मंसिर २० गतेसम्मको समय तोकिएको छ। 'हामीले उहाँहरूलाई चाँडोभन्दा चाँडो सम्झौताका लागि आउन भनिरहेका छौं,' लामिछानेले भने, 'हवाई कम्पनीहरूले पछिल्लो समय इन्धनको मूल्य बढेको तर सरकारले ढुवानीका लागि मूल्य नबढाएकोले बढी मूल्य कबोल गरेर बोलपत्र हालेका थिए।'

सडकमार्गबाट एक हजार पाँच सय क्विन्टल चामल ढुवानी गर्ने जिम्मा भने हुम्लाको एलबी सप्लायर्सले पाएको छ। तर, सडक मार्ग बिग्रेको भन्दै सप्लायर्सले अझै ढुवानी गरेको छैन।

केही महिनाअघि भएको वर्षाले विभिन्न स्थानमा सडक बिग्रिएकाले ढुवानीमा समस्या भएको कम्पनीले जनाएको छ। निर्वाचनपछि भने ढुवानी सुरु हुनसक्ने खाद्यले जनाएको छ। रासस