
काठमाडौं। सय किलोवाटभन्दा माथिको विद्युतीय गाडी महँगिएपछि बिक्री ह्वात्तै घटेको छ। चालु आर्थिक वर्षको बजेटमार्फत सय किलोवाट भन्दा माथिको विद्युतीय गाडीको कर बढेसँगै बिक्री घटेको हो।
कर बढेसँगै विभिन्न विद्युतीय गाडीको मूल्य ३० देखि ७५ लाख रुपैयाँसम्म महँगिएको छ। हाल हुन्डाईको आयोनिक ५, एमजीको जेडएस इभी, बिवाइडीको एटो-३ र टेस्लाको मूल्यमा ठुलो अन्तर आएको छ। जसमा हुन्डाईको आयोनिक ५ को मूल्य १ करोड १६ लाख रुपैयाँ रहेको छ। गत वर्ष यो गाडीको मूल्य ८० लाख ९६ हजार रुपैयाँ थियो।
कर बढेपछि यो गाडीको मूल्य ३६ लाख रुपैयाँले बढेको छ। मूल्य बढेपछि ग्राहक आउनै छाडेको हुण्डाईको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलका एक कर्मचारीले बताए। उनका अनुसार तरलता र चर्को ब्याजले समेत गाडीको बिक्री ठप्प भएको छ।
ती कर्मचारीका अनुसार पछिल्लो समय कोना किन्नेको संख्या बढेको छ। सय किलोवाट भन्दा कम भएकोले कोनाको मूल्य बढेको छैन। हालसम्म कोना ४०० युनिटभन्दा बढी बिक्री भएको छ। तर आयोनिक ५ को भने ८० युनिट बिक्री भएको कम्पनीले जनाएको छ। यो पनि कर बढ्नु अगाडि ७० प्रतिशतले बिक्री भएको थियो। तर करपछि ३० प्रतिशतले बिक्री हुन पनि कठिन भएको छ।
यस्तै एमजी इभीको बुकिङमा पनि पहिलेको जस्तो क्रेज छैन। एमजीको आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्सका अनुसार करले गर्दा एमजी जेडएस इभीको बुकिङ गर्ने क्रेज घटेको हो।
कम्पनीले कर बढाउन अघि ५०० युनिटभन्दा धेरै इभीको बुकिङ लिएको थियो। तर कर बढेपछि धेरै जस्तो बुकिङहरु फिर्ता गरिएको थियो। उनीहरुले करभन्दा अगाडि एमजी जेडएस इभीका लागि ५१ लाख ९९ हजारमा कारोबार भइरहेको थियो। करपछिको मूल्य ८१ लाख ९९ हजार तोकेर बुकिङ खुल्ला गरिएको थियो।
नयाँ मूल्यमा गाडी बुकिङ गर्नेको संख्यामा गिरावट आएको कम्पनीले जनाएको छ। कम्पनीले बुकिङ खुलाएको एक महिना भइसकेको छ। तर हालसम्म कम्पनीले सोचेको जस्तो बुकिङ प्राप्त गर्न सकेको छैन। कर बढ्नु अघि ५०० भन्दा धेरै गाडी बुकिङ लिएको एमजीले हाल १०० वटा समेतको बुकिङ लिन सकेको छैन।
यस्तै बिवाइडीको पनि हालत उस्तै छ। कम्पनीले कर बढ्नु अघि लगभग ६५ लाख रुपैयाँ मूल्य राखेर सार्वजनिक गर्न लागेको एटो-३ गाडीको नयाँ मूल्य ८९ लाख ५० हजार रुपैयाँ तोकिएको छ। नयाँ मूल्य महँगो भएका कारण सोचे अनुसार बुकिङ नभएको कम्पनीले जनाएको छ।
कम्पनीले हालसम्म जम्मा ७०-८० वटा युनिट एटो-३ बुकिङ भएको जनाएको छ। कम्पनीले हालसम्म यो गाडीको डेलिभरी दिएको छैन।