
काठमाडौं। पूर्व डीआइजी तथा सुशासन पार्टी नेपालका अध्यक्ष रमेश खरेलको सांसद बन्ने प्रयास यो पटकको निर्वाचनमा असफल भएको छ।
काठमाडौं क्षेत्र नम्बर १ मा प्रतिनिधिसभाको उम्मेदवार बनेर चुनावमा होमिएका खरेलले विजयी गर्ने मत प्राप्त गर्न नसक्दा उनको संसद बनेर प्रतिनिधिसभामा छिर्ने बाटो बन्द भएको हो।
खरेल निर्वाचन मतपरिणाम अनुसार चौथो बने। कांग्रेसका उम्मेदवार प्रकाशमान सिंह ७ हजार १ सय ४३ मत ल्याएर पहिलो हुँदा खरेलले ३ हजार १ सय २४ मत ल्याए। राजनीतिमा लागेका व्यक्ति भ्रष्ट हुँदा जनताले दु:ख पाएकाले लगातार २९ वर्ष प्रहरी सेवामा लागेका खरेलले आफू निर्वाचनमा होमिएको बताएका थिए।
तत्कालिन सरकारले डीआईजी सर्वेन्द्र खनाललाई प्रहरी प्रमुखमा नियुक्त गरेपछि २०७४ चैत २८ गते खरेलले राजीनामा दिएका थिए। त्यसपछि ३० वर्ष फैजी संगठनमा 'ग्रुम' भएका खरेल एकाएक राजनीतिमा तानिए। खरेल २०४५ सालमा भलिबल खेलाडीका रुपमा नेपाल प्रहरीमा भर्ना भएका थिए।
उनले पूर्व आईजी सर्वेन्द्र खनाल र पूर्व एआईजी पुष्कर कार्कीसँगै २०४६ माघ २९ गते प्रहरी निरीक्षकको परीक्षा उत्तीर्ण गरेका थिए। आईजी नियुक्तिमा राजनीति हाबी हुँदा खरेलभन्दा अगाडि खनाल आएपछि उनीले राजीनामा दिँदै राजनीति रोजेका हुन्। चुनावमा आफ्नो हारको कारण कारण अन्य दलसँग गरेको भद्र सहमति पुरा नगर्दा भएको प्रतिक्रिया उनले दिएका छन्।
त्यस्तै अहिले प्रहरीबाट राजनीतिमा छिरेका खरेलका ब्याची सर्वेन्द्र खनालको हार पनि निश्चित छ। काठमाडौं-६ बाट एमालेका उम्मेदवार बनेका खनाल अहिले भारी मतअन्तरले दोस्रो स्थानमा छन्। स्वतन्त्र पार्टीका उम्मेदवार शिशिर खनालले ११ हजार ६ सय ३८ मत ल्याउँदा खनालले ६ हजार ९ सय ८५ मत ल्याएका छन्। मतअन्तर र अहिलेसम्म औसतरुपमा आएको मतलाई केलाउँदा खनालको पनि जित्ने सम्भावना कम हुँदै गएको छ।
असोज ६ गते एमाले प्रवेश गरेका खनाल काठमाडौं-६ बाट टिकट पाएपछि राजनीतिमा होमिएका थिए। खनाल दुई वर्षअघि समाजवादी पार्टी फुटाउन पूर्वमन्त्रीसमेत रहेका सांसद सुरेन्द्र यादवको राजनीतिक 'अपहरण'मा मुछिएका व्यक्ति हुन्।
खनाल एमाले नेता महेश बस्नेत र हाल एकीकृत समाजवादीमा रहेका किसान श्रेष्ठसँगै जनकपुर पुगेका थिए। तत्कालीन समाजवादी पार्टीका प्रचार विभाग उपप्रमुख विश्वदीप पाण्डेले पार्टीका नेता डा. यादव अपहरणमा केपी शर्मा ओलीको डिजाइन भएको आरोप लगाएका थिए।
२०७४ चैत २७ गते नेपाल प्रहरीका २६ औं आइजी नियुक्त भएका खनाल २०७६ माघ २८ गते सेवानिवृत्त भएका थिए। अवकाशको करिब तीन वर्षपछि उनी राजनीतिक दलमा आबद्ध भएका छन्। अपहरण काण्ड हुँदा त्यतिबेला ओली नेतृत्वको सरकार थियो।
नवराज सिलवाल
प्रहरीको महानिरीक्षक विवादबाट संगठन छाडेर २०७४ असोज २० गते नेपाल प्रहरीका तत्कालीन डीआईजी नवराज सिलवाल एमाले प्रवेश गरेका थिए। सरकार र अदालतले आफूलाई आइजी हुन रोकेको भन्दै उनी राजनीतिमा होमिए।
अरुले आफूले जस्तै राजनीतिबाट दु:ख नपाउन् भनेर 'पोलिटिक्स' मा छिरेका सिलवाल २०७४ को प्रतिनिधिसभा निर्वाचनमा ललितपुर-१ बाट विजयी भएका थिए।
सरकारप्रतिको आक्रोश र एमालेको गठबन्धनमा रहेका सिलवालले कांग्रेसका उदय शम्मेर जबरालाई पराजित गरेका थिए। तर, यस पटकको निर्वाचनमा भने उनले पराजय ब्यहोर्नु परेको छ। कांग्रेसका उम्मेदवार जबरा २३ हजार ८ सय ९२ मत ल्याएर विजयी भएका छन्। सिलवालले भने १९ हजार २ सय ७८ मत मात्र ल्याएका छन्।
ध्रुवबहादुर प्रधान
पूर्वप्रहरी महानिरीक्षक ध्रुवबहादुर प्रधानले भने यसपटकको निर्वाचनमा अहिले अग्रता लिइरहेका छन्। नवलपरासी-२ मा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उम्मेदवार बनेका उनी १३ हजार ३ सय ५३ मत ल्याएर अगाडि छन्। उनका प्रतिद्वन्दी कांग्रेसका देवेन्द्रराज कँडेलले ६ हजार ५ सय १५ मत ल्याएका छन्। प्रधान २०५६ सालमा आम निर्वाचनबाट राजनीतिमा होमिएका थिए।
नवलपरासी ४ मा २०६४ र ७० को निर्वाचनमा लडेका थिए उनी। तर विजयी भने हुन सकेका थिएनन्। त्यसपछि २०७४ मा राप्रपा प्रजातान्त्रिकबाट समानुपातिकमा बनेका उनी पार्टीले थ्रेसहोल्ड कटाउन नसकेपछि सांसद बन्न सकेका थिएनन्।
झापाबाट स्वतन्त्रतर्फका शम्भुप्रसाद
झापा-४ मा स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका शम्भुप्रसाद ढकाल पनि पूर्वप्रहरी नै हुन्। प्रहरीभित्रको सरुवा-बढुवामा असन्तुष्टि देखाउँदै प्रहरी नायब निरीक्षकबाट २०७७ मा उनले राजीनामा दिएका थिए।
पछिल्लो मतपरिणाम अनुसार उनले ६ हजार ५ सय ८२ मत ल्याएका छन्। उनका प्रतिद्वन्दी एमालेका लालप्रसाद साँवा लिम्बुले ६ हजार २ सय २९ मत ल्याएका छन्।